चितवनमा रातिदेखि लागेको आगो पाँच घण्टापछि नियन्त्रण‚ ६ वटा पसलमा क्षति
आगलागीबाट चितवनको भरतपुर महानगरपालिका-३ कमलनगरमा ६ वटा पसलमा क्षति पुगेको छ। तुलसीराम सापकोटाको चारतले घरको पहिलो तलामा आगलागी भएको हो।
बुधबार राति २ बजे लागेको आगो बिहीबार बिहान ७ बजे मात्र नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए। वडा प्रहरी कार्यालय, नारायणघाट‚ जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरीको टोली र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको अधिकारीले बताए।
आगो नियन्त्रणमा लिन भरतपुर महानगरपालिकाको एक, खैरहनी नगरपालिकाका दुई र नेपाली सेनाको एउटा दमकल प्रयोग गरिएको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए। आगालागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको उनले बताए।
आगलागीबाट विष्णुप्रसाद लामिछानेको एक्सप्रेस मोबाइल पसल, विष्णु आचार्यको दुर्गा इलेक्ट्रोनिक्स, वसन्त कार्कीको श्रीकृष्ण सप्लायर्स, शङ्कर सापकोटाको जुत्ता पसल, वासुदेव आचार्यको फेन्सी पसल र सूर्यमणि लामिछानेको फेन्सी पसलका सरसामान जलेर नष्ट भएको छ।