उम्मेदवारहरूको नामावली आज प्रकाशन गरिंदै
स्थानीय तह निर्वाचनका लागि मनोनयन भएका उम्मेदवारहरूको नामावली आज प्रकाशन गरिंदै छ।
वैशाख ११ र १२ गते दर्ता भएका मनोनयन विरुद्ध परेका उजुरीको छानबिन गरी आज नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ। वैशाख १३ गते उजुरी दिने समय दिइएको थियो। उजुरीमाथि १४ र १५ गते जाँचबुझ गरी निर्णय गर्ने कार्यतालिका रहेको छ।
उम्मेदवारहरूको नाम फिर्ता र अन्मित नामावली प्रकाशन वैशाख १६ गते हुनेछ। १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ। चुनावको मिति वैशाख ३० गते तोकिएको छ।
आयोगका अनुसार‚ ७५३ स्थानीय तहमा ३५ हजार २२१ पदका लागि एक लाख ५२ हजार ४६५ जनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमा प्रमुखमा तीन हजार ४९४‚ उपप्रमुखमा दुई हजार १५६‚ अध्यक्षमा तीन हजार ३८७ र उपाध्यक्षमा दुई हजार ४०१ जनाको उम्मेदवारी दर्ता भएको छ।
यस्तै‚ वडाध्यक्षमा ३५ हजार २५५‚ महिला सदस्यमा २६ हजार ४४८‚ दलित महिला सदस्यमा २३ हजार ८४३ र सदस्य ५५ हजार ४७१ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ।