नेपालमा तौर्यत्रिक
नाट्य-संगीतका आवरणमा बाहिरी देशबाट कलाकार झिकाएर गरिने रसरङ्गले देशको भेद खुल्ने भन्दै पृथ्वीनारायण शाहले यस्ता कामलाई आफ्नो पालामा विराम दिन खोजे पनि उनको नीतिको अनुसरण उनकै सन्ततिले गरेनन्।
सबभन्दा पहिले तौर्यत्रिक शब्दको अर्थ गरौं। संस्कृतवाङ्मयमा चलेको यस शब्दले समष्टि रूपमा नाच, गान र बाजालाई बुझाउँछ। नेपाली भाषाका कोषमा चढेको भए पनि यो शब्द नेपाली भाषामा त्यति चलेको छैन।
हाम्रो परम्परामा वेदको स्थान महनीय भएकोले नयाँ नयाँ विद्यालाई पनि वेद सरह उँचाइमा पुर्याउने इच्छा शास्त्रकारहरूको थियो। उदाहरणका लागि कौटलीय अर्थशास्त्रकै कुरा गरौं। त्यहाँ साम, ऋग् र यजुर् यी तीनलाई वेद भनिसकेपछि अथर्ववेद र इतिहासवेद पनि वेद नै हुन् (१।३।१-२) भनी लेखिएकाले ऋग्वेद, यजुर्वेद र सामवेदभन्दा पछि अथर्वमन्त्रले वेदको पदवी पाएको मात्र नभई इतिहासले सुद्धा वेद सरहको अभिज्ञान भएको देखिन्छ।
यति मात्र होइन, रोगव्याधको औषधि गर्ने शास्त्र र हातहतियार सम्बन्धी शास्त्रको नाउँ समेत वेदसँग जोडिई क्रमशः आयुर्वेद र धनुर्वेद रहन गएको छ। शास्त्रीय विभाजनको एउटा परम्परा अनुसार ऋग्वेदको उपवेद आयुर्वेद, यजुर्वेदको धनुर्वेद र सामवेदको गन्धर्ववेद हो। छान्दोग्य उपनिषद् अनुसार चार वेदपछिको पाँचौं वेद इतिहास-पुराण हो (७।१।२)। यसैले होला, इतिहासको मुख्य ग्रन्थ महाभारतलाई पाँचौं वेद भनिएको।
चार वटा मुख भएका ब्रह्माजीले आफ्नो पूर्वपट्टिको मुखबाट ऋग्वेद, दक्षिणपट्टिको मुखबाट यजुर्वेद, पश्चिमपट्टिको मुखबाट सामवेद र उत्तरपट्टिको मुखबाट अथर्ववेदको रचना गरिसकेपछि त्यही क्रमले आयुर्वेद, धनुर्वेद, गान्धर्ववेद र स्थापत्यवेदको सृष्टि गरे, अनि चार वटै मुखबाट पाँचौं वेदका रूपमा इतिहास-पुराण बनाए भनी श्रीमद्भागवत (३।१२।३७-३९) मा लेखिएको छ। शूद्रहरूलाई वेद पढ्न निषेध गरिएकाले सार्ववर्णिक अर्थात् सबै वर्णको पहुँच हुने अर्को वेदको सृष्टि गर्नुपर्यो भनी इन्द्र आदि देवताले ब्रह्माजीलाई भन्दा ऋग्वेदबाट पाठ्य, सामवेदबाट गीत, यजुर्वेदबाट अभिनय र अथर्ववेदबाट रस लिई नाट्यवेदको सृष्टि पाँचौं वेदका रूपमा भएको कुरा भारतीय नाट्यशास्त्र (१।१०-१८) मा लेखिएको छ।
महाकवि कालिदासले आफ्नो मालविकाग्निमित्र नाटकमा लेखे जस्तै, फरक फरक रुचि भएका मानिसको पनि मनोरञ्जनको मुख्य साधन नाट्य (१।५) भएकाले प्राचीन कालदेखि नाट्यविद्यामा सबैको आकर्षण भई आएको छ। शास्त्रलाई संहिताबद्ध गर्दै जाने क्रममा तौर्यत्रिकको ग्रन्थसम्पत्ति संस्कृतवाङ्मयमा निकै समृद्ध छ।
