एशियामा हात्ती जोगाउन काठमाडौं घोषणापत्र जारी
सहकार्य र नीतिगत आधारमा जोड दिइएको काठमाडौं घोषणापत्र जारी गर्दै तेस्रो ‘एशियन इलिफेन्ट रेन्ज स्टेट मिटिङ’ सम्पन्न भएको छ।
गम्भीर खतराको सूचीमा परेको हात्ती संरक्षण गर्ने साझा लक्ष्यमा सहमत हुँदै बैठकमा सहभागी १३ मुलुकका प्रतिनिधि तथा विज्ञले घोषणापत्रमा वासस्थान विनाश, हात्तीको खण्डीकृत सङ्ख्या, मानव-हात्ती द्वन्द्व, गैरकानूनी चोरी शिकारीले जोखिममा परेको हात्ती जोगाउन वेलैमा गम्भीर हुनुपर्ने बुँदालाई प्राथमिकता दिइएको छ।
हात्ती संरक्षण गरिए अन्य धेरै प्रजाति स्वतः संरक्षित हुने जनाउँदै घोषणापत्रले समग्र एशियाली जनजीवनमा सांस्कृतिक महत्त्व भएको स्वीकार्दै हात्ती लोप हुनु भनेको यस क्षेत्रको जैविक र सांस्कृतिक विविधता लोप हुने विषयलाई उठान गरेको छ। ‘हात्तीका कारण हुने प्रत्यक्ष तथा अप्रत्यक्ष फाइदा तथा तिनको वासस्थानले जैविक प्रणालीमा दिने योगदान महत्त्वपूर्ण भएकाले हात्ती जोगाउनु राष्ट्रिय दायित्व हो’ भन्दै घोषणापत्रमा अबका दिनमा हात्ती संरक्षणका लागि द्विपक्षीय, अन्तर्राष्ट्रिय सहकार्य र सहयोग अपरिहार्य रहेको निष्कर्ष निकालेको छ।
बैठकमा सहभागी राष्ट्रले हात्ती जोगाउन क्षेत्रीय सहकार्यमा जोड दिंदै अन्तर्राष्ट्रिय समुदायको राजनीति, आर्थिक र प्राविधिक सहयोग आवश्यक रहेकाले त्यसतर्फ पनि पहल गर्ने सहमति गरेको छ। घोषणापत्रमा हात्ती पाइने एशियाका १३ राष्ट्रबीच सहयोग आदानप्रदान गर्ने; हात्तीको अन्तरसीमा आवागमनमा सहजीकरण गर्ने; संरक्षणका क्रियाकलापमा बढीभन्दा बढी स्थानीय समुदायलाई सहभागी गराउने उल्लेख छ।
त्यस्तै, भूमिको उपयोग, खेतीमा हात्तीले दुःख दिएको अवस्थामा वैकल्पिक जीविकोपार्जन उपायमा संलग्न गराउने, आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउन अग्रसर हुनुपर्ने विषयलाई पनि समेटिएको छ। घोषणापत्रले गैरकानूनी चोरी शिकारी रोक्न कानूनी प्रावधानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न पहल गर्दै घरेलु हात्तीको उचित पालनपोषण तथा मानवीय व्यवहारको सुनिश्चितता गर्न सम्बन्धित अन्तर्राष्ट्रिय संघसंस्थासँग सहकार्य गर्ने जनाइएको छ।
यस बाहेक एशियाली हात्ती जोगाउन एशियाको समग्र क्षेत्रलाई समेट्ने गरी ‘एशियाली हात्ती कोष’ खडा गर्दै कार्यक्रम मार्फत मानव र हात्तीबीचको सौहार्द, सह-अस्तित्व हासिल गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्ने घोषणापत्रको निष्कर्ष छ। काठमाडौं घोषणापत्रले सन् २०२५ सम्मको प्राथमिकता निर्धारण गर्दै हात्तीको आउजाउ गर्ने क्षेत्रमा जैविक विविधतालाई प्राथमिकता दिंदै पूर्वाधार निर्माण गर्नुपर्ने अवस्थामा हात्ती तथा प्राणीमैत्री निर्माण मापदण्ड बनाउने प्रतिबद्धता गरेको छ।
