जंगबहादुरको मृत्यु स्वाभाविक कि हत्या?
साक्खै मामाको हत्या गरेर सत्ताप्राप्तिको बाटोमा पदार्पण गरेका जंगबहादुरकै पनि आफ्नै भाइ, भारदार र दरबारिया षड्यन्त्रमा पटक पटक हत्या प्रयास भएको थियो।
दरबारभित्रको काटमार र षड्यन्त्रपूर्ण राजनीतिबीच कुटिल चाल, पैतृक विरासत तथा दुस्साहसको आडमा सत्तारोहण गरी अधिनायक बन्न सफल भए, जंगबहादुर राणा। शक्तिशाली जनरल गगनसिंह र महारानी राज्यलक्ष्मीबीचको सल्लाहमा राजा राजेन्द्रले थमाएको बन्दूकबाट उनले तत्कालीन प्रधानमन्त्री तथा साक्खै मामा माथवरसिंह थापाको हत्या गरे। जंगबहादुरले आफ्ना तर्फबाट नेपालको राजनीतिलाई रगतले रङ्ग्याएको यो पहिलो घटना हो।
विसं १९०२ जेठ ६ को रात भएको माथवरसिंहको हत्या र रानीका अति विश्वासपात्र गगनसिंह १९०३ भदौ ३१ गते घरमै अज्ञात व्यक्तिको गोलीले मारिएको रहस्यमय घटनाले जंगबहादुरलाई सत्ताको सिंढी चढ्न सजिलो बनाइदियो। गगनसिंहको हत्यारा पत्ता लगाउन रानीको आदेशमा मच्चाइएको कोतपर्वले विपक्षीको संहार गर्न जंगबहादुरलाई यथोचित अवसर दियो। समयक्रममा उनी सर्वशक्तिमान् शासक बने।
कोतपर्वपछि दरबारभित्र जंगबहादुरको हत्या गर्ने गुप्त योजना बन्यो। छोरा रणेन्द्रलाई युवराज घोषणा गर्ने राज्यलक्ष्मीको चाहनालाई उनी वास्ता गरिरहेका थिएनन्। राज्यलक्ष्मीले सरकारमा नयाँ नेतृत्व ल्याउन जंगबहादुरको हत्या गर्न जरुरी ठानिन्। यसका लागि वीरध्वज बस्नेतलाई विश्वासपात्रका रूपमा पाइन्।
भण्डारखालमा भोज आयोजना गर्ने र त्यहीं बोलाएर जंगबहादुरलाई सिध्याउने योजना सफल भए विजयराजलाई राजगुरु वा राजपुरोहित बनाउने आश्वासन दिइयो।
वीरध्वज र राज्यलक्ष्मीबीच तामातुलसी छोएर भएको धर्मपत्र अनुसार वीरध्वजले जंगबहादुर, सुरेन्द्र र उपेन्द्रलाई मारेर रणेन्द्रलाई राजगद्दीमा राख्ने किरिया खाए। गगनसिंहका छोरा वजीरसिंहलाई पनि षड्यन्त्रमा सामेल गरियो। योजना सफल हुने बित्तिकै वीरध्वज प्रधानमन्त्री हुने पक्का गरियो।
जंगबहादुरका छोरा पद्मजंग राणाले लेखेको पुस्तक जंगबहादुरको जीवनयात्रा (२०७४ः८०-८४) मा यस सम्बन्धी ऐतिहासिक विवरण पढ्न पाइन्छ। वजीरसिंहले आफ्नो रेजिमेन्टका ४०/५० जना विश्वासीलाई भण्डारखालको चारै कुना र बगैंचाभरि लुकाएर राख्ने योजना रचे जसमा निजी शिक्षक पण्डित विजयराज पाण्डे पनि संलग्न थिए। भण्डारखालमा भोज आयोजना गर्ने र त्यहीं बोलाएर जंगबहादुरलाई सिध्याउने योजना सफल भए विजयराजलाई राजगुरु वा राजपुरोहित बनाउने आश्वासन दिइयो।
योजना अनुसार विजयराज जंगबहादुरलाई लिन उनको निवास गए। उनलाई देख्नासाथ जंगबहादुरले अपमानजनक लवजमा सोधे, ‘यहाँ किन आएको?’ यस्तो कडा आवाज सुनेपछि विजयराजलाई लाग्यो- जंगले सबै कुरा थाहा पाइसकेछन्। डरैडरमा उनले सबै भेद खोलिदिए।
