आन्तरिक उडान ठप्प पार्ने वायुसेवा सञ्चालकको चेतावनी
वायुसेवा सञ्चालकले भोलिदेखि आन्तरिक उडान बन्द गर्ने चेतावनी दिएका छन्।
नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान योजना पेश गर्न निर्देशन दिएपछि वायुसेवा सञ्चालक संघ नेपाल विरोधमा उत्रिएको हो। प्राधिकरणले वैशाख १५ गतेबाट लागू हुने गरी बिहान ६ देखि राति १२ बजेसम्म आन्तरिक उडान गर्ने निर्णय गरेको थियो।
यसको कार्यान्वयनका लागि प्राधिकरणले बुद्ध, यती, गुण, श्री तथा सौर्य एयरलाइन्सलाई यसअघि स्वीकृत उडान तालिकालाई संशोधन गरी पठाउन पत्र पठाएपछि वायुसेवा सञ्चालक कम्पनीले विरोध जनाएका हुन्।
वायुसेवा सञ्चालकले बेलुकी ८ बजेपछि रात्रिकालीन उडान गर्न असम्भव रहेको भन्दै यसअघिकै स्वीकृत तालिकालाई मान्यता दिन प्राधिकरणलाई अनुरोध गरेका छन्। आफ्नो अनुरोध स्वीकार नगरी राति ८ बजेपछि आन्तरिक हवाई उडानको तालिका कायम राखेमा सबै आन्तरिक उडान सेवा बन्द गर्ने संघले चेतावनी दिएको छ।
प्राधिकरणले बुधबार वायुसेवा कम्पनीलाई पत्र लेखेर नयाँ उडान तालिकाबारे जानकारी गराएको थियो। तर, त्यस्तो तालिका अनुसार उडान कार्यान्वयन गर्न प्राविधिक समस्या रहेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।