उपप्रमुख महिलाको पाँच वर्ष: श्रीमान्को साथ पाउँदा सहज कार्यकाल
श्रीमान् र परिवारका सदस्यबाट साथ–सहयोग पाएका उपप्रमुख महिलाको कार्यकाल सहज मात्र भएन, उनीहरूले ढुक्कसाथ जनताको सेवामा लागेर आफ्नो क्षमता पनि देखाउन पाए।
दैलेखको आठबीसकोट नगरपालिकाकी उपमेयर दीपा बोहरा (४१) आफ्नो पाँचवर्षे कार्यकालको चर्चा गर्दा पारिवारिक साथको कुरा छुटाउँदिनन्। कारण, श्रीमान्को साथ–सहयोग पाएकै कारण आफूले जनप्रतिनिधिका रूपमा राम्ररी काम गर्न सकेको उनको अनुभव छ। २०६० सालमा तेज माझीसँग बिहे गरेकी उनी श्रीमान्को सहयोग पाएर जागीरसँगै राजनीतिमा पनि अगाडि बढ्दै गइन्। उपमेयर भइसकेपछि घर–व्यवहार श्रीमान्ले सम्हाल्दा उनलाई बाहिर काम गर्न सहज भयो।
उनीहरूका आठ वर्षका एक छोरा छन्। जनप्रतिनिधि जिम्मेवारीमा दीपा धेरैजसो घर बाहिरै दौडधुपमा हुन्छिन्, श्रीमान् चाहिं छोराको लालनपालन र शिक्षादीक्षामा समय दिन्छन्। सामाजिक, राजनीतिक वा निजी कुरामा समेत श्रीमान्बाट कहिल्यै पनि दबाब र बन्देज भोग्नु नपर्दा आफूले स्वतन्त्र भएर काम गर्न सकेको उनी बताउँछिन्। “श्रीमान्ले घर सम्हाल्ने भएकाले ढुक्क भएर जनताको सेवामा खट्न पाउँछु,” उनी भन्छिन्।
जागीर गर्ने वा सामाजिक, राजनीतिक क्षेत्रमा लाग्ने धेरै महिला पारिवारिक असहयोगका कारण घरधन्दाले थिचिने गरेकोमा सहयोगी श्रीमान्को आडभरोसा पाएकी दीपा आफूलाई भाग्यमानी ठान्छिन्। उनको घरमा श्रीमान्ले घरधन्दा गर्दा सासू, ससुरा, देवरहरू अनौठो मान्दैनन्। परिवारका अन्य सदस्यले समेत आवश्यक पर्दा उनलाई सघाउँछन्।
उनका श्रीमान् तेज आफूले विभिन्न संस्थामा झण्डै १९ वर्ष काम गरे पनि घरमा बसेर परिवारलाई समय दिन पाउँदा खुशी लाग्ने बताउँछन्। श्रीमान् र श्रीमती दुवैले एकअर्काको स्वतन्त्रतालाई सम्मान गर्दा धेरै व्यावहारिक समस्या समाधान हुने उनी बताउँछन्। “हरेक व्यक्तिलाई स्वतन्त्रता र आर्थिक अधिकार अति आवश्यक भए पनि महिलाले त्यो पाएका छैनन्। त्यसैले महिलालाई पुरुष सरह सक्षम बनाउन हामी पुरुषले नै प्रोत्साहन गर्नुपर्छ,” उनी भन्छन्।
काभ्रेको पाँचखाल नगरपालिकाकी उपप्रमुख लक्ष्मी दनुवार (३५) ले पनि श्रीमान् कुमारको सहयोग पाउँदा जनप्रतिनिधिको जिम्मेवारीमा खुलेर लाग्न पाएकी छन्। २०७० असारमा विवाह गरेको यो जोडीको आठ वर्षका छोरा छन्, छोरा कक्षा २ मा पढ्दै छन्। लक्ष्मी पाँचखालस्थित घरमै बस्छिन् भने काठमाडौं बबरमहलमा अडिट फर्म चलाउने कुमारले छोरालाई आफूसँगै राखेर खुवाउने, विद्यालय पठाउने लगायत सम्पूर्ण काम गर्छन्। छुट्टी वा शनिबारको दिन पारेर कहिले कुमार छोरालाई लिएर पाँचखाल जान्छन्, कहिले लक्ष्मी यतै आउँछिन्। “आपसमा विश्वास र समझदारी भयो भने सबै कुरा सहज हुँदो रहेछ। विवाह भएदेखि नै हामी एकअर्काका परिपूरक भयौं,” लक्ष्मी भन्छिन्।