त्यसपछि जंगबहादुरले विजयराजलाई हिरासतमा राखेर उनले बताएको कुरा सत्य भए राजगुरु पदवी दिने लालसा देखाए। अनि आफू प्रतिकारमा लागे। आफ्नो सेनाका ६ कम्पनीलाई तयार रहन आदेश दिए। भाइभतिजका साथ उनी भण्डारखाल लाग्दै गर्दा वीरध्वज उनलाई लिन आइरहेका थिए। आधा बाटैमा दुई जनाको भेट भयो। पूर्ण तयारीसाथ आएको जंगबहादुरको समूहले वीरध्वजलाई समातेर तत्कालै निःशस्त्र गरायो। जंगबहादुरको इशारामा कप्तान रणमेहर अधिकारीले वीरध्वजलाई टुक्राटुक्रा पारेर काटिदिए। त्यस काण्डमा २३ जनाको ज्यान गयो।
‘भण्डारखाल पर्व’ नामले चिनिएको विसं १९०३ कात्तिक शुदि १२ को यो घटनापछि जंगबहादुरले महारानी राज्यलक्ष्मीका सबै अधिकार कटौती गरी उनलाई काशीवास पठाए। जंगबहादुर सर्वशक्तिमान् प्रधानमन्त्री घोषित भए।
पोल खोल्नेको खलकलाई राजगुरु
भण्डारखाल पर्वपछि जसरी सर्वशक्तिमान् प्रधानमन्त्रीका रूपमा जंगबहादुर उदाए, उसै गरी राजगुरु खलकमा पाण्डेहरूको उदय भयो। जंगबहादुरलाई मार्ने योजनाको पोल खोलिदिने पाण्डे र उनका वंशजका भाइ (काकाका छोरा) का दरसन्तानले नै राजतन्त्र रहुन्जेल राजगुरु तथा धर्माधिकार चलाए।
नेपालको इतिहास अध्ययनका क्रममा राजदरबारका राजगुरु तथा पण्डितमा अर्ज्याल, खनाल, भट्टराई, पाण्डे, मिश्र तथा पौडेलहरू नियुक्त भएका पाइन्छन्। राम शाहको समयमा बगाले अर्जेल, विहारे अर्जेल, खनाल, भट्टराई थरका चार पुरोहित थिए। नरभूपाल शाहलाई मन्त्र सुनाउने गुरु गौरीश्वर पण्डित (पाण्डे) थिए।
नरभूपाल शाहकी आमा मल्लिकादेवी माइती तनहुँमै रहँदा गौरेश्वरले आफ्नो प्रभाव विस्तार गर्ने अवसर पाए। तनहुँबाट मल्लिकादेवी र नरभूपालका साथ छोरा गोकुलविलासलाई गोरखा प्रवेश गराउन उनी सफल भए।
पृथ्वीनारायण शाहको समयमा भने मिश्रहरूले राजगुरु चलाउने अवसर पाए। गोरखाको इतिहास, विजयराज पण्डित, इतिहास प्रकाशलाई उद्धृत गर्दै उनै राजगुरु खलकका सन्तति प्रकाश ए. राजले पुरातत्त्व विभागको मुखपत्र प्राचीन नेपालको सङ्ख्या १४५ (असार २०५७ः५०-५३) प्रकाशमा ल्याएको ‘नेपालका मूल पुरोहितहरू’ शीर्षक लेख पढ्दा राजगुरु खलकमा कश्यप गोत्रका पाण्डेकोे उदयबारे थाहा पाउन सकिन्छ।
विसं १८६१ माघ शुदि ५ मा सन्धि रुजु गर्ने काममा पण्डित रंगनाथ पण्डित (पौडेल), धर्माधिकार वाणीविलास (पाण्डे) र पुरोहित यदुनाथ अर्जेल थिए भन्ने उक्त लेखमा परेबाट नरभूपालपछि गीर्वाणयुद्धविक्रम शाहको समयमा मात्र पुरोहितका रूपमा पाण्डेहरूको राजदरबारमा पुनरागमन भएको देखिन्छ।
प्रकाश ए. राजले गौरीश्वरले नरभूपाललाई मन्त्र सुनाएको उल्लेख गरे पनि इतिहास शिरोमणि बाबुराम आचार्यले उनलाई मन्त्र सुनाउने काम गौरीश्वरका छोरा गोकुलविलास पाण्डेले गरेको जनाएका छन्। पाण्डे राजगुरु खलकको इतिहास खोतल्दा आचार्यले तनहुँका राजा दिग्विजय सेनको समयमा कुमाउँ, बरखोलाका सिद्ध कहलाएका लक्ष्मण नामका पाँडे ब्राह्मण केही काल तनहुँमा बसी त्यहाँकी एक ब्राह्मणीसँग विवाह गरी गौरेश्वर (गौरीश्वर) नामका पुत्रलाभ गरेपछि देश घुम्न गएको तर फर्किएर नआएको जनाएका छन्। पछि विद्यासम्पन्न उनका छोरा गौरेश्वर तनहुँका उत्तराधिकारी कामराजदत्त सेनका गुरु भई राजसभामा समेत घुसेर परामर्शदाता बनेको आचार्यले श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी (२०६१ः२१-२२) मा उल्लेख गरेका छन्।
