एउटा मात्रै उम्मेदवारी पर्दैमा निर्विरोध भन्न मिल्दैन: निर्वाचन आयोग
स्थानीय तहको निर्वाचनमा एक जनाको मात्रै उम्मेदवारी परेका ठाउँमा अहिले नै निर्विरोध निर्वाचित भन्न नमिल्ने निर्वाचन आयोगले जनाएको छ।
केही स्थानीय तहका केही पदमा एक जनाको मात्रै उम्मेदवारी परेका छन्। एक जनाको मात्रै उम्मेदवारी परेको ठाउँमा निर्विरोध निर्वाचित भएका समाचार आइरहेको वेला निर्वाचन आयोगले भने अहिल्यै निर्वाचित भन्न नमिल्ने जनाएको छ।
बिहीबार नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले उम्मेदवार उपर छानबिन चलिरहेकाले अहिले निर्विरोध निर्वाचित भन्न नमिल्ने बताए।
“एक जनाको मात्रै मनोनयन दर्ता भयो भने सीधै निर्विरोध भन्न सक्दैनौं। कानूनको द्वारबाट छिर्न सक्नुपर्छ। दाबी विरोधबाट पास हुनुभयो भने मात्रै योग्य उम्मेदवार हुन्छन्,” अर्यालले भने, “अहिलेसम्म हामीले निर्विरोध भनेका छैनौं, निर्वाचन कानूनले भन्न पनि मिल्दैन। दाबी विरोधको प्रक्रिया सकिएपछि मात्रै निर्विरोध भन्न मिल्छ।”
आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको समय तोकेको थियो। त्यसपछि वैशाख १३ गते उम्मेदवारमाथि उजुरी आह्वान गरेको थियो। त्यसमाथि वैशाख १४ र १५ गते जाँचबुझको समय तोकिएको छ।
जाँचबुझ सकिएर उम्मेदवारको नामावली प्रकाशन भएपछि मात्रै निर्विरोध निर्वाचित भएको घोषणा हुने उनले बताए।