बागी उम्मेदवारी फिर्ता लिन गठबन्धनको निर्देशन
सत्तारुढ पाँच दलीय गठबन्धनले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले महानगरपालिका र उपमहानगरपालिकामा सहमति विपरीत दर्ता गरिएको उम्मेदवारी फिर्ता लिने निर्णय गरेको हो।
‘पाँच दलीय गठबन्धनबीच यसअघि केन्द्रबाट भएको सहमति अनुसार, ६ महानगरपालिका र ११ उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पदमा भएको सहमति विपरीत गठबन्धन दलबाट दर्ता भएका उम्मेदवारीहरू तत्काल फिर्ता लिने,’ गठबन्धनको निर्णयमा भनिएको छ।
निर्वाचन आयोगले आज साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेको छ। आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरेको थियो।
पाँच दलका शीर्ष नेताको बैठकपछि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रेस विज्ञप्ति जारी गरी पाँच दलका प्रतिनिधिले दिएको स्वतन्त्र उम्मेदवारी पनि फिर्ता लिन पहल गर्ने निर्णय गरेको जनाएका छन्।
यससँगै उनीहरूले पाँच दलीय गठबन्धन बाहिर भएको तालमेल पनि खारेज गर्ने निर्णय गरेका छन्। त्यस्तो तालमेल खारेज नगरेर तत्काल कारबाही गर्ने गठबन्धनको निर्णय रहेको छ।