त्यस्तै, घरपालुवा हात्तीको हकमा संरक्षण र प्रभावकारी नियमनका लागि वैज्ञानिक दर्ता प्रक्रिया अपनाउने; सम्भव भएमा माइक्रोचिप्स उपयोग गरिने वा डीएनएमा आधारित प्रणाली विकास गरिने प्रतिबद्धता गरिएको छ। हात्ती संरक्षणको लागि सबै राष्ट्रले ‘हात्ती संरक्षण कार्ययोजना’ बनाउने र मानव-हात्ती द्वन्द्व न्यूनीकरणका लागि राष्ट्रिय निर्देशिका तयार पार्ने लक्ष्य निर्धारण गरिएको छ।
विगतका प्रयासलाई एकीकृत गर्दै जारी ‘काठमाडौं घोषणापत्र’ एशियाली हात्ती संरक्षणमा दह्रो आधार भएको आईयूसीएन ‘हात्ती विज्ञ समूह’ का अध्यक्ष विकेक मेननले बताए। “संरक्षणका लागि द्रुतमार्ग हुँदैनन्,” मेननले भने, “सदियौंदेखि बिग्रेको पर्यावरण बनाउन समय लाग्छ नै। तेस्रो बैठकमा आइपुग्दा नीतिगत आधार तयार पारेर हात्ती संरक्षण कार्यक्रमलाई प्रभावकारी बनाउन अनुभव आदानप्रदान हुनु उपलब्धि हो।” हात्ती भएका मुलुकका समस्या र चुनौती समान भएको उनको भनाइ थियो।
संरक्षणका लागि स्रोत-साधनको पहुँच विस्तार गर्न हात्ती संरक्षणमा केन्द्रित साझा मञ्चको आवश्यकतालाई घोषणापत्रमा उल्लेख ‘हात्ती संरक्षण कोष’ ले सम्बोधन गर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले बताए। “हात्तीको गैरकानूनी चोरी शिकार अन्तर्राष्ट्रिय संगठित अपराध भएको र हात्तीले आफ्नो हिंडडुलमा देशको सीमालाई वास्ता नगरी आरपार गर्ने भएकाले अन्तर्राष्ट्रिय सहकार्य र सहजीकरण विना हात्ती संरक्षण सम्भव नहुनेमा सबै सहभागी राष्ट्रको ऐक्यबद्धता देखिएको छ,” कँडेलले भने।
संरक्षणलाई राष्ट्रिय प्राथमिकतामा नपारेसम्म हात्ती संरक्षणले प्रभावकारी परिणाम ल्याउन नसक्ने बताउँदै आईयूसीएन ‘हात्ती विज्ञ समूह’ की उपाध्यक्ष हेडी रिडलले सबै राष्ट्रका प्राथमिकतामा संरक्षण पार्नको लागि तेस्रो बैठकको भूमिका महत्त्वूपर्ण रहेको बताइन्। “संरक्षण सफल हुन यसमा संलग्नहरूलाई प्रोत्साहित, उत्साहित गर्नु आवश्यक छ,” रिडलले भनिन्, “यसका लागि काठमाडौं घोषणपत्रले मार्गप्रशस्त गरेको छ।”
यसअघि सन् २०१७ मा इन्डोनेशियाको जाकर्तामा भएको बैठकले मुख्य चार विषयलाई प्राथमिकताका साथ उठाएको थियो, जसलाई ‘काठमाडौं घोषणापत्र’ ले अझ व्यवस्थित र बुँदागत गरेको छ।
एशियाली हात्तीको बसोबास भएको मुलुकमा नेपाल बाहेक भारत, भुटान, बाङ्लादेश, श्रीलंका, म्यानमार, थाइल्यान्ड, मलेशिया, इन्डोनेशिया, कम्बोडिया, चीन, लाओस र भियतनाम हुन्। प्राचीन कालमा हात्तीका सात प्रजाति भए तापनि हाल एशियन र अफ्रिकी गरी दुई प्रजातिका मात्र हात्ती पाइन्छन्।
एशिया क्षेत्रमा करीब ४० हजार हात्ती रहेको अनुमान छ। नेपालमा करीब दुई सय ३० वटा जङ्गली हात्ती छन्। सरकारले पालेको हात्तीको सङ्ख्या ९९ छ भने निजी व्यवसायी तथा होटेलसँग ७६ वटा हात्ती छन्।