छोरी
छोरी,
घर, गल्ली, बाटो र चौतारी
जुनसुकै ठाउँमा बसेको हुन सक्छ
तिम्रो खोट देखाउन तम्तयार जमात
चोक चोकमा बसेका हुन सक्छन्
तिम्रो आचरणको नापतौल गर्न ठिक्क परेका हुँडार
तिनीहरूको हातमा हुन सक्छ समाजशास्त्रको च्यातिएको पन्ना
त्यसैको कुनै हरफ घोकाउन सक्छन् तिमीलाई
र लिन सक्छन् पाइलैपिच्छे परीक्षा
यहाँ अस्ति तिम्री हजुरआमाले
हिजो आमाले
बुझाए जस्तै
आज तिमीले बुझाउनुपर्नेछ आफ्नो चारित्रिक प्रमाणपत्र
र बारम्बार गरिरहनुपर्नेछ छोरी हुनुको हिसाब
घर बाहिर मात्र होइन
घरभित्रै तिमीले दिनुपर्नेछ
छोरी हुनुको परिचय
तिम्रै आकाश पनि भाग्न सक्छ टाढा टाढा
उभिन सक्छ चारैतिर नीतिको पर्खाल
बन्द हुन सक्छ तिमीतिर आउने उज्यालोको बाटो
गर्न सक्छन् आक्रमण चारैतिरबाट ब्वाँसाहरूले
बाँधिन सक्छ तिम्रा यात्रा गर्ने गोडाहरू
थुनिन सक्छ तिमीलाई मूल्य मान्यताका पिंजडामा
सतर्क हुनू कपटको पासा थाप्नेहरूसँग
परम्पराको नाउँमा पखेटा काट्न आउनेहरूसँग
धर्मको दुहाइ दिएर स्वतन्त्रता खोस्न खोज्नेहरूसँग
इज्जतको डर देखाएर बाध्यताको जालमा फसाउनेहरूसँग
यिनीहरूको अनुहारको कुटिलता पहिल्याऊ
यिनीहरूको गुलियो भाषा बुझ
यिनीहरू तिम्रो आत्मविश्वासको धरहरा भत्काउन
सधैं साबेल बोकेर हिंडिरहेका हुन्छन्
जसले खण्डहर बनाउनेछ तिम्रो मन
छोरी,
तिमी काँडा हुनु
कोमल आवरणभन्दा तिखोपन ठीक हुन्छ
न तिमी टिपिनेछौ
न लुछिनेछौ
न चुँडिनेछौ
छोरी,
तिमी क्रान्तिको सारङ्गी रेट
र, स्वतन्त्रताको गीत गाउँदै हिंड
तिमी चरा बन
र, आफ्नो आकाश आफैं खोज
आफ्नो क्षितिज आफैं बनाऊ
आफ्नो बाटो आफैं खन
जुन बाटोमा हिंडेर पुग्न सक्छ्यौ आफ्नो लक्ष्यमा।