कस्तो स्थानीय सरकार, कस्तो स्थानीय नेतृत्व?
चुनाव पाँच वर्षे हाट वा भाषण-जुक्तिको मेला होइन, स्थानीय कार्यसूची निर्माण र अनुमोदनको आधार हो। त्यसैले भावनाको बहकाउ, आस्थाको विभाजन, आग्रह र प्रभावबाट अलग रहेर आफ्नै भविष्य निर्माणको प्रक्रिया हो भन्ने मतदाताहरूले बुझ्नुपर्छ। चुनावलाई असल संस्कृति निर्माणको उत्सव बनाउनुपर्छ, औपचारिकताको मेला होइन।
स्थानीय सरकारहरूले आफ्नो पहिलो कार्यावधि छिटै पूरा गर्दै छन्। स्थानीय सरकारका रूपमा पहिलो कार्यावधिका उपलब्धि मिश्रित छन्‚ निराशाप्रद पनि होलान्। तर‚ विगतको कमजोरीको समीक्षा गरी कार्यप्रणाली परिमार्जन गर्नुको विकल्प छैन। अहिले स्थानीय तहमा कस्तो नेतृत्व भन्ने जबर्दस्त बहस गर्नुपर्ने समय हो। अर्को कार्यकाल जरुर राम्रो बन्नुपर्छ। त्यसका लागि पनि बहस जरुरी छ।
स्थानीय सरकार स्थानीय शासनका जीवन्त संरचना हुन्। स्थानीयको दैनन्दिनीलाई सम्बोधन गर्ने लघु सरकार हुन्। लोकतन्त्रका वास्तविक कार्यशाला हुन्। लघु सरकार सामाजिक वास्तविकता समीप हुन्छ, हुनुपर्छ। किनकि, दैनन्दिनी समस्याले लामो समयसम्म धैर्य राख्दैनन्। आफ्ना दक्षताका कामले तत्काल सर्वसाधारणका मन जित्छन्। सामाजिक सङ्केत टिप्छन् र स्थानीय वास्तविकतासँग क्रियाशील हुन्छन्।
त्यसैले हामीलाई स्थानीय सरकार चाहिएको हो, सङ्घीयता चाहिएको हो। शासन र शासितको दूरी घटाउन, सेवा/नीतिको लागत घटाउन स्थानीय शासन चाहिएको हो। सेवा सबैलाई चाहिएको छ। सभ्रान्त-सम्पन्नहरू जहाँकतैबाट सेवा लेलान्, तर विपन्न-वञ्चितिमा रहेकाहरूले घर आँगनबाट सेवा पाउनुपर्छ। अर्को अर्थमा शासनलाई सेवामा बदल्न स्थानीय सरकार चाहिएको हो। यहाँभन्दा बढी सङ्घीयताको अर्थ र महत्त्व छैन।
भनिन्छ, स्वतन्त्रता कानूनबाट नियमन हुन्छ र विकासबाट विस्तृत। स्थानीय सरकारले लोकतन्त्रका अवसरहरू उत्पादन गर्दछन् र उत्पादनका लाभ स्थानीय नागरिकलाई समयमै बुझाउँछन् पनि। लोकतन्त्रको विस्तृतीकरण गर्न वा अवसरहरू मुकाममा निर्माण गरी वितरण गर्न स्थानीय सरकारको आविष्कार भएको हो। लोकतन्त्रलाई गाउँबस्ती पुर्याउन स्थानीय शासन र स्थानीय सरकार चाहिएको हो।
पाँच वर्षअघि गणतान्त्रिक नेपालको स्थानीय चुनावमा देखिएको अपार उत्साहको लहर स्मृतिबिम्बमा ल्याउँदा जो कुनैलाई कति उत्साह बढ्छ? त्यस चुनावले विगतदेखि थाती रहेका मुद्दाहरू‚ जस्तो कि सेवामा भएको सास्ती, विकास निर्माणमा भएको सास्ती, स्रोतसाधन विनियोजनमा भएको अन्याय, सेवासुविधा नपाउँदाका पीडाहरू सबैको एकमुष्ट समाधान हुनेछ भन्ने अपेक्षा गरिएको थियो।
