बक्सिङको रिङ छाडेर चुनावी मैदानमा सुशील
प्रतिस्पर्धाका लागि सधैं बक्सिङको ‘रिङ’ मा उत्रिंदै आएका सुशील घिमिरे यस पटक भने चुनावी मैदानमा उत्रिएका छन्। बक्सिङका राष्ट्रिय खेलाडी उनी हेटौंडा उपमहानगरपालिका-५ को वडाध्यक्षको उम्मेदवार बनेका छन्।
स्थानीय तह निर्वाचन नजिकिएसँगै मतदाता कसलाई जनप्रतिनिधिका रूपमा चुन्ने भन्ने छलफलमा जुट्न थालेका छन्। उम्मेदवार भने आफ्ना चुनावी प्रतिबद्धता सहित मतदाताको घरदैलो गरिरहेका छन्। मतदाताको घरदैलो पुग्नेमध्ये एक हुन् मकवानपुरको हेटौंडा उपमहानगरपालिका-५ का सुशील घिमिरे। उनी नेकपा (एमाले) बाट वडाध्यक्षको उम्मेदवार बनेका छन्।
प्रतिस्पर्धाका लागि सधैं बक्सिङको ‘रिङ’ मा उत्रिंदै आएका सुशील यस पटक भने राजनीति मैदानमा उत्रिएका छन्। उनी बक्सिङका राष्ट्रिय खेलाडी हुन्। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा थुप्रै उपाधि जितेका छन्। जसमध्ये श्रीलङ्कामा भएको दशौं दक्षिणएशियाली खेलकूद (साग) मा जितेको रजत पदक सबैभन्दा उच्च पदक भएको सुशील बताउँछन्।
२०५४ सालदेखि बक्सिङ खेल्न शुरू गरेका उनी २० वर्षको उमेरमा २०५८ सालमा नेशनल बक्सिङ च्याम्पियनशिपको च्याम्पियन भए। सन् २००४ मा बक्सिङ खेलाडीका रूपमा सशस्त्र प्रहरीमा आबद्ध भएर ६४ किलोग्राम तौल समूहको राष्ट्रिय प्रतिस्पर्धामा लगातार १० वर्ष च्याम्पियन बने। यति मात्र होइन, १२ अन्तर्राष्ट्रिय खेलमा तीन वटा उपाधि जिते।
तर‚ सुशील खेलाडीका रूपमा मात्र नभई विकासप्रेमी युवा भनेर पनि चिनिएको एमाले नेता ईश्वर ढुंगाना बताउँछन्। “हेटौंडा-५ का आशालाग्दा युवामध्ये पर्छन् सुशील, विकासप्रेमी मान्छे पनि हुन्‚” ढुङ्गानाले भने‚ “उनको नेतृत्वले हेटोंडा-५ लाई सुन्दर र नमूना बनाउनेछ।”
सानैदेखि खेलकूदमा आबद्ध भएकाले आफ्नो ठाउँमा पनि सुविधा सम्पन्न रङ्गशाला भइदिए हुने भन्ने सपना पालेको सुशील बताउँछन्। “सानोमा काठमाडौंमा बक्सिङ प्रतियोगिता भएको थियो‚” उनले भने‚ “त्यहाँ खेल्न जाँदा पहिलो पटक दशरथ रङ्गशाला पुगें, रङ्गशाला देखेपछि आफ्नो ठाउँमा पनि यस्तै भइदिए हुन्थ्यो भन्ने लागेको थियो।”
बाल्यकालमा मनमा गढेको उक्त कुरा मेटिएन। सपनाको अङ्कुर बढ्दै गयो। त्यसलाई साकार बनाउन सुशीलले साथीभाइसँग मिलेर २०५५ सालमा पिप्ले चोकमा सैलुन सञ्चालन शुरू गरे। करीब ६ वर्ष चलाए। सैलुनमा कपाल काटे बापत प्रति व्यक्तिबाट आउने रकममध्ये ५ रुपैयाँ जम्मा गरेर क्लबमा आबद्ध खेलाडीको जर्सी किन्ने र खेल हुँदा खेलाडीलाई ग्लुकोज पानी खुवाउने‚ खाजामा खर्चिन थाले।