उनका अनुसार, नरभूपाल शाहकी आमा मल्लिकादेवी माइती तनहुँमै रहँदा गौरेश्वरले आफ्नो प्रभाव विस्तार गर्ने अवसर पाए। तनहुँबाट मल्लिकादेवी र नरभूपालका साथ छोरा गोकुलविलासलाई गोरखा प्रवेश गराउन उनी सफल भए। उनै गोकुलविलासले नरभूपाललाई मन्त्र सुनाए। यसपछि बनारसबाट आएका मिश्र गुरुज्यू भने रुष्ट भए। तर, नरभूपालका पूर्ववर्ती राजा पृथ्वीपतिले धादिङ सलाङ गाउँ बिर्ता दिई एक छोरालाई गोरखामै बस्ने प्रबन्ध गरेपछि उनले चित्त बुझाए।
प्रकाश ए. राजले भने प्राचीन नेपालमा प्रकाशित पाण्डे राजगुरु खलकमा गौरीश्वरको वंशावलीमा उनीपछिको पुस्ता गोकुलविलास नभई जगन्निवास नाम उल्लेख गरेका छन्।
प्रकाशका अनुसार, विसं १८९८ को लालमोहरमा पुरोहित विद्यारण्यकेशरीका साथै तीर्थराज पण्डितको नाम उल्लेख छ। वंशावली अनुसार, तीर्थराज जगन्निवासका नाति वेणीप्रसादका छोरा हुन्। जगन्निवासका अर्का नाति नागेश्वरका छोरा विजयराज हुन्। विसं १८९८ तिरै तीर्थराज सहायक पुरोहितका रूपमा दरबार प्रवेश गरिसकेका थिए।
भण्डारखालमा भोजमा बोलाएर मार्ने योजना विफल बनाए पनि जंगबहादुरको हत्या प्रयास रोकिएन। उनी आफू विरुद्धका सम्भावित सबै षड्यन्त्रप्रति सधैं सचेत रहन्थे।
भण्डारखाल पर्वपछि विजयराज शक्तिमा आए। तीर्थराज भने राजा राजेन्द्र र महारानी राज्यलक्ष्मीसँगै बनारसमा थिए। तीर्थराजले विसं १९०६ र १९१० मा पुरोहित पद पाएका थिए। यसरी विजयराज तथा तीर्थराज पाण्डेहरूले अर्ज्यालहरूलाई विस्थापित गरी राजगुरु खलकमा आफ्नो वंशजको वर्चस्व स्थापित गर्न सफल भएको देखिन्छ।
प्रकाश ए. राज चाहिं विजयराज पाण्डेका नाति ‘माहिला गुरुज्यू’ नामले प्रसिद्ध हेमराज पाण्डेका नाति हुन्।
कोतपर्वअघि रहस्यमय रूपमा मारिएका जनरल गगनसिंहको ढोकाटोलस्थित घर उनै राजगुरु खलकका सदस्यलाई प्रदान गरिएको थियो। इतिहासविद् महेशराज पन्तसँगको यो लेखकको संवाद (२०७७ मङ्सीर १६) अनुसार, गगनसिंहको उक्त घर ‘नाति गुरुज्यू’ नामले चिनिएका लोकराज पाण्डेलाई दिइएको थियो। उनी विजयराजका नाति हुन्। उक्त घर लोकराजका कान्छा छोरा विश्वराजको अंशमा परेको थियो। विश्वराजका नातिले अहिले यो घर अन्य व्यक्तिलाई बिक्री गरिसकेका छन्।
ससुरालीबाट हत्या प्रयास
भण्डारखालमा भोजमा बोलाएर मार्ने योजना विफल बनाए पनि जंगबहादुरको हत्या प्रयास रोकिएन। उनी आफू विरुद्धका सम्भावित सबै षड्यन्त्रप्रति सधैं सचेत रहन्थे।
