मकवानपुरमा ६ जनाले लिए उम्मेदवारी फिर्ता
स्थानीय तहको निर्वाचनका लागि मकवानपुरमा मनोनयन दर्ता गरेकामध्ये ६ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
मकवानपुरको बकैया गाउँपालिकाको अध्यक्ष पदमा मनोनयन दर्ता गराएकी लक्ष्मीमाया मार्झी कृपा’ले उम्मेदवारी फिर्ता लिएकी छन्। नेकपा (माओवादी केन्द्र) बाट अध्यक्षमा मनोनयन दर्ता गराएकी उनले नेपाली कांग्रेसका धर्मराज लामिछानेलाई समर्थन गर्दै अध्यक्ष उम्मेदवार फिर्ता गरेकी हुन्। लामिछाने गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हुन्।
उनले गठबन्धनको वास्तविक मर्म र पार्टी केन्द्रको निर्देशन अनुसार आफूले उम्मेदवारी फिर्ता लिएको बताइन्। गठबन्धनको सहमति अनुसार, अध्यक्षमा कांग्रेसका लामिछाने र उपाध्यक्षमा माओवादीका भक्तबहादुर खत्री उम्मेदवार छन्।
यसअघि बकैयाको उपाध्यक्ष पदमा कांग्रेसबाट उम्मेदवार बनेकी छाया अधिकारीको उम्मेदवारी खारेज भइसकेको छ। अधिकारी कृषि गणना कार्यक्रममा गणक पदमा कार्यरत रहेको प्रमाण फेला परेपछि उम्मेदवारी खारेज भएको हो।
त्यस्तै, हेटौंडा उपमहानगरपालिकाका पाँच जनाले उम्मेदवारी फिर्ता लिएका छन्। शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएर उनीहरूले उम्मेदवारी फिर्ता लिएका हुन्।
उम्मेदवारी फिर्ता लिनेमा हेटौंडा-८ को वडाध्यक्षका स्वतन्त्र तर्फका उम्मेदवार सीताराम प्रधान, हेटौंडा-४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दलित महिला सदस्यकी उम्मेदवार मोहनमाया देउला, हेटौंडा-१ का नेकपा (एकीकृत समाजवादी) का वडाध्यक्षका उम्मेदवार लोकबहादुर घिसिङ, हेटौंडा-८ का राष्ट्रिय प्रजातन्त्र पार्टीका वडाध्यक्ष उम्मेदवार किशोर केसी खत्री र वडा सदस्य अनुजकुमार पुन मगर रहेका छन्।
शुक्रबार साँझसम्म पाँच जनाले निवेदन दिएर उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ।