केशव स्थापितको मेयरको उम्मेदवारी रद्द गर्न ४५ संस्थाको माग
नेकपा (एमाले) बाट काठमाडौं महानगरको मेयरका उम्मेदवार केशव स्थापितलाई कारबाही गर्न मानव अधिकारका क्षेत्रमा कार्यरत ४५ वटा संस्थाले माग गरेका छन्।
उनीहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गरी मेयरका उम्मेदवारले सार्वजनिक कार्यक्रममा प्रश्न गर्ने युवतीमाथि निकृष्ट शब्द प्रयोग गर्नु आपत्तिजनक भएको जनाएका छन्। उनीहरूले भनेका छन्, ‘असंवेदनशील, गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिने, सार्वजनिक स्थानमै महिलालाई अपमानजक र अमानवीय व्यवहार गर्नेलाई पार्टीले तुरुन्त कारबाही गरी मेयरको उम्मेदवारी रद्द गर्नुपर्दछ।’
स्थापितमाथि काठमाडौं महानगरपालिकाकी कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको थियो। जसले गर्दा उनले बागमती प्रदेश सरकारको मन्त्री पद छोड्नुपरेको थियो।
बिहीबार काठमाडौंको एक कलेजमा आयोजित चुनावी छलफलका क्रममा एक सहभागीले त्यसै विषयलाई लिएर प्रश्न गरेकी थिइन्। जवाफमा स्थापितले युवतीलाई अपशब्द प्रयोग गरेका थिए।
त्यसको विरोध गर्दै महिला पुन:स्थापना केन्द्र (ओरेक) लगायत ४५ संस्थाले संयुक्त विज्ञप्ति जारी गरी सार्वजनिक स्थानमै महिलालाई अपमानजनक र अमानवीय व्यवहार गर्ने स्थापितलाई कारबाही गर्न माग गरेका हुन्।
उनीहरूले स्थापितलाई कानूनको दायरमा ल्याउन पनि सरकारलाई आग्रह गरेका छन्। उनीहरूले भनेका छन्, ‘व्यक्तिको मौलिक हक कुण्ठित गर्ने उनका कार्यलाई राज्यले तुरुन्त कारबाहीको दायरमा ल्याउनुपर्ने हाम्रो ठहर छ।’