गाउँमा भिड्दै केन्द्रीय नेता
स्थानीय तहको निर्वाचनमा खोटाङका विभिन्न दलका केन्द्रीय नेता गाउँमा प्रतिस्पर्धा गरिरहेका छन्।
नेकपा (एमाले) बाट २५ वर्षअघि खोटाङको रतन्छा गाविसका अध्यक्ष भएका सनबहादुर राई अहिले वडा सदस्यमा प्रतिस्पर्धा गर्दै छन्। उनले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा साकेला गाउँपालिका–२ को वडा सदस्यको उम्मेदवार बनेका छन्।
यति वेला भने उनी जनता समाजवादी पार्टी (जसपा) बाट उम्मेदवार बनेका हुन्। एमाले छोडेका उनी जसपाको केन्द्रीय सदस्य छन्।
यसबीचमा सामाजिक कार्यमा पनि संलग्न भएका उनी दिक्तेल बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्ष भए।
जसपाकै जिल्ला अध्यक्ष टंक थापा पनि वडा सदस्यका उम्मेदवार बनेका छन्। उनले दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ को वडा सदस्यमा उम्मेदवारी दिएका हुन्।
यस्तै, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रविप्रकाश राई साकेला गाउँपालिको अध्यक्षमा उम्मेदवार बनेका छन्। उनी २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक उम्मेदवार बनेका थिए। गत निर्वाचनमा उनी प्रतिनिधि सभा सदस्यको दाबेदार थिए।
किन केन्द्र छोडेर गाउँमा आए? “आफ्नो भिजन कार्यान्वयनका लागि प्रधानमन्त्री, प्रदेशको मुख्य मन्त्री या स्थानीय सरकारको प्रमुख नै हुनुपर्ने रहेछ। प्रदेश वा संघको सांसद भएर मात्र नहुने रहेछ,” राई भन्छन्, “आफ्नो भिजन अनुसार काम गर्न गाउँपालिकामा उम्मेदवार बनेको हुँ।”
स्थानीय सरकार बलियो भए मात्रै लोकतन्त्र बलियो हुने उनको भनाइ छ। त्यसका लागि पनि उदाहरण बनेर देखाउन चुनाव लडिरहेको उनी बताउँछन्।
२०६४ सालमा संविधानसभा सदस्य बनेकी नेकपा (माओवादी केन्द्र) की नेत्री दुर्गाजयन्ती राई पनि स्थानीय तहमा उम्मेदवार बनेकी छन्। उनी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा मेयरको उम्मेदवार बनेकी छन्। उनी २०७० को संविधानसभा निर्वाचनमा पनि उम्मेदवार बनेकी थिइन्।
यो नगरपालिकामा सत्तारूढ गठबन्धनबीच तालमेल भएको छ। कांग्रेसको भागमा मेयर र माओवादीको भागमा उपमेयरको उम्मेदवार परेको थियो। तर, कांग्रेसमा टिकटको विवाद भएपछि उनले मेयरमा उम्मेदवारी दिएकी हुन्।
यस्तै, जसपाका प्रदेश सचिव एवं केन्द्रीय सदस्य सूर्यबहादुर राई पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरका उम्मेदवार बनेका छन्। उनी काममुखी शिक्षाको अभियन्ताका रूपमा परिचित छन्।
यसरी केन्द्रमा चुनाव लडेका नेता अहिले गाउँमा उम्मेदवार बनेका छन्। २५ वर्षअघि गाउँपालिका अध्यक्ष भएका एमालेका सनबहादुर राई अहिले वडा सदस्यमा भिडिरहेका छन्। उनी किन गाउँमा फर्किए त? राई भन्छन्, “राजनीति भनेको जनताको सेवा गर्ने हो। जनताको सेवा गर्न वडा सदस्यमा उम्मेदवार बनेको छु।”
उनी आवश्यकता अनुसार जुनसुकै ठाउँमा बसेर सेवा गर्नुपर्ने बताउँछन्। “पद सानो-ठूलो भनेर हुँदैन, काम गर्नुपर्छ,” राई भन्छन्, “अहिले त स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ। अझ वडा तहबाट राम्रो काम गर्न आवश्यक छ।”