जनप्रतिनिधि भएपछि जिम्मेवारी अनुसार काममा खट्नेदेखि विवाह, व्रतबन्ध तथा अन्य सामाजिक कार्यमा धेरै जानुपर्ने हुन्छ। त्यस्तै, पार्टीको काममा धेरै समय दिनुपर्ने कुरालाई पनि कुमारले राम्रोसँग बुझेका छन्। उनी लक्ष्मीलाई आवश्यक सरसल्लाह दिने, आर्थिक व्यवस्थापन गर्ने तथा आफ्नो फुर्सद हुँदा कार्यक्रमहरूमा पुर्याइदिने पनि गर्छन्। दनुवार जाति पिछडिएको वर्गमा रहे पनि राजनीतिमा लाग्न सासूससुराले सहयोग गर्दा अघि बढ्न सकेको लक्ष्मी बताउँछिन्। कुमार पनि बुबाआमाका कारण श्रीमतीलाई सहयोग गर्ने कुरामा आफू सकारात्मक बनेको बताउँछन्। “परिवारबाट कुनै काममा आफूलाई रोकावट भएन, श्रीमतीले पनि त्यस्तै व्यवहार पाएकाले सफलता मिलेको हो,” उनी भन्छन्।
घरमा भन्दा बाहिर समय दिंदा, दिनरात जनताकै काममा लाग्दा पनि कसैले लक्ष्मीका कामलाई नराम्रो भनेको सुन्दा कुमारलाई चस्स बिझ्छ। “त्यस्तो स्थितिमा परिवारले पनि साथ नदिने हो भने काम गर्ने प्रेरणा नै हुँदैन,” उनी भन्छन्, “मेरो चाहना नै श्रीमतीको लक्ष्यमा कहिल्यै बाधा नपुर्याउने हो।”
रामेछाप नगरपालिकाकी उपप्रमुख सिर्जना खड्का (३६) का श्रीमान् महेश पनि काठमाडौंमै बसेर बालबच्चा हुर्काइरहेका छन्। उनको घर सुदूरपश्चिमको बझाङ जिल्लामा भए पनि सिर्जनाले रामेछापलाई नै कर्मथलो बनाएकाले त्यसरी बस्नु उनीहरूको बाध्यता बनेको छ। सिर्जनालाई बालबच्चाका कारण काममा बाधा नपरोस् भनेर उनीहरू यसरी अलग बसेका हुन्। भन्छिन्, “समाजमा पुरुषकै प्रभुत्व छ, उनीहरूसँगै हिंड्नुपर्छ, हाँस्नुपर्छ। परिवारमा विश्वास भएन भने धेरै गाह्रो छ, त्यसैले परिवर्तनका लागि हिंडेका महिला नेताले आफ्नै घरपरिवारमा परिवर्तन ल्याउन नसक्दा बाहिर काम गर्न सक्दैनन्।”
कानून विषय पढ्दा भेट भएको यो जोडीले एक समय एउटै कार्यालयमा जागीर पनि गर्यो। विवाहपछि पनि आआफ्नो काममा लागिरहे। पछि, घरसल्लाह गरेर सिर्जना राजनीतिमा लागिन्। विवाह भएको नौ वर्ष भयो, तर श्रीमान्को घर एक महीना पनि बसेकी छैनन्। माइतीमै बसेर चुनाव लडिन्। उनीहरूका आठ वर्षकी छोरी र दुई वर्षका छोरा छन्।
जनप्रतिनिधि भएको दोस्रो वर्ष छोरा जन्मिएपछि सिर्जनालाई जनताको काम गर्न कठिन भयो। भर्खरको शिशु र अर्को बच्चा पनि सानै रहेकाले हेरचाहमा धेरै समय दिनुपर्ने भयो। घरदेखि टाढा बसेकाले पारिवारिक सहयोग पनि भएन। त्यो अवस्थामा महेशले जागीर छोडे, र पूरै समय बच्चाको रेखदेखमा खटिए। छोराछोरीलाई आफूले जतिसुकै हेरचाह गरे पनि आमाले गरेको जति नहुने हो कि भन्ने लागिरहने उनी बताउँछन्। खास गरी साँझ परेपछि बच्चाले आमा नै खोज्दा उनलाई नरमाइलो लाग्छ। उनी भन्छन्, “महिलालाई घरधन्दादेखि हरेक कुरामा सहयोग चाहिन्छ। महिला वा पुरुष अगाडि आउनुमा एक न एकको सहयोग हुन्छ। त्यसैले श्रीमान्–श्रीमतीबीच आडभरोसा र समझदारी हुनुपर्छ।”
