काठमाडौंमा विपद् व्यवस्थापनसम्बन्धी दक्षिण एशियाली सम्मेलन हुने
विपद् व्यवस्थापन, पुनःनिर्माण, ऊर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहको भूमिकासम्बन्धी दक्षिण एशियाली सम्मेलन भोलीदेखि काठमाडौमा शुरु हुने भएको छ ।
सम्मेलनमा नेपालसहित भारत, चीन, पाकिस्तान, बङ्गलादेश र श्रीलङ्काका स्थानीय तहका जनप्रतिनिधि र विज्ञको सहभागिता रहनेछ ।
विपद्, पुनःनिर्माण लगायतका विषयमा तुलनात्मकरुपमा अनुभव आदानप्रदान गर्ने र भावी रणनीति बनाउन सहयोग पु¥याउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेको पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिए ।
गाउँपालिका राष्ट्रिय महासङ्घका कार्यकारी अधिकृत विमल पोख्रेलले स्थानीय तहसँगको सहकार्यमा नेपालमा निजी आवास पुनःनिर्माणले फड्को मारेको र प्राप्त गरेको उपलब्धि तथा अनुभवबाट अन्तर्राष्ट्रिय समुदायलेसमेत सिक्न सकुन भन्ने उद्देश्य राखिएको बताए ।
विपद् व्यवस्थापन, पुनःनिर्माण, ऊर्जा र जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत विज्ञ, गाउँपालिका र नगरपालिका प्रमुखको पनि सम्मेलनमा प्रस्तुति रहने जनाइएको छ ।
दुईदिनसम्म चल्ने सम्मेलन प्राधिकरण, महासङ्घ, नेपाल नगरपालिका सङ्घ, युनाइटेड सिटी एण्ड लोकल गभरमेन्ट एशिया प्यासिफिक र युरोपेली युनियनको संयुक्त आयोजना हुन लागेको हो ।