माथवरसिंहको हत्यापछि निर्वासनमा रहेका चौतारिया खलकका फत्तेजंग शाहलाई बनारसबाट झिकाई प्रधानमन्त्री बनाइयो। तर, कोतपर्वमा फत्तेजंग शाह सहित ३२ जनाको ज्यान गयो। २६ जना भागेर बाँचे। दुई जना बाहुन मुढिए। २६ जना निष्कासित भए। फत्तेजंगका भाइ चौतारिया गुरुप्रसाद शाह लगायत चार जना राजधानीमा नभएकाले बाहिरबाटै भाग्न सफल भएको इतिहासविद् ज्ञानमणि नेपालको नेपालको महाभारत (२०५२ः२५७-२६०) मा उल्लेख छ।
चौतारिया गुरुप्रसाद बनारस पलायन भएका थिए। राज्यलक्ष्मीको काशीवास तय भएपछि राजा राजेन्द्र पनि राजगद्दी सुरेन्द्रलाई सुम्पेर रानीकै पछि लागे। उनको काशीमा गुरुप्रसादहरूसँग साँठगाँठ नहुने कुरै भएन। त्यस अनुसार केही व्यक्तिलाई काशी (बनारस) बाट जंगबहादुरको हत्या गर्न नेपाल पठाइएको थियो। उनले यो योजना पनि विफल पारिदिए। पुरातत्त्व विभागको मुखपत्र प्राचीन नेपालको सङ्ख्या ८९ (भदौ-असोज, २०४२ः३-५)मा प्रकाशित इतिहासविद् ज्ञानमणि नेपालको लेख ‘जंगबहादुरप्रति दगा र गोठु बस्नेतको अवज्ञा’ मा यसबारे ऐतिहासिक तथ्य पढ्न पाइन्छ।
जंगबहादुरको हत्या गर्न गगनसिंहको हत्यारा भनी चिनिएका वा चिनाइएका लाल झा र दातृ पाध्यालाई पठाइएको थियो। मुख्य योजनाकार चौतारिया गुरुप्रसाद र जगतबम पाँडे थिए। तर, लाल झालाई कुम्भेदान बनाउने भनी फकाएर सबै बकाइयो। उनले पोलेका जति पक्राउ परे। झाको भने जेल परेको तीन/चार दिनपछि मृत्यु भयो।
जंगबहादुरले आफू विरुद्ध षड्यन्त्र गर्नेलाई दमन गर्दै जाने क्रममा सेवकराम थापालाई ठिमीमा लुकेर बसेको अवस्थामा पक्राउ गरे।
यी सबैको बयान मुचुल्का बनाएर निर्वासनमा रहेका राजा राजेन्द्रलाई पठाइयो। गुरुप्रसाद र जगतबमले पनि आफूहरूलाई मार्न काशी पठाइएको भनी दुई जना मानिस खडा गरे।
जंगबहादुरले आफू विरुद्ध षड्यन्त्र गर्नेलाई दमन गर्दै जाने क्रममा सेवकराम थापालाई ठिमीमा लुकेर बसेको अवस्थामा पक्राउ गरे। उनले जंगबहादुरको हत्या गर्न भनी आउने सबैको नाम पोलिदिए। तिनीहरूमा चन्द्रवीर पुतुवार, बदलसिंह गुरुङ र गम्भीरसिंह गुरुङ प्रमुख थिए। तीमध्ये चन्द्रवीरको कान काटेर थुनामा राखियो। बाँकी दुई जनालाई भालाले घोचेर मारियो।
यो कुरा राजा राजेन्द्रलाई पनि जानकारी गराइयो। जंगबहादुरले यस घटनाका बारेमा राजेन्द्रलाई बडो धम्कीपूर्ण पत्र पठाएर हाँक दिएको देखिन्छ। नेपालको महाभारत (२०५२ः२७६-२७८) मा छापिएको विसं १९०४ जेठमा सुगौलीबाट राजा राजेन्द्रले पठाएको पत्रमा जंगबहादुरले पठाएको पत्रको हरफ उल्लेख हुँदा ‘तै मर्नु तै मर्नु जंगबहादुर मर्दा जिमि थर्काइ आगो पार्याको नजर होला दगामा भन्या गुलाम मर्न्या छैन’ भन्ने परेको छ।
यूरोप भ्रमणबाट फर्केर केही दिन भारतमा व्यस्त हुँदा पनि जंगबहादुरले आफूलाई मार्ने षड्यन्त्र भएको सूचना पाएका थिए। उनले काशी बनारसबाट गाजीपुरतिर जाँदा चौतारिया गुरुप्रसादले आफ्नो हत्या गर्न तीन जनालाई हतियार सहित पठाएको सूचना पाए। जंगबहादुरले यसबारे त्यहाँको प्रहरीमा लेखापढी गरेपछि कम्पनी सरकारले उनका लागि सुरक्षा गार्डको व्यवस्था गरिदिएको पुरुषोत्तमशमशेर जबराको पुस्तक श्री ३ हरूको तथ्य वृत्तान्त (२०६५ः८२) मा उल्लेख छ।