लोकतन्त्रको विस्तृतीकरण गर्न वा अवसरहरू मुकाममा निर्माण गरी वितरण गर्न स्थानीय सरकारको आविष्कार भएको हो। लोकतन्त्रलाई गाउँबस्ती पुर्याउन स्थानीय शासन र स्थानीय सरकार चाहिएको हो।
स्थानीय जनताले आफ्ना प्रतिनिधिको चेहरामा स्थानीय स्वशासनको बिम्ब देखिरहेका थिए। संविधानका शिल्पीहरूले पनि लोकतन्त्रको कार्यमूलक ‘मिनिएचर’ आकृतिमा स्थानीय सरकारलाई कुँदेका थिए। त्यसैले ती चलनचल्तीका राजनीति र छलस्वार्थका संरचना थिएनन्, विकास र सेवा व्यवस्थापनका नागरिक संस्था थिए। लोकतन्त्रका कार्यमूलक संरचना थिए।
पाँच वर्षपछि फर्केर हेर्दा धेरैजसो जनप्रतिनिधि संस्थाहरूले संस्थाको रूप मात्र नपाएका होइनन्, राजनीतिक छलछामका अस्वस्थ स्थल बन्न पुगे। कतिले समयमा बजेट कार्यक्रमसम्म पेश गर्न सकेनन्। यही समय आएको कोभिड-१९ महामारीमा जनताले खोजेको धरालो पनि पाएनन्। विकासमाथि राजनीति भयो, राजनीतिक संस्कार मात्र नदेखिएको होइन, वित्तीय अनुशासन पनि भेटिएन।
स्थानीय सभा विकासको सभा बनेनन्, सुरक्षा दस्ताभित्र सभा सञ्चालित भए। निकै थोरै पालिकाहरूले जनताको मन छुने काम गरे। प्रणाली बनाउन नसके पनि नेतृत्वले घिच्याएर, लतारेर भए पनि नागरिक सेवा गरे। विकासको आशालाग्दो स्केच कोरे। तर‚ धेरैले राम्रो गर्न नसक्दा थोरै पनि एकै ड्याङमा आरोपित हुने नै भए।
नजिकै रहेको नागरिक संस्थामा कस्तो उम्मेदवारलाई आफ्नो प्रतिनिधि बनाउने भन्ने कौतूहल यतिखेर जनमानसमा देखिएको छ। राजनीतिक दल र नेतृत्वका आकाङ्क्षीहरूले वाचाको खेती मार्फत निर्वाचक जनतालाई प्रभाव पार्दै छन्। जिम्मेवारी लिइसकेकाले अनुभव र उपलब्धिका भए/नभएका विवरणहरू दिइरहेका छन्। कतिपयले काम गर्न नसकेकोमा प्रायश्चित्त गर्दै पुनः अवसरका लागि अनुनयविनय गरिरहेका छन्।
जिम्मेवारीका ताजा आकाङ्क्षीले आफ्ना योजना र सम्भावित कार्यसूचीहरू फिंजाइरहेका छन्। स्थानीय भूगोल भुलिसकेकाहरू पनि स्थानीय नेतृत्वका लालसामा गाउँ/नगरतिर ओर्लिएका छन्। सङ्घ र प्रदेश संरचनामा परीक्षित भइसकेकाहरू पनि स्थानीयतिर हानिएका छन्।
किनकि‚ स्थानीय तह नै देखिने गरी तत्काल जनतासामु केही गर्न सकिने तह हुन्, जससँग प्रत्यक्ष भूगोल र जनता पनि भएकाले जनताका मनमन्दिरमा बस्ने ठाउँ पनि यही हो। यसैलाई नेतृत्व सोपानमा अघि बढ्ने भर्याङ बनाउन सकिने सम्भावना पनि देखिएको होला।
