चुनावका दिन सार्वजनिक बिदा दिन प्रस्ताव
निर्वाचन आयोगले चुनावका दिन सार्वजनिक बिदा दिन सरकारलाई प्रस्ताव गरेको छ।
वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ। चुनावका दिन यसअघि पनि बिदा दिने गरिएकाले यस पटक पनि सार्वजनिक बिदाका लागि प्रस्ताव गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए।
“चुनावका दिन देशभर सार्वजनिक बिदाका लागि मुख्य सचिव मार्फत नेपाल सरकारलाई आग्रह गरेका छौं,” सहायक प्रवक्ता अर्यालले भने।
यससँगै चुनावको समयमा विद्यालय पनि बन्द गर्न आयोगले आग्रह गरेको छ। धेरैजसो विद्यालयमै मतदान हुने भएकाले त्यसको तयारीका लागि आयोगले भौतिक रूपमा पठनपाठन रोक्न आग्रह गरेको हो।
“विद्यार्थी, शिक्षक र कर्मचारी आउँदा मतदान व्यवस्थापनमा अवरोध हुने भएकाले विद्यालय बन्दका लागि आग्रह गरेका हौं,” आयोगका सहायक प्रवक्ता अर्यालले भने।
भर्चुअल माध्यमबाट पठनपाठन हुन सक्ने विद्यालयमा भने पठनपाठन जारी राख्न सकिने आयोगले जनाएको छ।