जंगबहादुरले उनै चौतारिया फत्तेजंग र गुरुप्रसाद शाहकी सहोदर बहिनी हिरण्यगर्भकुमारीलाई विसं १९१० माघमा नवौं पत्नीका रूपमा भित्र्याएका थिए। उनलाई जंगबहादुरले ‘बडामहारानी’ पद दिएका थिए। राणा (उहीः१९१) अनुसार शिकार यात्राकै क्रममा जंगबहादुरको १९३३ फागुन १६ गते निधन हुँदा उनी ‘सती’ गएकी थिइन्।
भाइकै षड्यन्त्र
जंगबहादुरको हत्या प्रयासमा ससुराली खलक मात्रै नभई, उनकै भाइबन्धु पनि लागे। यसमा उनकै साहिंला भाइ जनरल बद्रीनरसिंह सक्रिय भए। उनीहरूको योजनामा माहिला साहेब उपेन्द्रविक्रम शाहले तत्कालीन राजा सुरेन्द्रको समेत हत्या गर्ने तयारी थियो।
जंगबहादुरको हत्या प्रयासमा ससुराली खलक मात्रै नभई, उनकै भाइबन्धु पनि लागे। यसमा उनकै साहिंला भाइ जनरल बद्रीनरसिंह सक्रिय भए।
उक्त पक्षले जंगबहादुरका माहिला भाइ बमबहादुरलाई प्रधानमन्त्री बनाउने आश्वासन दिएको थियो। जंगबहादुरको बेलायत भ्रमणपछि बनेको यो योजनालाई स्वयं बमबहादुरले उनको कानमा पुर्याइदिए। त्यसपछि जंगबहादुरले आफ्ना भाइहरूलाई कडा सजाय दिंदै षड्यन्त्र विफल बनाइदिए।
यस सम्बन्धी ऐतिहासिक तथ्य पुरुषोत्तमशम्शेर जबराको पुस्तक श्री ३ हरूको तथ्य वृत्तान्त (२०६५ः८४-८७) मा पढ्न पाइन्छ।
घटना अनुसार, बेलायतबाट फर्केका जंगबहादुरलाई भेट गर्न बमबहादुर थापाथली पुगे। सन् १८५० फेब्रुअरी १६ (विसं. १९०६ फागुन ७ गते) को रात थियो त्यो।
दुई दाजुभाइ आगो ताप्दै कुराकानी गरिरहेका वेला अचानक बमबहादुर रुन लागे। जंगबहादुरले उनलाई कारण सोधे। बद्रीनरसिंहहरूले भोलिपल्ट (फागुन ८ गते) जंगबहादुरको हत्या गर्ने योजना बनाएको उनले बताइदिए। वसन्तपुर दरबारबाट जंगबहादुर फर्कंदा साहिंला भाइ जनरल बद्रीनरसिंह, सेकेन्ड जनरल जयबहादुर कुँवर (काकाका छोरा) र करवीर खत्री मिलेर हत्या गर्ने योजना थियो।
जंगबहादुरको गाथ ढल्नासाथ माहिला साहेव उपेन्द्रविक्रमले राजा सुरेन्द्रविक्रमको हत्या गरी राजगद्दीमा आफू बस्ने, बमबहादुरलाई प्रधानमन्त्री बनाउने र बद्रीनरसिंहले कमान्डर इन चीफ चलाउने तारतम्य मिलाइएको थियो। जयबहादुर कुँवर र करवीर खत्रीलाई पनि उचित जिम्मेवारी दिने आश्वासन थियो।
योजना बुन्न करवीर खत्री प्रमुख रूपमा सक्रिय थिए। उनी जंगबहादुरसँगै बेलायत यात्रा गरी फर्केका थिए। उनैले जंगबहादुरले हिन्दू भएर पनि यूरोपियनहरूसँग खानपिन गरेको र बेलायत-फ्रान्समा रहँदा त्यहाँका महिलासँग संसर्ग गरेको पोल खोलेका थिए। जातबाट बाहेक गर्न नसकिने हुँदा उनको हत्या नै गर्नुपर्ने निष्कर्ष निकाल्दै योजनामा सरिक हुन बमबहादुरलाई पनि बद्रीनरसिंहको घरमा बोलाई किरिया खुवाइएको थियो।