पेशागत क्षेत्रमा काम गर्नेहरू पनि जनसेवाका लागि स्थानीय सरकारमा प्रवेश गर्ने मनसुवामा उम्मेदवार बनेका छन्। सेवाभन्दा स्वार्थ र विश्वास होइन, व्यवसाय जित्ने लालसाले दलबदल गरिरहेका छन्। पदकै लागि चुनावको मुखैमा दल बदल गरी उम्मेदवारी निश्चित गरेका छन्। यी प्रवृत्तिले आसन्न चुनावका लागि महत्त्वपूर्ण सन्देश दिइरहेको छ।
स्थानीयवासीले आफ्ना जनप्रतिनिधि आफ्ना भावना र वास्तविकता बुझ्न सक्ने होऊन् भन्ने व्यावहारिक दृष्टिकोण राख्नुपर्छ। अमुक प्रतिनिधि/दलले यसअघि के गरे, अहिले के गरिरहेका छन् र अब के गर्लान् भन्ने विवेचना गर्न सक्नुपर्छ।
स्थानीयबासीले आफ्ना जनप्रतिनिधि आफ्ना भावना र वास्तविकता बुझ्न सक्ने होऊन् भन्ने व्यावहारिक दृष्टिकोण राख्नुपर्छ। अमुक प्रतिनिधि/दलले यसअघि के गरे, अहिले के गरिरहेका छन् र अब के गर्लान् भन्ने विवेचना गर्न सक्नुपर्छ। उम्मेदवारको पृष्ठभूमिले कतिपय सवालको उत्तर दिइरहेको हुन्छ। विगतमा उसको आर्थिक, सामाजिक, राजनीतिक र नैतिक आचरण कस्तो थियो, त्यसले पनि सम्भावित सवालहरूको उत्तर दिइरहेको हुन्छ।
शहरमा सौन्दर्य र सेवासुविधा कसरी विस्तार गरे, गाउँमा सेवासुविधा कति सहज भए, विकास रणनीति कसरी निर्माण र कार्यान्वयन भए, के कस्ता कामले प्राथमिकता पाए, समग्रमा जनअपेक्षा पूरा हुन सके कि सकेनन् भन्ने समीक्षा गर्नुपर्छ।
नेतृत्व आकाङ्क्षीको वैयक्तिक आचरण र संस्थागत सुशासनमा कसरी उम्दा देखिए, विवेचना गर्नुपर्छ। स्थानीय सरोकारका विषयहरू खानेपानी, बाटोघाटो, बिजुली, वनबुट्यान, बजार आपूर्ति, फोहोर व्यवस्था, स्वास्थ्योपचारमा स्थानीय नेतृत्वले कस्तो तदारुकता देखाए र त्यो आवश्यकताको सापेक्षमा कति नजिक वा पर छ? जस्ता आधारमा जिम्मेवारी लिइसकेको आकाङ्क्षीहरूको परीक्षण गर्न सकिन्छ।
उनीहरू कामकै आधारमा परीक्षित भएका छन्, धेरै परीक्षण गरिरहनु पनि पर्दैन। नव आकाङ्क्षीहरूलाई सामाजिक व्यवहार, रहनसहन, आचारण, घरपरिवार व्यवस्थापन, जनताप्रतिको सामीप्यता-समर्पण र योग्यताका आधारमा परीक्षण गर्न सकिन्छ।
सर्वसाधारणले आफ्नो मत बहकाउमा प्रयोग गर्ने र वास्तविकतामा पछुताउने स्थिति रहनु हुन्न। चुनाव पाँच वर्षे हाट वा भाषण-जुक्तिको मेला होइन, स्थानीय कार्यसूची निर्माण र अनुमोदनको आधार हो। त्यसैले भावनाको बहकाउ, आस्थाको विभाजन, आग्रह र प्रभावबाट अलग रहेर आफ्नै भविष्य निर्माणको प्रक्रिया हो भन्ने मतदाताहरूले बुझ्नुपर्छ। उही पात्र, उही प्रवृत्तिको चयन गर्नाले विकास र सेवाका थप स्वाद, भनौं लोकतन्त्रका लाभहरू लिन सक्दैनन्।
