पोखरामा कांग्रेसका बागी उम्मेदवार विमल भन्छन्- पार्टीले कारबाही गरे गरोस्, चुनाव लड्छु
नेपाली कांग्रेसका नेताहरूले दबाब दिंदा पनि पोखरा महानगरको मेयरमा मनोनयन फिर्ता नलिएका विमल कार्कीले कारबाही गरिए पनि पछि नहट्ने बताएका छन्।
शुक्रबार साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको थियो। कांग्रेसका अन्य दुई जना बागी उम्मेदवार ऋषि सापकोटा र नन्दप्रसाद तिवारीले उम्मेदवारी फिर्ता लिएका छन्।
कांग्रेस पोखरा महानगर कार्यसमितिका पूर्व सभापति कार्कीले आफू विद्रोही भएर स्वतन्त्र रूपमा चुनावमा होमिने बताए। “कांग्रेसले कांग्रेसलाई भोट हाल्न नपाउने अवस्था आयो,” कार्कीले भने, “म कांग्रेस हुँ। कांग्रेसका कार्यकर्तालाई गरेको अन्याय हेर्न सकिनँ, त्यसैले मेरो उम्मेदवारी कायम राखें।”
कांग्रेसले शुक्रबार बिहानै निर्वाचनमा बागी उम्मेदवारी दिएकालाई मनोनयन फिर्ता लिन निर्देशन दिएका थियो। “कांग्रेसको म विद्रोही उम्मेवार हुँ। स्वतन्त्र तरीकाले चुनाव चिह्न लिएर निर्वाचनमा जान्छु,” उनले भने, “कांग्रेस कार्यकर्ता र पोखरेली जनताले अब भोट दिएर मलाई न्याय दिन्छन्।”
उनले पार्टीले कारबाही गरे पनि भोग्न तयार रहेको बताए। “पार्टीले कारबाही गरे पनि गरोस्। कारबाही भोग्न तयार छु,” उनले भने।
नेतृत्वले गलत गर्दा आफूले हेरेर बस्न नसकेको उनको भनाइ छ। “म जन्मजात नेपाली कांग्रेस हुँ। पार्टीको सिद्धान्त र कांग्रेसलाई नै भोट हाल्छु। म डराउने पक्षमा छैन,” कार्कीले भने।
पोखराको मेयरमा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का नेता धनराज आचार्य मेयर र नेपाली कांग्रेसकी कोपिला रानाभाट उपमेयरका उम्मेदवार छन्।