अधिनायकवादबाट एकअर्कालाई जोगाउन नेपाल-अमेरिका सम्बन्ध आवश्यक: राजदूत बेरी
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी डब्लू बेरीले जनता-जनताबीचको सम्बन्ध, सार्वभौमिकता र लोकतान्त्रिक मूल्यमान्यताले नेपाल-अमेरिकाबीचको सम्बन्धलाई जोडेको बताएका छन्।
अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७५औं वर्षगाँठका अवसरमा वक्तव्य जारी गर्दै राजदूत बेरीले जलवायु सङ्कटलाई सम्बोधन गर्ने र बढ्दो अधिनायकवादबाट लोकतन्त्रलाई जोगाउने जस्ता कठिन समस्यालाई समाधान गर्नका दुई देशलाई एकअर्काको साथ चाहिएको बताएका छन्।
यो वर्ष अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष पुगेको छ। यो अवधिमा दुवै देशमा भएका परिवर्तनमा अमेरिका र नेपाल एकअर्काको साथमा उभिंदै आएको राजदूत बेरीले उल्लेख गरेका छन्।
अमेरिकी जनताले नेपालीलाई चिकित्सा र विज्ञानमा प्रशंसनीय प्रगति गर्ने, पर्वतारोहीका रूपमा लगभग असम्भव उचाइमा पुग्ने, राष्ट्रसंघीय शान्ति सेनामा सम्मानजनक र बहादूरीका साथ सेवा गर्ने तथा कला र संस्कृतिको विशाल विविधता मार्फत विश्व सम्पदालाई समृद्ध बनाउने मानिसका रूपमा चिन्ने राजदूत बेरीले उल्लेख गरेका छन्।
नेपालको स्वास्थ्य क्षेत्रमा अमेरिकाको ऐतिहासिक सहयोगले द्विपक्षीय साझेदारीमा महत्त्वपूर्ण योगदान गरेको राजदूत बेरीले स्मरण गरेका छन्। सन् १९५० को दशकमा औलोले नेपालका लगभग २५ प्रतिशत जनसङ्ख्यालाई असर गरेको वेला यूएसएआईडी मार्फत अमेरिकी सरकारले औलो नियन्त्रण कार्यक्रम सञ्चालन गरेको थियो।
परिणामस्वरूप सन् १९६८ भित्र औलोका बिरामीको सङ्ख्या २० लाखभन्दा बढीबाट दुई हजार ४६८ मा झरेको उनले उल्लेख गरेका छन्।
कोभिड-१९ को महामारी शुरू भएयताका पछिल्ला दुई वर्षमा अमेरिकाले नेपाललाई कोभिड-१९ विरुद्धका झण्डै ३८ लाख खोप तथा १२ करोड ४८ लाख डलरभन्दा बढीको सहायता प्रदान गरेको छ। गत फागुनमा नेपालले झण्डै रु.६० अर्ब बराबरको मिलेनियम च्यालेन्ज कर्पोरेशन सम्झौता अनुमोदन गरेको छ।