मुसा मानिस
अभिभावकलाई चकित पार्ने इन्टरनेट पुस्ता अत्यावश्यक नभई आवाजले बोल्दैन, टेक्स्ट, तस्वीर वा इमोजी मार्फत संवाद गर्छ। यो उपन्यास त्यही जीवनको एक प्रतिविम्ब हो।
खासै इन्टरनेट नचलाउने एक व्यक्तिलाई बाटोमा बेच्न राखिएको टिकटमा लेखिएका शब्दले तान्छन्, ‘चोकतिर केटा हो, चोकतिर।’ यसबारे गम्दै गर्दा ट्रकको पछिल्तिर लेखिएको देख्छ, ‘लाज किन बाबा?’
घर आइपुग्दा छोरी ल्यापटपमा कसैको तस्वीरमुनि टाइप गर्दै हुन्छे।
- यो को हो?
- सज्जनराज वैद्य, बाबा, गायक।
- अनि तिमीले किन उसको तस्वीर आफ्नो फेसबूकमा राखेकी?
- यसमा मिल्ने गरी हँसाउने कुरा लेख्नुपर्छ के, यो फोटो नै त्यस्तै छ। मिम बनाएकी मैले।
बाउले दिउँसो पढेका वाक्यहरू छोरीलाई सुनाउँछ। छोरी उत्साहित हुँदै उत्तर दिन्छे, ‘हो-हो, आजकल यी दुवै भनाइ भाइरल छन्।’
- तर किन? तिनको अर्थ के? मलाई त हाँसो पनि लागेन, रुचि पनि जागेन।
- सन्दर्भ पत्ता लाउन पर्छ, अनि तिनीहरूको प्रयोगबारे थाहा हुन पर्छ। त्यसपछि बल्ल मजा आउँछ।
त्यो व्यक्तिलाई लाग्छ, संसार कति अवेद्य भइसकेछ। यी मिम बनाउनुको तात्पर्य के हो? नबुझिने पाराले किन बोल्नुपर्यो? नयाँ नयाँ शब्दावलीको रचना किन गर्नुपर्यो?
इन्टरनेटले प्रश्रय पाइरहेको संसार र यसले मानिसलाई पारिरहेको असरबारे अमेरिकी लेखक प्याट्रिशिया लकवुडले उपन्यास नै लेखिन्, नो वन् इज टकिङ अबाउट दिस्। सन् २०२१ को बूकर पुरस्कार र वुमेन्स प्राइज फर फिक्शनका लागि प्रारम्भिक छनोटमा परेको यो उपन्यासले इन्टरनेटको विस्तार र विकाससँगै हुर्किरहेको ‘अनलाइन पुस्ता’ को चित्रण गरेको छ।
इन्टरनेट पुस्ताका हाउभाउ र बोलीचाली फरक छन्। यिनीहरू आवाजले बोल्दैनन्, एकअर्कालाई टेक्स्ट, तस्वीर वा इमोजी पठाउँछन्। हास्यचेत पनि अर्कै छ। करुणा पनि अनौठा कुराले जगाउँछन्। कुन वेला, कहाँ, कस्तो शब्द, मानिस, घटना वा भङ्गिमाप्रति यिनीहरूको मोह जाग्छ, भन्न सकिंदैन। आँखा तरिरहेको बालकको तस्वीरमुनि कसैले लेखिदिन्छ, ‘इट मी’ (त्यो म)। व्याकरणीय सङ्गति समेत नरहेका यी दुई शब्द त्यसपछि हरेकले भट्याउन थाल्छन्। भत्किन लागेको पुल, नाचिरहेकी महिला, सुस्ताइरहेको बिरालो, सिंढीबाट चिप्लिरहेको सुँगुर- सबैका तल लेखिएको हुन्छ- म, साँच्चै म।
यही पुस्ताकी प्रतिनिधि हो, उपन्यासकी प्रमुख पात्र। उसले इन्टरनेटमा लेखिदिन्छे, ‘एउटा कुकुर जुम्ल्याहा हुन सक्छ?’ किशोर पुस्तालाई यो बकम्फुसे प्रश्न अति मन पर्छ। एकअर्कालाई सोध्न थाल्छन्, ‘कुकुर जुम्ल्याहा हुन सक्छ?’
