गठबन्धनको विरोधमा कांग्रेस कार्यालयमा तोडफोड, २३ कार्यकर्ता पक्राउ
नेपाली कांग्रेसका कार्यकर्ताले गण्डकी प्रदेश कार्यालयमा तोडफोड गरेका छन्। आफ्नै पार्टी कार्यालय तोडफोड गरेको आरोपमा २३ जना पक्राउ परेका छन्।
बिहीबार नाराबाजी गर्दै कांग्रेस कार्यालयमा पुगेका कार्यकर्ता तोडफोडमा उत्रिएका हुन्। कार्यालयमा तोडफोड गर्न थालेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रहरी उपरीक्षक रमेश थापाले बताए।
स्थानीय चुनावमा केन्द्रबाट गरिएको तालमेलको विरोधमा पोखरा महानगरपालिका वडा नंं. १८ र २४ का कांग्रेस कार्यकर्ता विरोधमा उत्रिएका थिए। नाराबाजी गर्दै प्रदेश पार्टी कार्यालय तोडफोड गरेको कांग्रेस गण्डकी प्रदेशका मुख्य सचिव प्रकाश बरालले बताए।
उनीहरूले कुर्सी र टेबल भाँचेको बरालले जानकारी दिए। “स्थानीय चुनावमा दुवै वडाबाट उम्मेदवारी मनोनयन गरिसकेका वडाका कांग्रेस नेतालाई पार्टीले उम्मेदवारी फिर्ता गरेर सत्ता गठबन्धनका दलसँग मिलेर जानुपर्ने भनेपछि कार्यकर्ता तोडफोडमा उत्रिएका हुन्,” उनले हिमालखबरसँग भने।
उनीहरूले गठबन्धन नगरी कांग्रेस एक्लै चुनावमा जानुपर्ने माग गरेका छन्। उनीहरूले सत्ता गठबन्धनबाट पोखरा महानगरका मेयर र उपमेयरका उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा पनि विरोध जनाएका थिए।