हेटौंडाको पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-७ नागस्वतीस्थित पोल्ट्री फार्ममा बर्ड फ्लु देखिएको छ।
नागस्वतीका व्यवसायी राजन खतिवडाको आदर्श कुखुरा पोल्ट्री फार्ममा रहेका लेयर्स प्रजातिका कुखुरामा बर्ड फ्लु देखिएको भेटेरेनरी अस्पताल तथा पशुसेवा केन्द्रका प्रमुख डा. ब्रजकिशोर ठाकुरले बताए।
आदर्श खुकुरा फार्ममा चार हजार कुखुरा रहेका छन्। त्यसमध्ये एक सयभन्दा बढी कुखुरा मरेका थिए। त्यसपछि वैशाख ९ गते परीक्षणका लागि पठाइएको थियो।
पशुसेवा विभाग, काठमाडौंमा गरिएको नमूना परीक्षणमा बर्ड फ्लु भएको पुष्टि भएको डा. ठाकुरले बताए। त्यसको आसपासका कुखुरामा भने बर्ड फ्लु नदेखिएको उनको भनाइ छ।
बर्ड फ्लु पुष्टि भएसँगै अब फार्ममा रहेका खुकुरा नष्ट गरिने मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए। बर्ड फ्लु देखिएपछि बसेको बर्ड फ्लु नियन्त्रण समितिको बैठकले व्यवसायीलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको उनले जनाए।