नेपालमा रचना नभएको भए पनि चर्यागीत गाउने र त्यसै अनुसार नृत्य गर्ने परम्परा वर्तमान कालसम्म पनि यहाँ वज्रयानीहरूमा चल्दै आएको सम्झना यस प्रसङ्गमा हुन्छ।
नेपालको इतिहासका आकर अर्थात् सामग्री खोतल्दै जाँदा तौर्यत्रिकको एकसरो राम्रै इतिहास तयार पार्न सकिने भए पनि पत्रिकामा छापिने यस लेखमा सबै कुरा समेट्न नसकिने हुनाले उन्नाइसौं शताब्दीको पूर्वार्धसम्मका, आफूलाई अनायास सम्झनामा आएका केही कुरासँगै तौर्यत्रिकको विषयमा पृथ्वीनारायण शाह (विसं १७७९-१८३१, राज्यकाल विसं १७९९-१८३१) को नीति र उनका भारादार र छोरानातिहरूबाट भएको त्यस नीतिको बेवास्ता मात्र लेखी चित्त बुझाउनुपरेको छ।
राजा र रसरङ्ग
नेपालमा पनि प्राचीन कालदेखि यस्तो विद्याको अभ्यास हुन्थ्यो भन्ने कुरा प्रथम शिवदेव (निश्चित राज्यकाल विसं ६४८-६६२) को {शक} संवत् ५२६ तदनुसार विसं ६६२ को शिलालेखमा निकै गूठीहरूको चर्चा आउँदा ‘वादित्त्रगौष्ठिक’ अर्थात् ‘बाजा बजाउने गुठियारहरू’ को पनि कुरा आएको छ (धनवज्र वज्राचार्य, लिच्छविकालका अभिलेख, काठमाडौंः नेपाल र एशियाली अध्ययन संस्थान, २०३०, ७० सङ्ख्या)। नेपालमा रचना नभएको भए पनि चर्यागीत गाउने र त्यसै अनुसार नृत्य गर्ने परम्परा वर्तमान कालसम्म पनि यहाँ वज्रयानीहरूमा चल्दै आएको सम्झना यस प्रसङ्गमा हुन्छ।
टोल टोलमा भने जस्तो यहाँ नासःद्यः अर्थात् नृत्यनाथका स्थान छन्। परम्परागत ढङ्गले बाजा बजाउने र गाना सिक्ने नेवारहरूले त्यस्ता स्थानमा आई नृत्यनाथको पूजा-आराधना गर्दै आएका छन्। हनूमान्ढोका दरबारमा त नासलचोक नामले प्रख्यात भव्य चोक नै छ। त्यस चोकमा पूर्वपट्टि नासःद्यःको सानो स्थान पनि छ। मल्लकालमा दरबारमा देखाउन त्यही चोकमा नाचको अभ्यास गरी त्यहीं नाटक देखाउने चलन थियो (गौतमवज्र वज्राचार्य, हनूमान्ढोका राजदरबार, काठमाडौंः नेपाल र एशियाली अध्ययन संस्थान, २०३३, ९३ पृ.)।
एघाह्रौं शताब्दीका जयदेवले रचेको गीतगोविन्द ज्यादै प्रसिद्ध छ। राधा र कृष्णको प्रेमलाई विषयवस्तु बनाई काव्यमा राग र ताल समेत मिसाएर लेखिएको यस गेय काव्यलाई कसै कसैले ‘रागकाव्य’ भनेका छन्। पूर्वी भारतमा रचिएको भए पनि एक अर्थमा भन्दा भारतवर्षभर फैलिएको गीतगोविन्द देवस्थलमा भजन गाउने परम्परा अनुसार उडिसा, बङ्गाल र केरलका मन्दिरमा अहिलेसम्म पनि यसका कुनै कुनै अंश गाइँदै छन्। पुरीको जगन्नाथ मन्दिरमा रातिको पूजामा गीतगोविन्दका पद्य गाउने चलन अझसम्म छ। नेपालखाल्डोमा पनि ठाउँ ठाउँका देवस्थलमा भजन गाउने चलन छ र त्यसरी गाइने भजनलाई ‘दाफा’ भन्ने गरिन्छ। त्यस्ता ‘दाफा’ मा गीतगोविन्दका पद्य पनि समाविष्ट हुन्छन्।