तर‚ बाध्यता कारण उनी खेलकूद क्षेत्र त्यागेर वैदेशिक रोजगारीका लागि मकाउ पुगे। मकाउ पुगे पनि मनमा रहेको रङ्गशाला बनाउने सपना मेटिएन। त्यहाँ रेस्टुरेन्टमा काम गर्ने र खाली समयमा साथीभाइको कपाल काटेर रङ्गशाला निर्माणका लागि रकम सङ्कलन गरेको सुशीलले सुनाए।
“मकाउमा सात वर्ष बसें, रेस्टुरेन्टमा काम गर्थें। ड्यूटीबाट छुटेपछि साथीको घर, कोठा पुगेर घरको भर्याङमुनि कपाल काट्थें। शुल्क नेपाली ३०० रुपैयाँ लिन्थें‚” सुशीलले सुनाए‚ “त्यो रकम जम्मा गरेर रङ्गशाला निर्माणका लागि अक्षयकोष बनाएँ।”
मकाउबाट फर्किएपछि रङ्गशाला बनाउने हुटहुटी झन् बढ्यो। २०७७ फागुनमा हेटौंडामा गोल्ड कप भयो। गोल्ड कप हेर्न बाँसको प्यारापिट बनाइएको थियो। त्यही प्यारापिटमा बसेर प्रतियोगिता हेर्ने दर्शकको घुइँचो लाग्यो। त्यो देखेर आफूलाई औडाहा भएको सुशील बताउँछन्।। उनले भने‚ “दर्शको व्यापक भीड, प्यारापिट भने बाँसको। खेल हेर्दाहेर्दै हौसिएर उफ्रिंदा लडेर दुर्घटना हुने जोखिम उत्तिकै थियो।”
गोल्ड कपको उद्घाटन गर्न हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महत पुगेका थिए। त्यही मौकामा सुशीलले आफ्नो कुरा राखिहाले‚ “मेयर साप‚ कतिन्जेल यस्तो बाँसको प्यारापिटमा बसेर खेल हेर्ने? आफ्नै ठाउँमा राम्रो रङ्गशाला बनाउन पाए हुन्थ्यो नि!”
सुशीलको प्रस्तावमा मेयर महत सकारात्मक भए। यसले हौसला मिलेको उनी बताउँछन्। त्यसपछि रङ्गशाला बनाउने सपनाले मूर्त रूप लिन थाल्यो। २०७८ वैशाखमा नापजाँच भयो। रङ्गशाला निर्माणका लागि चार करोड रुपैयाँ लाग्ने प्रारम्भिक रिपोर्ट बन्यो।
सुशील रङ्शाला निर्माणका लागि अग्रपङ्क्तिमा उभिए। उनलाई स्थानीय युवा‚ व्यवसायी र सरकारले पनि साथ दिए। अन्नतः हेटौंडा-५ क्याम्पाडाँडामा लागत अनुमानभन्दा आधा कम अर्थात् करीब दुई करोड रुपैयाँमा रङ्गशाला निर्माण भयो।
पाँच बिघा क्षेत्रफलमा निर्माण भएको रङ्गशालामा करीब १० हजार दर्शक अटाउने क्षमता छ। रङ्गशाला निर्माणमा हेटौंडा उपमहानगरको एक करोड नौ लाख रुपैयाँ, वडा नम्बर ५ कार्यालयको ३० लाख रुपैयाँ बजेट परेको सुशीलले जानकारी दिए।
यस्तै‚ जनसमुदायबाट ३० लाख रुपैयाँ सङ्कलन भएको थियो। प्रदेश र सङ्घीय सरकारबाट कुनै सहयोग नभएको उनले बताए। निर्माणका लागि स्थानीयले जनश्रमदान गरेका थिए।
अहिले वडाध्यक्षको दौडमा रहेका सुशील राजनीति आफ्ना लागि नयाँ क्षेत्र भएको बताउँछन्। तर‚ मतदाताको साथले विजयी भए परिवर्तनका लागि स्थानीयसँगै साबेल, कुटो‚ कोदालो बोकेर हिंड्ने उनी बताउँछन्।
“म वडामा शासन गर्न जाने होइन, वडाको विकासमा सहजीकरण गर्न जाने हो,” सुशीलले भने‚ “मलाई विगतमा जस्तै वडाबासीको साथ, माया र हौसला चाहिन्छ, उहाँहरूको मतदान मेरा लागि त्यहाँसम्म पुग्ने बाटो हो।”