एमालेमा गएका माओवादी उम्मेदवारको मनोनयन कायमै
नेकपा (माओवादी केन्द्र) बाट रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्षमा मनोनयन दर्ता गरेपछि नेकपा (एमाले) मा प्रवेश गरेका तेन्जिन छेसाङ तामाङको उम्मेदवारी कायम रहेको छ।
उनले वैशाख १२ गते माओवादीबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए। त्यसपछि वैशाख १५ गते एमालेमा प्रवेश गरेका थिए। तर, उनले उम्मेदवारी भने फिर्ता लिएका छैनन्।
निर्वाचन आयोगले वैशाख १६ गते साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको थियो।
फिर्ता नलिएको भए पनि पार्टी नै परिवर्तन गरेपछि अब त्यसको कुनै अर्थ नभएको तामाङको भनाइ छ। “मैले कार्यालय गएर उम्मेदवारी फिर्ता लिएको छैन,” उनले भने, “पार्टी नै परिवर्तन गरेकाले म निर्वाचनमा उम्मेदवारका रूपमा सहभागी हुँदिनँ।”
उनले उम्मेदवारी फिर्ता नलिएकाले यथावत् रहेको रसुवाका मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए। “उहाँले उम्मेदवारी फिर्ता लिनुभएको छैन। कानूनी रूपमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचनमा भाग लिन पाउनुहुनेछ,” नेपालले भने।
माओवादीका गोसाइँकुण्ड गाउँपालिका इन्चार्ज समेत रहेका तामाङ एमालेमा प्रवेश गरेपछि माओवादीबाट गाउँपालिका अध्यक्षमा उम्मेदवार छैनन्। अब नेपाली कांग्रेस, एमाले सहित विभिन्न दलका ६ उम्मेदवार अध्यक्षका लागि प्रतिस्पर्धा छन्।