गीतगोविन्दकै अनुकरणमा राधा र कृष्णको मात्र होइन, सीता र रामको, अनि पार्वती र शिवको विषयवस्तु बनाई गेय काव्य परम्परा भारतमा चलेको देखिएको छ। नेपालमा पनि गीतगोविन्दकै अनुकृतिमा लेखिएका केही काव्य भेटिएका छन्। काठमाडौंका राजा प्रताप मल्ल (विसं १६८०-१७३१, राज्यकाल विसं १६९८-१७३१) ले रचेको सङ्गीतदामोदर र उनका छोरा मान्धाता सिंहले लेखेको गीतकेशव त्यसका केही उदाहरण हुन् (महेशराज पन्त, ‘मान्धाता सिंहको गीतकेशव’, अभिलेख ३६ पूर्णाङ्क, २०७५, १३-४८ पृ.)।
प्रताप मल्लका कुनै पनि प्रशस्तिमा ‘शस्त्रशास्त्रसंगीतादिसकलविद्यापारग’ अर्थात् ‘हातहतियार, शास्त्र र संगीत आदि सबै विद्या पार गरेका’ भन्ने विशेषण नछुटाइएकाले आफ्नो संगीतज्ञतामा पनि उनको गर्व थियो भन्ने देखिन्छ।
कुनै कुनै राजाले आफूलाई तौर्यत्रिकमध्ये एकको वा ती सबैको ज्ञाता भनी दाबी गरेको पनि नपाइने होइन। दृष्टान्तका रूपमा ज्योतिर् मल्ल (राज्यकाल विसं १४५२-१४८५) को नेसं ५३३ तदनुसार विसं १४६९ को शिलापत्रमा उनलाई ‘निखिलगान्धर्वविद्यागुरु’ अर्थात् ‘पूरै गान्धर्वविद्याका गुरु’ भनी लेखिएको सम्झना हुन्छ (धनवज्र वज्राचार्य, पूर्वमध्यकालका अभिलेख, काठमाडौंः नेपाल र एशियाली अनुसन्धान केन्द्र, २०६८, ८१ सङ्ख्या)। तिनै ज्योतिर् मल्लका खनातिका पनाति, यौवराज्यमै परलोक भएका हरिहरसिंहलाई ‘संगीतविद्याम्बुधिपारदृश्वा’ अर्थात् ‘संगीतविद्याको समुद्र पार गरेका’ भनी उनका नाति, राजा प्रताप मल्लको नेसं ७६३ तदनुसार विसं १६९९ को शिलापत्रमा बयान गरिएको छ (हनूमान्ढोका राजदरबार, १३ सङ्ख्या)।
प्रताप मल्लका कुनै पनि प्रशस्तिमा ‘शस्त्रशास्त्रसंगीतादिसकलविद्यापारग’ अर्थात् ‘हातहतियार, शास्त्र र संगीत आदि सबै विद्या पार गरेका’ भन्ने विशेषण नछुटाइएकाले आफ्नो संगीतज्ञतामा पनि उनको गर्व थियो भन्ने देखिन्छ। त्यति मात्र होइन, देवताको रूप धारण गरेर उनी नाच्ने गर्थे भन्ने कुरा कवीन्द्रपुरको (अहिले संवत् फुटिसकेको) शिलालेख र हनूमान्ढोका नासलचोकमा नरसिंहमूर्तिको पादपीठमा कुँँदिएको नेसं ७९३ तदनुसार विसं १७३० को लेखबाट बुझिन्छ (हनूमान्ढोका राजदरबार ३६, ३८ सङ्ख्या)।
उनकै नेसं ७६२ तदनुसार विसं १६९९ को शिलालेखमा त अझ ‘आफ्नो गीतद्वारा प्रताप मल्लले तरुनीको मनमा निख्खर कामवासना उत्पन्न गराइदिनुभयो’ भनी लेखिएको छ (उही, १३ सङ्ख्या)। ‘रसरङ्ग खेलबाडमा श्रेष्ठ, शस्त्र शास्त्र र सुख दिने संगीतविद्यामा म बराबरको कुनै ठूलो राजा पृथ्वी तथा दशै दिशाको छेउछाउमा अथवा पहाड र जङ्गलमा कतै छन् भनेर कसले भन्न सक्छ’ भनी नेसं ७७७ तदनुसार विसं १७१३ को शिलालेखमा प्रताप मल्लले लेखाएकाले संगीतविद्याको प्रावीण्यमा उनको ठूलो दाबी देखिन्छ (धनवज्र वज्राचार्य प्रधान सम्पादक, इतिहास-संशोधनको प्रमाण-प्रमेय, ललितपुरः जगदम्बा-प्रकाशन, २०१९, ५१ पृ.)।