यस्तो पोल खुलेपछि जंगबहादुरले षड्यन्त्रमा सामेल हुनेहरूलाई आफ्नै अन्य विश्वासी भाइहरूको साथ पल्टन लगाएर पक्राउ गरे। त्यसपछि बोलाइएको कचहरीमा उनीहरूलाई विभिन्न सजायको माग भएको थियो। कसैले उनीहरूलाई मृत्युदण्ड दिनुपर्ने माग गरे। कसैलाई तातो फलामले डाम्नुपर्ने, कसैलाई पिंजडामा कैद गरी औलो लाग्ने ठाउँमा राख्नुपर्ने, झूट कुरा बोल्नेको जिब्रो काटिदिनुपर्ने जस्ता माग उठे।
जंगबहादुरको हत्या गर्ने घोषणा सहित कार्यान्वयनका लागि सैन्य संगठन समेत निर्माण गरिएको थियो। यस्तो काम गोरखा बुङ्कोटका बासिन्दा तथा भूतपूर्व सैनिक लखन थापा मगरले गरेका थिए।
उनीहरूलाई कस्तो सजाय दिने भन्नेमा ब्रिटिश भारत सरकारको निर्णयको पनि प्रतीक्षा भयो। तर दुई महिनासम्म कुनै जवाफ आएन। त्यतिन्जेल उनीहरूलाई जेलमा राखियो र कम्पनी सरकारको जवाफपछि इलाहावाद जेलमा पाँच वर्षको कैदको फैसला सुनाइयो। करवीरलाई भने चारपाटा मुडेर ‘जात पतित’ गराइयो।
खुलेआम हत्या गर्ने घोषणा
जंगबहादुरको खुलेआम हत्या गर्ने घोषणा सहित कार्यान्वयनका लागि सैन्य संगठन समेत निर्माण गरिएको थियो। यस्तो काम गोरखा बुङ्कोटका बासिन्दा तथा भूतपूर्व सैनिक लखन थापा मगरले गरेका थिए। लखन आफूलाई राम शाहकालीन सिद्ध लखन थापाको अवतार ठान्थे र आफूलाई जंगबहादुर राणाको हत्या गरी नेपालमा सुनौलो युगको शुरूआत गर्ने आज्ञा मनकामनादेवीले दिएको प्रचार गर्थे। जंगबहादुरको हत्या गर्न उनले हातहतियार पनि जुटाएका थिए।
लखनको विद्रोह दबाउन देवीदत्त पल्टन खटाउनुपरेको थियो। उक्त विद्रोह दमनका विषयमा प्राप्त सरकारी सैन्यहरूको बयान रेग्मी रिसर्च सेरिजको वर्ष १२ अङ्क ५ (डिसेम्बर १९८०ः७२-७५) मा प्रकाशित छ। विसं १९३२ चैत शुदि १ को लखन र सहकर्मीलाई पक्राउ गरिएको उल्लेख रहेको उक्त बयानमा उनले शिकार खेल्न तार्कु वा मनाङबेसी (लमजुङ) आएका वेला जंगबहादुरको हत्या गर्ने योजना बनाएको जनाइएको छ।
यस बापत लखन र उनका मुख्य सहकर्मीलाई मृत्युदण्ड दिइयो। यसरी अनेक हत्या प्रयासलाई विफल तुल्याउँदै जहानियाँ निरङ्कुश शासनको बीउ रोप्न सफल जंगबहादुरले शिकारको समयमा पत्थरघट्टामा प्राण त्याग गरे।
जङ्गबहादुरको मृत्युबारे पारिवारिक बयान
जीवनको अन्तिम समयतिर शिकार यात्रामा गएका जंगबहादुरले त्यहाँ दुई महीना २० दिन बिताए। उनले विसं १९३३ मङ्सिर २५ गते काठमाडौं छाडेका थिए। पहिलो क्याम्प थानकोटमा बस्यो। त्यसपछि मार्खु, सुपारीटार र हेटौंडातिर बढ्यो। जमुनिया, पत्थरघट्टा, अधमरा हुँदै शिकार यात्रा अगाडि बढाएका उनी यसै क्रममा मगरटार, जनकपुर, धनुषा, कमलानदीको किनार, मुकी नदीको किनार, बहुरिया, नयाँ गाउँ हुँदै बालम गाउँ पुगे।
त्यसपछि माहौलिया गए। बहिरी भन्ने गाउँमा फागुन १५ गते राखिएको शिकार क्याम्प अन्तिम बन्न पुथ्यो। उनले मयूर मार्न बन्दूकको निशाना लगाउनै सकेनन्, बरु आँखा कमजोर रहेको महसूस गरे (पुरुषोत्तमशमशेर जबरा, श्री ३ हरूको तथ्यवृत्तान्त -२०६५ः१८२-१८४)।
जंगबहादुरलाई पालकीमा राखेर पत्थरघट्टा, बागमतीतिर लगियो। त्यहाँ पुग्दा मध्यरातमा उनले प्राण त्यागे।
