गभर्नर अधिकारको मुद्दा आज पनि टुङ्गिएन, भोलि अर्को पेशी
नेपाल राष्ट्र ब्यांकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा बिहीबार पनि छिनिएन। हेर्दाहेर्दैमा राखिएको रिट निवेदनमाथिको बाँकी छलफल शुक्रबार हुने भएको छ।
गत मंगलबार गभर्नर अधिकारीका तर्फबाट १२ जना र बिहीबार सरकारी पक्षबाट १३ जनाले बहस गरेपछि अर्को पेशी शुक्रबारका लागि तोकिएको हो।
बिहीबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासमा दुवै पक्षका वकीलले बहस गरेका थिए।
सरकारले आफूमाथि गठन गरेको जाँचबुझ समिति र निलम्बन विरुद्ध अन्तरिम आदेश माग गर्दै गभर्नर अधिकारी सर्वोच्च अदालत पुगेका थिए।
यसअघि न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले रिट निवेदनमाथि सुनुवाइ गर्दै तत्कालका लागि सरकारको निर्णय थाँती राख्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो। अदालतले छलफलका लागि दुवै पक्षलाई बोलाएको थियो।
अब शुक्रबार तोकिएको पेशीमा यसअघिको आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषय टुङ्गो लाग्ने अपेक्षा गरिएको छ।