प्रताप मल्लले ‘शस्त्रशास्त्रसंगीतादिसकलविद्यापारग’ भन्ने उपाधि लिए जस्तै उनका छोरा पार्थिवेन्द्र मल्ल (विसं ?-१७४४, राज्यकाल विसं १७३७-१७४४) ले ‘शस्त्रशास्त्रसंगीतादियावद्विद्यापारग’ भन्ने उपाधि मात्र नलिई ‘राजा पार्थिवेन्द्रको गीत सुनेर र नाच देखेर तरुनीहरूको पछ्यौरा खस्यो र कन्धनी फुस्क्यो’ (हनूमान्ढोका राजदरबार ४४ सङ्ख्या) सम्म पनि लेखाएको सम्झना हुन्छ।
ललितपुरका राजा श्रीनिवास मल्ल (विसं १६८४-१७४३, राज्यकाल विसं १७१७-१७४१)को नेसं ८०१ तदनुसार विसं १७३७ को शिलापत्रमा उनलाई ‘नानानृत्यकलाविलासरसिक’ अर्थात् ‘नानाथरीका नृत्यकलाका रसिक’ मात्र नभनी ‘वीणातालमृदङ्गगीतनिपुण’ अर्थात् ‘वीणा ताल मृदङ्ग र गीतमा निपुण’ र ‘सङ्गीतविद्यानिधि’ अर्थात् ‘संगीतविद्याका खानि’ भनी लेखिएको छ (रामजी तेवारी आदि, अभिलेख-संग्रह ६ भाग, काठमाडौंः संशोधन-मण्डल २०१९, १८-१९ पृ.)। यिनै श्रीनिवास मल्ललाई उनका पनाति अर्थात् दौहित्री (छोरीकी छोरी) का छोरा राजा विष्णु मल्ल (विसं ?-१८०२, राज्यकाल विसं १७८६-१८०२) को नेसं ८५२ को शिलापत्रमा ‘संगीतशास्त्रार्थवित्’ अर्थात् ‘संगीतशास्त्रको अर्थ जान्ने’ भनी बयान गरिएको छ (रामजी तेवारी आदि, अभिलेख-संग्रह १० भाग, २०२०, १६-१९ पृ.)।
श्रीनिवास मल्लका छोरा राजा योगनरेन्द्र मल्ल (विसं १७२४-१७६२, राज्यकाल विसं १७४१-१७६२) ले आफ्नो नाउँमा सर्वत्र ‘संगीतार्णवपारग’ अर्थात् ‘संगीतको समुद्र पार गरेका’ भन्ने विशेषण जोडेका छन्। श्रीनिवास मल्लकी छोरी रुद्रमतीको नेसं ८२५ को शिलालेखमा उनका छोरा रुद्रेन्द्र मल्ललाई ‘संगीताम्बुधिपारग’ अर्थात् ‘संगीतको समुद्र पार गरेका’ र ‘वीणावादननिज्र्जितामरमुनि’ अर्थात् ‘वीणा बजाउनमा नारदलाई माथ गरेका’ भनी लेखिएको छ (डिल्लीरमण रेग्मी, मेडईइभल् नेपाल् ४ भाग, काठमाडौंः डिल्लीरमण रेग्मी, सन् १९६६, ११२ सङ्ख्या)।
राजा मात्र होइन, राजगुरुहरूले पनि आफूलाई तौर्यत्रिकका विज्ञका रूपमा उभ्याएको कुरा एकाध शिलापत्रबाट थाहा हुन्छ।
मैथिली भाषामा थरी थरी रागमा रचिएका काव्य भक्तपुरका राजाहरूले पत्थरमा कुँदाएको चर्चा पनि यहाँनिर गर्नुपर्छ। खुलाएर भन्दा, जगत्प्रकाश मल्ल (विसं १६९५-१७२९, राज्यकाल विसं १७००-१७२९) का नेसं ७८२ मङ्सीर र नेसं ७८२ साउनका शिलापत्र प्रकाशित छन् (मेड्ईइभल् नेपाल् ४ भाग, ६१ क र ६६ सङ्ख्या)।