उक्त दिन उनले एउटा असाध्यै बलियो र सुन्दर बाघ देखेका थिए। सम्भवतः उनको जीवनीमा वर्णन गरिए अनुसार त्यो नै ‘सेतो बाघ’ थियो।
त्यसपछि दोस्रो क्याम्पका लागि बिगुल बज्यो। तर, अचानक जंगबहादुरलाई झाडापखालाले समात्यो। हनहनी ज्वरो आयो। छिनमै गर्मी हुने र छिनमै जाडो हुने गरी बिरामी परे। उनको स्वास्थ्य खराब भएपछि बिगुल फुकाउन बन्द गरियो। मान्छे चिन्न समेत छाडे। कृष्णगोविन्द नामका वैद्यले उनको नाडी हराउँदै गएको जानकारी दिए। जेठी महारानीले ओठ फुकाएर चम्चाले अष्टमण्डप नामको उत्तेजक औषधि पिलाउने प्रयास गर्दा उनले दाँत बाँधिसकेका थिए। अब उनी सिकिस्त भएको खबर रणोद्दीपसिंहकहाँ पुर्याउन मानिस दौडाइयो।
जंगबहादुरलाई पालकीमा राखेर पत्थरघट्टा, बागमतीतिर लगियो। त्यहाँ पुग्दा मध्यरातमा उनले प्राण त्यागे। तीन दिनपछि जनरल रणोद्दीपसिंह, जनरल धीरशमशेर लगायत भाइ-छोरा पत्थरघट्टा आइपुगे। यतिका दिन उनको लाश रूख काटेर नाउ जस्तो बनाई त्यसमा खरानी राखी सुगन्धित तेल-कपूर र अत्तर छरेर राखियो। काठमाडौंबाट भाइ छोराहरू आइपुगेपछि दाहसंस्कार गरियो (पद्मजङ्ग राणा, जङ्गबहादुरको जीवनयात्रा -२०७४ः२८७-२८९)।
इतिहासविद् दिनेशराज पन्तले इतिहासप्रधान पत्रिका पूर्णिमाको पूर्णाङ्क ३३ (भाद्र २०३२ः४६) मा गरेको तिथि विश्लेषण अनुसार जंगबहादुर राणाको मृत्यु विसं १९३३ फागुन १६ गते (फागुन शुक्ल द्वादशी उप्रान्त त्रयोदशी) मा भएको हो।
यसरी हेर्दा जंगबहादुरकै साहिंला छोरा पद्मजङ्ग राणाको लेखाइ अनुसार अचानक बिरामी भएर एकै दिनको व्यथाले शिकार यात्राकै वेला उनले प्राण त्यागेको देखिन्छ। तर के जंगबहादुरको मृत्यु स्वाभाविक ढङ्गले भएको हो त?
एउटा अनुश्रुति
जंगबहादुरको मृत्युबारे एउटा अनुश्रुति पनि पाइन्छ। यस अनुसार शिकार क्षेत्रमै पर्ने गाउँकी मगर महिलासँग जंगबहादुर आसक्त भए। उनले ती महिलालाई जबर्जस्ती आफ्नो शिविरमा ल्याई पत्नी बनाए।
आफ्नी पत्नी खोसिएपछि विह्वल बनेका मगर युवा प्रतिशोधको आगोमा जल्न थाले। उनले एउटा यस्तो खुकुरी बनाए कि हरेक दिन त्यसमा धार लगाउन थाले। उनी खुकुरीको धारलाई आकाशतर्फ फर्काएर हावामा सुतीको कपडा फ्याँक्थे। जब त्यो कपडा खुकुरीको धारमा पर्थ्यो, सर्लक्कै दुई टुक्रा हुन्थ्यो।
जंगबहादुरको लाश कपडाले मोरेर बाकसमा राखियो। उनीसँग ‘सती’ जाने पत्नीहरूले उनको मुख हेर्न चाहे पनि त्यसो गर्न दिइएन।
एक दिन उनी जंगबहादुरको शिकार क्याम्पमा पुगे र आफू अन्यायमा परेको बताए। उनले जंगबहादुरलाई आफ्नो माग सुनाए, ‘महाराज, म अन्यायमा परें, मेरी स्वास्नीलाई जबर्जस्ती लैजाने जार काट्न पाऊँ।’
‘जा काट्,’ जंगबहादुरबाट मगर युवाले आदेश पाए। त्यसपछि ती मगरले कम्मरबाट खुकुरी निकालेर जंगबहादुरलाई नै प्रहार गरे। यसरी जंगबहादुरको मृत्यु हुन पुग्यो। तर, यो विवरणलाई पुष्टि गर्ने कुनै लिखत नभेटिएकाले अनुश्रुतिमै सीमित छ।
जंगबहादुरको हत्या बोगटी क्षेत्रीबाट?