त्यसपछि उसलाई निम्तोको ओइरो लाग्छ, आफ्ना अडबाङ्गे वाक्यकै भरमा भाषण दिंदै संसार डुल्छे।
ब्रिस्टलमा उसलाई एक जनाले सोध्छ, ‘समाजका लागि तिम्रो योगदान यही हो?’
‘अँ!’ ऊ चिरबिराउँछे।
यो संवादले युवा पुस्ताको चर्चित बन्ने चाहना झल्काउँछ, विशेष गरी इन्टरनेटका लागि सामग्री सर्जक बन्ने। रोचक विधा जन्मिएको छ- आफ्ना श्रव्यदृश्य वा विचार प्रस्तुत गर्ने अनि त्यसैलाई पेशा बनाउने। तर, यी स्रष्टाले पनि कलाकार र साहित्यकारलाई सोधिने परम्परागत प्रश्नको सामना गर्नैपर्छ- यी सबै सिर्जनाको व्यावहारिक जीवनमा औचित्य के? भर्चुअल संसारको राम-रमाइलोमा एक छिन त भुलिएला, तर तिनले आफ्नो दैनन्दिनीमा के सहयोग गर्छन्?
यो अपारम्परिक विधाको विस्तारप्रति रोष जनाउँदै एक जनाले केही अघि ट्वीटरमा लेखेकी थिइन्, ‘भयो, हामीलाई अरू कन्टेन्ट क्रिएटर चाहिंदैन। हामीलाई मिस्त्रीहरू चाहिएको छ !’
उपन्यासकी भाइरल युवतीमा स्वचेत र आत्मालोचनाको भाव नभएको होइन। उसले बारम्बार तानाशाह भन्दै तत्कालीन अमेरिकी राष्ट्रपतिको निन्दा गर्छे। पोर्टलमै सम्पूर्ण जीवन बिताउने कार्यलाई ऊ मुसाहरूप्रतिको एउटा परीक्षणसँग तुलना गर्छे जहाँ बटन थिचेपछि मुसाले खानाको एउटा गोली पाउँछ। ‘कम्तीमा मुसाले गोली, नभए त्यसको आशा वा सम्झना त भेट्छ,’ ऊ सोच्छे, ‘हामी त बटन थिचेपछि थप मुसा बन्न बाहेक केही पाउँदैनौं।’
युवतीलाई थाहा छ, त्यो पोर्टलका सदस्यहरूसँग एकाग्रता पटक्कै छैन। निश्चित शब्दसीमाभन्दा अघि बढ्ने धैर्य उनीहरूकै वरिपरि नाचिरहेका लाखौं सामग्रीले सखाप पारिसकेका छन्। त्यसैले उपन्यास पनि सयौं भागमा विभाजित छ। एक-दुई वटा अनुच्छेद अनि विषयान्तर। न कुनै तालमेल न जडान।
पोर्टलका सदस्यहरू पनि वेलावेला एकअर्कालाई प्रश्न गर्छन्, ‘के हामी नर्कमा छौं? नमरुन्जेल यही गर्दै बस्ने हो?’
पोर्टलको रनभुल्लमा हराएकी केटी ढुनमुनिंदै वास्तविक संसारमा निस्कन बाध्य हुन्छे। अनि प्रत्यक्षदर्शी बन्छे, दिदीको गर्भावस्था, दिदीले जन्माएकी छोरी अनि उसको स्वास्थ्यको। उसका दुई संसार एकै ठाउँ खप्टिइन्छन् अनि जन्मिन्छ, हरहमेशा अनलाइन हुनुको उन्माद र विषादले भरिएको एउटा किताब।
लकवुडको अनुभवमा आधारित यो उपन्यासले भर्चुअल संसारको आवश्यकतालाई नकारेको छैन। तर, यसका अनेक अलिखित नियम, ढर्रा र अव्यवस्थाप्रति प्रश्न उठाएको छ।
पुस्तक : नो वन् इज टकिङ अबाउट दिस् प्रकाशन वर्षः २०२१
प्रकाशकः ब्लुम्स्बरी मूल्यः रु.९६० पृष्ठः २१०