यसै गरी, उनका छोरा जितामित्र मल्ल (विसं ?-१७६५, राज्यकाल विसं १७२९-१७५३) को पनि नेसं ७९८ तदनुसार विसं १७३५ को यस्तै रागकाव्य (रामजी तेवारी आदि, अभिलेख-संग्रह ७ भाग, २०१९, २५-२८ पृ.) र जितामित्र मल्लका छोरा भूपतीन्द्र मल्ल (विसं १७३१-१७७९, राज्यकाल विसं १७५३-१७७९) को पनि नेसं ८३७ को रागकाव्य पाइएका छन् (मेड्ईइभल् नेपाल् ४ भाग, १२३ सङ्ख्या)। भक्तपुरका यी रागकाव्य देख्दा तलेजु मन्दिरको सुवर्णद्वारमा भएको, प्रताप मल्लको नेसं ७९२ को त्यस्तै रागकाव्यको सम्झना आउँछ (हनूमान्ढोका राजदरबार ३५ सङ्ख्या)। जितामित्र मल्लको नेसं ७९८ को शिलालेखमा उनका भाइ उग्र मल्लमा ‘गान्धर्व्वविद्यानिपुण’ अर्थात् ‘गान्धर्वविद्यामा पोख्त’ भन्ने विशेषण लगाइएको कुरा पनि यहाँनिर भन्नुपर्छ (अभिलेख-संग्रह ७ भाग, २५-२८ पृ.)।
राजगुरुहरूको पनि आसक्ति
राजा मात्र होइन, राजगुरुहरूले पनि आफूलाई तौर्यत्रिकका विज्ञका रूपमा उभ्याएको कुरा एकाध शिलापत्रबाट थाहा हुन्छ। नेसं ७६३ को ललितपुरका राजोपाध्यायहरूको शिलापत्रमा तोयीवराज भन्नेलाई ‘नृत्यक्रियाकुमुदिनीविकचप्रवीण’ अर्थात् ‘नृत्यकर्मका कमल फुलाउन प्रवीण’ र उनका छोरा विष्णु शर्मालाई ‘नृत्यक्रियाकौशल’ अर्थात् ‘नृत्यकर्ममा सिपालु’, ‘यो नन्दीव मृदङ्गवादनपटुग्र्गाने स विद्याधरः’ अर्थात् ‘जो नन्दी जस्तै मृदङ्ग बजाउन सिपालु छन्, ती गाना गाउनमा विद्याधर हुन्’ भनी लेखिएको छ। यिनै विष्णु शर्माका नाति श्रीनाथलाई ‘विविधप्रकारविलसन्नृत्यक्रियाचातुर’ अर्थात् ‘अनेक किसिमका नृत्यकलामा सिपालु’, ‘गीतज्ञ’ अर्थात् ‘गीत गाउन जान्ने’, ‘मुरजाहताधिकपटु’ अर्थात् ‘मुरज बजाउन ज्यादै पोख्त’ भनी तारीफ गरिएको छ (धनवज्र वज्राचार्य, मध्यकालका अभिलेख, काठमाडौंः नेपाल र एशियाली अनुसन्धान केन्द्र, २०५६, ४७ सङ्ख्या)।
ललितपुरका प्रसिद्ध कवि हरिवंश शर्माका छोरा राजगुरु परशुरामको प्रसिद्धि नाट्यविद्यामा थियो भन्ने कुरा ‘ख्यातः पृथिव्यामिव नृत्यनाथः’ अर्थात् ‘पृथ्वीमा नृत्यनाथ जस्तै प्रसिद्ध’ र उनका छोरा चक्रपाणिको बयानमा ‘नानानटशास्त्रविज्ञः’ अर्थात् ‘नाना किसिमका नटशास्त्रका ज्ञाता’ भनी नेसं ८६६ को शिलापत्रबाट थाहा पाइन्छ (ऐश्वर्यधर शर्मा, ‘थ्री अन्पब्लिश्ड् इन्स्क्रिप्शन्ज् कन्सर्न्इङ् द देवभाजुज् अफ् पाटन्’ जर्नल् अफ् द नेपाल् रिसर्च् सेन्टर् १ ठेली, सन् १९७७, १३४ पृ.)। मल्लकालका राजगुरुहरूको तौर्यत्रिकतर्फ यस्तो अभिनिवेश देख्दा मलाई राणाकालका, पाँडेवंशका राजगुरुहरूको पनि त्यस्तै आसक्तिको सम्झना आयो। उदाहरणका लागि, मूलपुरोहित विक्रमराज (विसं १९५३-१९९९) शास्त्रीय संगीतमा निपुण थिए (रामशरण दर्नाल, नेपाली संगीत साधक, काठमाडौंः नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठान, २०३८, २०-२२ पृ.) त उनका भाइ, खजाञ्ची भरतराज (विसं १९५७-२०२९) शास्त्रीय वाद्यवादनमा पोख्त थिए (उही, १९२-१९५)।