अन्वेषक जनकलाल शर्माले भने जंगबहादुरको हत्या भएको उल्लेख गरेका छन्। बोगटी क्षेत्री थरका आठपहरियाले नै जंगबहादुरलाई गोली हानेको उनको जिकिर छ। शर्मा (जोसमनि सन्त परम्परा र साहित्य -२०५२ः६६-६७) का अनुसार भारदारहरूमा कोतपर्वको गन्ध गइसकेको थिएन, आपसमा पेचापेच चलेकै थियो।
एकले अर्काको विश्वास गर्दैनथ्यो। नेपालको शाही परिवार पनि आफ्नो प्रभुसत्ता जंगबहादुरको हातमा गएकाले फिर्ता लिन भित्रभित्रै योजना बनाउँदै थियो। यस काममा युवराज त्रैलोक्य सक्रिय थिए। तर, जंगबहादुरको जालबाट उनी उम्कन सकेका थिएनन्, केवल छटपटाएर रहन्थे।
यस्तो वातावरणमा जंगबहादुरका भाइहरू पनि प्रधानमन्त्री बन्न लालायित भएर पर्खिरहेका थिए। उनीहरू जंगबहादुरको हत्या गर्न चाहन्थे र मौकाको खोजीमा थिए।
जीवनभर गरेको मनुष्यको शिकारले उत्पन्न मानसिक द्वन्द्व मेट्न जंगबहादुर पशु शिकारका लागि मधेशतिर झरे। शिकार खेल्दै बागमतीको किनार पत्थरघट्टातिर चारकोश झाडीमा पुगे। फागुन महीना लागिसकेको थियो। गर्मी शुरू भइसकेको थियो। जंगबहादुर अन्तिम समयमा एउटा राम्रो बाघ मारेर शिकारको विसर्जन गरी काठमाडौं फर्कन चाहन्थे। अन्तिम शिकार बडो धुमधामसाथ आयोजना गरियो।
पक्का शिकारीहरू छानेर जंगबहादुर क्याम्पबाट जङ्गलतिर लागे। शिकारीहरूले बाघलाई चारैतिर घेरा दिए। तर, आठपहरिया बोगटी क्षेत्रीले बाघलाई हान्ने निहुँ गरेर जंगबहादुरको छातीमा गोली ठोक्यो। शिकारसँगै उनको इहलीला पनि विसर्जन भयो। जंगबहादुरको यस हत्याकाण्डले त्यहाँका कुनै व्यक्ति विचलित भएनन्। किनकि, शिकारमा संलग्न ८२ जना नै जंगबहादुरको हत्या गर्ने योजनामा सामेल थिए।
भनिन्छ- माथि उल्लिखित सबै व्यक्तिले पहिले जंगबहादुरको हत्या गर्ने र रहस्य कतै नखोल्ने भन्दै रगतको सहीछाप गरेका थिए। त्यसैले जंगबहादुरको मृत्यु एउटा सेतो बाघद्वारा भएको प्रचार गरियो। साथै, उनको लाश कपडाले मोरेर बाकसमा राखियो। बाकस नखोलीकनै उनको दाहसंस्कार गरियो। जंगबहादुरसँग ‘सती’ जाने पत्नीहरूले उनको मुख हेर्न चाहे पनि त्यसो गर्न दिइएन।
जंगबहादुरको मृत्यु सम्बन्धी शर्माको यो रहस्योद्घाटनको थप अनुसन्धान हुन जरुरी छ। यसले प्रश्न उब्जाउँछ- शिकार यात्रामा निस्केका जंगबहादुर मरे कि मारिए?