बागी उम्मेदवारी फिर्ता लिन देउवाको अपील
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बागी उम्मेदवारी फिर्ता लिन आफ्ना नेता तथा कार्यकर्तालाई अपील गरेका छन्।
बिहीबार देउवाले अपील जारी गर्दै गठबन्धनका उम्मेदवारलाई सघाउन आग्रह गरेका छन्। उनले भनेका छन्, “देशभरका स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र वडाध्यक्ष, सदस्य पदमा पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका पार्टीका साथीहरूले देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आकलन गरी आआफूले दर्ता गराउनुभएको स्वतन्त्र उम्मेदवारी निर्वाचन आयोगले तोकेको समय (२०७९ वैशाख १६ गते बेलुकी ५ बजेभित्र) सम्बन्धित तहको निर्वाचन अधिकृतको कार्यालयमा गई फिर्ता लिइदिनुहुन र पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण सक्रियताका लागि हार्दिक अपील गर्दछु।”
कतिपय योग्य व्यक्तिले टिकट नपाएको उनले चिन्ता जनाएका छन्। “एउटा योग्य साथी एउटा पदमा उम्मेदवार बन्दै गर्दा अर्को उत्तिकै योग्य साथीले त्यो अवसर नपाइरहेको स्थितिप्रति म जानकार छु,” देउवाले भनेका छन्, “तर पार्टीको विजयका लागि ‘साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी’ भन्ने उच्चतम भावना राख्न र नेपाली कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठबन्धनका दलहरूसँग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपील गर्दछु।”
उनले लोकतन्त्रलाई मजबूत बनाउन पाँच दलीय गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको औंल्याएका छन्।
देउवाले अपीलमा भनेका छन्, “मुलुकमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था, नयाँ संविधानको रक्षा तथा लोकतन्त्रका आधारभूत मूल्यमान्यताको संरक्षण र सुदृढीकरण गर्न तथा लोकतन्त्र विरोधी र संविधानलाई कमजोर बनाउन सक्रिय प्रवृत्तिलाई परास्त गरी देश, संविधान र गणतन्त्रलाई जोगाउन मुलुकमा लोकतान्त्रिक र परिवर्तनकारी शक्तिहरूबीच तालमेल र सहकार्य गरी मुलुकलाई राजनीतिक स्थायित्व र सहज निकास दिनुपर्ने यथार्थतालाई आत्मसात् गर्दै, प्रतिगमनलाई परास्त गरी राष्ट्रको सर्वाङ्गीण र अग्रगामी विकास र समृद्धिका लागि आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा पाँच दलबीच देशभर नै स्थानीय अवस्था अनुसार चुनावी तालमेल गर्ने र संविधान विरोधी तथा लोकतन्त्र विरोधी प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट परास्त गरी स्थानीय तहका निकायसम्म लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधार स्तम्भहरूलाई मजबूत बनाउनु आजको सर्वाधिक आवश्यकता हो।”