पछिल्लो मल्लकालको सन्दर्भमा तौर्यत्रिकको कुरा गर्दा त्यस समयमा रचिएका नाटकको पनि सम्झना आउँछ। नयराज पन्त (विसं १९७०-२०५९) को शब्दमा भन्दा, ‘पछिल्लो मल्लकालमा नेपालखाल्डामा एक प्रकारका गद्य, पद्य, गीतहरूको संग्रह गरी बीच-बीचमा संवाद देखाई तिनलाई नाटक भन्ने नाम दिने चलन चलेको थियो।
सरूपसिंह कार्कीले राखेको शिलापत्रमा यस घरमा ‘नृत्यन्तु वाराङ्गनाः’ अर्थात् ‘पत्रीयाहरू नाचून्’ भनिएको छ र उनले आफूलाई ‘गीते स्वयं शंकरः’ अर्थात् ‘गानामा आफैं शिवजी’ भनी नाचगानमा अनुरक्ति देखाएका छन्।
ती नाटकहरू नेवारी, संस्कृत, हिन्दी, मैथिली भाषाहरूको मिस्कटमा प्रायः पाइन्छन्’ (धनवज्र वज्राचार्य र ज्ञानमणि नेपालद्वारा सम्पादित जयरत्नाकर नाटकमा नयराज पन्तको ‘उपोद्घात’, काठमाडौंः नेपाल-सांस्कृतिक परिषद्, २०१४, १३ पृ.)। साँच्चै भन्ने हो भने नाटक भनी कहलिएका त्यस्ता धेरैजसो कृति गानबजानका पुलिन्दा हुन् भन्दा पनि त्यति फरक नपर्ला।
पृथ्वीनारायणको तापसी प्रवृत्ति
‘उप्रान्त।। मलाई यवटा कुराको संध्यह लागिरहेछ. कुन्कुरो भन्या मुग्लाना नजिकै रहेछ. तेस् जग्गामा छोकडा पत्रीया रह्याछन्. चित्रकार भर्याको कोठामा ढोलक् सितार रागतान्मा भुल्नन्. रागतान्मा बडो ठुलो मोहो हुन्छ र दवलथ पनि षोलिन्छ. देसको भेद पनि तिनैले लैजान्छन् र हरिपले दया गर्छ. रागको अभ्यास् पनि कसैले नगर्नु. तिन जातलाई पाहाड आम्फदरफ् पनि कसैले नषोल्नु. अथवा फागुलाई यक् दुई गरी झिकि चाडै बिदा गराईदिनु र देसको भेद पनि पाउदैनन्. आफ्ना स्वषसयलेलाई ता सास्त्रबमोजिम्को तिनै सहर नेपालको नेवारहरूको नाच झिकाई हेर्या पनि हुन्छ. ईनमा ता दियाको पनि आफ्नै देसमा रहन्छ. यस्व भया आफ्नु देस गमन् रहन्छ।।’ (नयराज पन्त आदि, श्री ५ पृथ्वीनारायण शाहको उपदेश, ललितपुरः जगदम्बा-प्रकाशन, २०२५, ३३१ पृ.) भनी पृथ्वीनारायण शाहले आफ्नो अन्त्य अवस्थामा बोलेकाले प्राचीन कालदेखि तौर्यत्रिक र राजाहरूको अन्योन्याश्रित सम्बन्ध भए पनि त्यससँग सम्बन्धविच्छेद गर्न उनले दरिलो प्रयत्न गरेको स्पष्ट हुन्छ।
चीनको साम्राज्य र ब्रिटिश भारतको साम्राज्यको बीचमा ‘असली हिन्दूस्थाना’ खडा गर्ने मनसायले सर्वतोभावले राज्यविस्तारमा खटिएका पृथ्वीनारायण शाहले बोलेका यी कुरालाई अतिवादको संज्ञा सजिलै दिन सकिए पनि यस्तो तापसी प्रवृत्ति अङ्गीकार नगरीकन राष्ट्रनिर्माणको जग बसाउन नसकिने भएकाले उनले यस्तो बोलेको हुनुपर्छ।