श्रीमान्बाट आफूले सहयोग पाए पनि समग्रमा महिलालाई घर हेर्न र राजनीति गर्न गाह्रो रहेको सिर्जनाको ठम्याइ छ। श्रीमान्ले आफ्नो घर छोडेर रामेछाप बस्दा र आफूले सम्पूर्ण समय जनताको सेवामा दिंदा पनि अवसर पाउने कुरामा पार्टीका धेरै साथीले यसैलाई राजनीतिक मुद्दा बनाइदिंदा उनलाई उचित लाग्दैन। एउटी महिला श्रीमान्को घर गएर बस्नुपर्ने चलन विपरीत श्रीमान् ससुराली नजिक बस्दा विभिन्न समस्या भोग्नुपरेको सुनाउँदै उनी भन्छिन्, “कतिपय साथीहरू यसैलाई राजनीतिक मुद्दा बनाउँछन्। श्रीमान्ले साथ दिनुभएकाले यस्ता समस्या झेल्न सकेकी छु।”
पुरुषप्रधान समाजमा घरव्यवहार पुरुषले सम्हाल्दा हेयभावले हेर्ने प्रवृत्ति रहेकोमा यो जोडी खिन्नता प्रकट गर्छ। आफू घरायसी काममा लागिरहँदा समाजले भने त्यो समयको मूल्याङ्कन नगर्ने बरु घरमा बस्दा विभिन्न प्रश्न आउने गरेको महेश सुनाउँछन्। “पुरुषले घरमा काम गर्न नसुहाउने धेरैको भनाइ सुन्नुपर्छ, श्रीमतीले कसरी समाजमा योगदान दिइरहेकी छिन् र त्यसमा श्रीमान्ले कस्तो सहयोग गरेका छन् भन्ने हेक्का नै राखिंदैन,” उनी भन्छन्।
सहयोगी श्रीमान् पाएकाले आफू राजनीतिमा लाग्न सकेको उदयपुरको रौतामाई गाउँपालिकाकी उपाध्यक्ष कुमारीज्यू ठकुरी (३७) को अनुभव छ। उनी भन्छिन्, “अरू महिलालाई भन्दा राजनीतिमा लागेका महिलालाई श्रीमान्को सहयोग धेरै आवश्यक हुन्छ। सानो सहयोगदेखि आर्थिक सहयोग पनि श्रीमान्बाटै हुँदा काम गर्न सहज हुन्छ।”
उनका श्रीमान् भुवन क्रियाशील राजनीति छोडेर घरव्यवहारमा लागेका छन्। श्रीमतीले राजनीतिमा लाग्ने इच्छा देखाएपछि उनले हौस्याउँदै साथ दिए। उनीहरूका एक छोरी र एक छोरा छन्। छोरीको विवाह भइसके पनि छोरा सानै भएकाले हेरचाहमा समय दिनुपर्छ। घरायसी काम गर्दा शुरूमा कठिनाइ भए पनि बिस्तारै बानी परेको उनी बताउँछन्। “श्रीमतीलाई आफूले सकेको सहयोग गरे पनि त्यो अपुग भए झैं लाग्छ। पुरुषप्रधान समाज भएकाले महिला नेतालाई काम गर्न प्रोत्साहन गर्नुपर्छ,” उनी भन्छन्।
कुमारीलाई राजनीतिमा निरन्तर अगाडि बढ्न श्रीमान्सँगै सासू र परिवारका सबै सदस्यले हौसला दिने गर्छन्। पारिवारिक व्यवहार मिलाउन घरमा धेरै सदस्य भएकाले अप्ठेरो नभएको भुवन बताउँछन्।
महिलाले पुरुष नेताले जस्तो आर्थिक स्रोत जुटाउन नसक्ने र खाँचो पर्दा श्रीमान्कै भर पर्नुपर्ने बाध्यता पनि छ। यस कारण परिवारको सहयोग भएन भने अघि बढ्न नसकिने कुमारी बताउँछिन्। उनी भन्छिन्, “धेरै तारतम्य मिलाउनुपर्ने भएकाले परिवारको साथ भएपछि मात्र राजनीतिमा आउने र अन्य जिम्मेवारी वहन गर्ने कुरा आउँदो रहेछ।”