प्रतिनिधिमा सामाजिक सदाचारिता, नीति नैतिकताप्रति निष्ठा, स्पष्ट दृष्टिकोण, सामाजिक वास्तविकता टिप्ने तदारुकता, नागरिक पहुँचमा रहने स्वभाव र स्थानीय वास्तविकतासँग परिचित हुने गुण हुनैपर्छ।
यसर्थ‚ चुनावलाई असल संस्कृति निर्माणको उत्सव बनाउनुपर्छ, औपचारिकताको मेला होइन। स्थानीय तहमा असल संस्कृति निर्माण गर्न सकिए शासनका अरू तहहरू पनि नीति‚ निष्ठा र सदाचारका स्थल बन्ने नैतिक दबाबमा पर्नेछन्। स्थानीय सरकार जवाफदेही र सुशासनका केन्द्र बनाउन सक्ने जनप्रतिनिधि नै अबको आवश्यकता हो, जुन पहिलो कार्यकालमा देखिएन। राजनीति सार्वजनिक सेवा हो, सेवाका लागि समर्पण चाहिन्छ, जुन हिजो देखिएन। न त्यसप्रतिको तत्परता न आचरण नै देखियो।
स्थानीय सरकारले साना कामबाट ठूला सफलताको जग निर्माण गर्नुपर्छ। ससाना सफलताले ठूला उपलब्धिको दिगो आधार दिन सक्छ। स्थानीय सरकारले एकैचोटि धेरै ठूला जोखिम उठाउन सक्दैन, बृहत् प्रभावका पूर्वाधार निर्माण गर्न सक्दैन। ठूलो लगानी र प्राविधिक जोखिम वहन गर्ने आयोजना सञ्चालन गर्न सक्दैन।
त्यो उसको कार्यक्षेत्र पनि होइन। तर‚ प्रारम्भिक बाल विकास केन्द्र, आधारभूत विद्यालय, प्राथमिक उपचार, स्थानीय सीप विकासका कार्यशाला, दैनिक आपूर्तिको हाटबजार, उत्पादन सुरक्षित राख्ने शीतघर, खुला क्षेत्र, बस्ती व्यवस्थापन, भू-उपयोग, चरिचरन, सिंचाइ‚ कुलो, टेवा‚ पर्खाल, बाटो‚ फड्के, हरियाली व्यवस्थापन जस्ता कार्य भनेको स्थानीय सरकारको हो।
स्थानीय प्रभावका बेथिति नियन्त्रण पनि स्थानीय सरकारको काम हो। त्यसो गर्न स्थानीय सरकारलाई संवैधानिक हैसियतका साथै कार्यक्षेत्र निर्धारण, अधिकार विनियोजन, राजस्व हस्तान्तरण र संगठन संरचनाको व्यवस्था गरिएको हो। कार्यसम्पादन जटिलतामा सङ्घको अभिभावकत्व पनि छ।
स्थानीय तहले अन्य तह र पात्रहरूसँग सहकार्य गरी स्थानीय शासकीय व्यवस्था निर्माण गर्न सक्छ। कार्यसम्पादन‚ मार्गदर्शनका लागि स्थानीय जनताले निर्वाचित गरी पठाएको सभा र कार्यकारी कार्यप्रणाली पनि छ। त्यसैले आसन्न निर्वाचनमा स्थानीय निर्वाचकले आफूलाई प्रतिनिधित्व गर्न सक्ने आफ्नै प्रतिनिधि रोज्नुपर्छ, जसले स्थानीय सरकारलाई स्थानीय सेवास्थल बनाउन सामर्थ्य राखोस्।
फेरि पनि भुल्नै नहुने कुरा के हो भने छान्न खोजिएको प्रतिनिधिमा सामाजिक सदाचारिता, नीति नैतिकताप्रति निष्ठा, स्पष्ट दृष्टिकोण, सामाजिक वास्तविकता टिप्ने तदारुकता, नागरिक पहुँचमा रहने स्वभाव र स्थानीय वास्तविकतासँग परिचित हुने गुण हुनैपर्छ।