पृथ्वीनारायण शाहको पालामा वसन्तपुर दरबार छोडेर अर्को दरबार बनेन। नयराज पन्तको शब्दमा, पृथ्वीनारायण शाहले ‘विलासमन्दिर’ भनी बनाएको वसन्तपुर दरबारले विलासी पुरुषलाई सन्तुष्ट पार्न गाह्रो छ। यो दरबार पनि पुरानो मल्लदरबारको एक अङ्ग भई एक चोक थपिएर बनेको थियो’ (धनवज्र वज्राचार्यद्वारा सम्पादित पण्डित सुन्दरानन्दविरचित त्रिरत्न-सौन्दर्य-गाथामा नयराज पन्तको ‘उपोद्घात’, काठमाडौंः नेपाल सांस्कृतिक परिषद् २०१९, ६८ पृ.)। तर, पृथ्वीनारायण शाह बितेको दुई वर्ष पनि नबित्दै यस्तो तापसी प्रवृत्तिका विरुद्ध भारादारहरू गएको कुरा विसं १८३३ मा काठमाडौं चिकंमुगलमा काजी सरूपसिंह कार्की (विसं १८०८-१८४२) ले बनाएको जयमन्दिर र त्यही साल केलटोलमा काजी अभिमानसिंह बस्न्यात (विसं १८०१-१८५७) ले बनाएको मानमन्दिर अर्थात् तिलंङ्गाघरबाट छर्लङ्ग हुन्छ (धनवज्र वज्राचार्य र टेकबहादुर श्रेष्ठ, शाहकालका अभिलेख, काठमाडौंः नेपाल र एशियाली अनुसन्धान केन्द्र, २०३७, ३२ र ३३ सङ्ख्या)।
सरूपसिंह कार्कीले राखेको शिलापत्रमा यस घरमा ‘नृत्यन्तु वाराङ्गनाः’ अर्थात् ‘पत्रीयाहरू नाचून्’ भनिएको छ र उनले आफूलाई ‘गीते स्वयं शंकरः’ अर्थात् ‘गानामा आफैं शिवजी’ भनी नाचगानमा अनुरक्ति देखाएका छन्। त्यसै गरी अभिमानसिंह बस्न्यातले राखेको शिलापत्रमा आफ्नो घरको बयान गर्दा ‘नटनृत्यसुगीतगुणैर्ललितम्’ अर्थात् ‘नटुवाहरूको नाचगानले राम्रो भएको’ भनी लेखिएको छ। घर मात्र ठूलो नबनाई आआफ्नो घरमा भारादारहरूले रसरङ्ग गर्ने गरेकाले यस्ता काम पृथ्वीनारायण शाहको नीतिको पूरै बर्खिलाफ हो भनी भनिरहनुपर्दैन।
सरूपसिंह कार्की पृथ्वीनारायणका भित्रिया नभए पनि अभिमानसिंह बस्न्यात चाहिं बाबुको पालादेखि पृथ्वीनारायणका आफ्ना मान्छे थिए। यसैले पृथ्वीनारायणको नीति उनले राम्रैसँग बुझेको भए पनि त्यस नीतिमा उनी अडिग रहन सकेनन् र पृथ्वीनारायणका उत्तराधिकारी प्रतापसिंह शाह (विसं १८०६-१८३४, राज्यकाल विसं १८३१-१८३४) को शासनसँगै आएको विलासी जीवनतर्फ आकृष्ट हुन पुगे।
पृथ्वीनारायण शाहका भारादारहरू उनको नीतिका अनुयायी नभए जस्तै, उनका छोरानातिहरू पनि उनको नीतिको प्रतिकूल थिए। यस कुराको एउटा दृष्टान्त ‘रागको अभ्यास् पनि कसैले नगर्नु’ भन्ने नीति भएका पृथ्वीनारायण शाहका नाति रणबहादुर शाह (विसं १८३२-१८६३, राज्यकाल विसं १८३४-१८५५) गानविद्याका विशेषज्ञ भई निस्केकोमा पाइएको छ (त्रिरत्न-सौन्दर्य-गाथाको ‘उपोद्घात’, ७० पृ.)।
(पुराविद् पन्त संशोधन-मण्डलका सदस्य हुन्। हिमालको २०७९ वैशाख अङ्कबाट।)