४५ वडाध्यक्षका लागि ६२ स्वतन्त्र उम्मेदवार
मुगुमा स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या अत्यधिक रहेको छ।
सोरु गाउँपालिका-१० की कांग्रेस नेत्री कमला थापा (आचार्य) वडाध्यक्षमा उम्मेदवारी दिन वैशाख १२ गते गाउँपालिका केन्द्र पुगिन्। तर, अन्तिम समयमा अर्कैले टिकट पायो।
“नेपाली कांग्रेसबाट मलाई वडाध्यक्ष उम्मेदवार बनाउने निर्णय भएको थियो। वडाध्यक्षमा उम्मेदवारी दिन गाउँपालिका केन्द्र पुग्दा त अर्कैलाई टिकट दिएछन्,” थापाले भनिन्, “अन्तिम समयमा पार्टीले अर्कैलाई टिकट दिएपछि मैले पनि गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएकी छु।”
सोरु गाउँपालिकामा मात्रै २५ जनाले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। यो गाउँपालिकामा ११ वडा छन्। सोरु-९ को वडाध्यक्षमा मात्रै चार जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ।
त्यस्तै, छायाँनाथ रारा नगरपालिका-१ का गेहेन्द्रशम्शेर मल्लले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। नेपाल विद्यार्थी संघका नेता २२ वर्षीय मल्लले पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएको बताए।
“पार्टीमा नातावाद, कृपावाद चल्यो, नेताका गुट-उपगुटकै मान्छेलाई टिकट बाँडियो,” उनले भने, “त्यसको विरोधमा स्वतन्त्र उम्मेदवारी दिएको हुँ।”
त्यस्तै, खत्याड गाउँपालिका-३ का ७८ वर्षीय रंगे टमटाले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। कांग्रेस खत्याड गाउँ कार्यसमितिका पूर्व सभापति समेत रहेका उनले यस पटक पनि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएको बताए।
“२०७४ सालको चुनावमा पनि टिकट दिएन। अहिले पनि अर्कैलाई दियो,” टमटाले भने, “यो उमेरमा पनि पार्टीको काममा खटिइरहेको छु। जहिल्यै जिल्लाका नेताले पेले, जति काम गर्दा पनि टिकट नपाउने भएपछि स्वतन्त्र उम्मेदवारी दिएको हुँ।”
स्वतन्त्र उम्मेदवारी दिनेमा धेरैजसो कांग्रेसका स्थानीय नेता छन्। जिल्ला नेताहरूले आफ्ना मान्छेलाई मात्रै टिकट दिएकाले स्वतन्त्र उम्मेदवारी दिनेको सङ्ख्या बढेको नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष देवेन्द्र रावलले बताए।
उनले पनि छायाँनाथ रारा नगरपालिका-५ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। रावल भन्छन्, “मेरो स्वतन्त्र उम्मेदवारी पार्टीको विरोधमा नभएर गलत प्रवृत्तिको विरोधमा हो।”
मुगुका चार स्थानीय तहमा ४५ वडा छन्। वडाध्यक्षका लागि मात्रै ६२ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार, चारै स्थानीय तहका २३३ पदका लागि ८५० जनाले उम्मेदवारी दिएका छन्। जसमा स्वतन्त्र उम्मेदवारको सङ्ख्या विगतका निर्वाचनको तुलनामा अत्यधिक रहेको छ। विगतका निर्वाचनमा प्रायः एक-दुई जनाले मात्रै स्वतन्त्र उम्मेदवारी दिने गरेका थिए।
यस पटक चार वटा गाउँपालिकाको अध्यक्षमा आठ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। त्यस्तै, उपाध्यक्षमा पनि ६ जना स्वतन्त्र उम्मेदवार छन्।
वडाध्यक्षमा स्वतन्त्र रूपमा धेरैको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी धनकृष्ण बडुवालले बताए। स्वतन्त्र उम्मेदवारी दिनमा युवादेखि ज्येष्ठ नागरिकसम्म छन्।
जिल्लामा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावमा भाग लिएका छन्। कांग्रेससँगै अन्य पार्टीका स्थानीय नेताले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्।
गत पाँच वर्षमा गाउँमा वडाध्यक्षको शक्ति देखेर पनि धेरैले उम्मेदवार बन्न खोजेका छन्। पार्टीले टिकट नदिएपछि उनीहरूले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
निर्वाचन आयोगका अनुसार, देशभर १२ हजार ७२० जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। जबकि, ३५ हजार २२१ पदका लागि निर्वाचन हुँदै छ।