अपाङ्गता भएकाको चिन्ताः आफ्नो भोट कसरी सुरक्षित गर्ने?
एकाघरका सदस्य पनि फरक फरक राजनीतिक आस्थाका हुन सक्ने साथै निर्वाचन अधिकृतले पनि फरक विचार राख्ने हुँदा आफ्नो मत सुरक्षित हुनेमा अपाङ्गता भएकाहरूको चिन्ता छ।
स्थानीय तहको चुनाव नजिकिंदै गर्दा कास्कीको पोखरा महानगरपालिकाका शेरजंग गुरुङलाई लागिरहेको छ- आफ्नो भोट कसरी सुरक्षित गर्ने? यस पटक गोप्य मतदान गर्न पाउने आफ्नो अधिकार सुरक्षित हुन्छ कि हुँदैन? निर्वाचन आयोगले आसन्न स्थानीय चुनावमा अपाङ्गता भएकालाई भोट गर्न कस्तो व्यवस्था गर्ला?
शेरजंग दृष्टिविहीन हुन्। अघिल्लो चुनावमा भएको घटना सम्झिंदा चुनावमा समावेश नै हुन मन नलाग्ने उनी बताउँछन्। “भोट हाल्नु अघिसम्म सबै राजनीतिक दलका नेताले अङ्कमाल नै गर्न खोजे‚” शेरजंगले त्यो वेलाको घटना सुनाए‚ “भोट हालिसकेपछि कुहिरोको काग जस्तो एक्लो बनें। घर पुग्नै समस्या भयो।”
उनले अघिल्लो स्थानीय चुनावमा गाउँकै एक जनाको सहारामा मतदान गरे। तर‚ मतदान आफूले भनेको चिह्नमा नै भयो वा भएन भन्ने शङ्का लागिरहेको उनी बताउँछन्। “म पूर्ण दृष्टिविहीन छु। आफैं भोट हाल्न पाइनँ। गाउँकै दाइ हुनुहुन्थ्यो। उहाँले भोट हाल्न सहयोग त गर्नुभयो, तर ठ्याक्कै मैले भनेकोमा भोट हाल्नुभयो कि नाइ मैले मेसो पाइनँ,” शेरजंगले भने, “अन्तिममा मतपत्र भने मैले नै मतपेटिकामा खसालेको थिएँ।”
स्थानीय तह निर्वाचन ऐन २०७३ मा दृष्टिविहीन वा शारीरिक अशक्तता वा अरू कुनै कारणवश आफैं मत सङ्केत गर्न नसक्ने भए आफ्नो एकाघरको परिवारको सदस्यलाई साथमा लैजान वा मतदान अधिकृतले मत सङ्केत गर्न सक्ने व्यवस्था छ। तर, एकाघरका सदस्य पनि फरक फरक राजनीतिक आस्थाका हुन सक्ने साथै निर्वाचन अधिकृतले पनि फरक विचार राख्ने हुँदा मत सुरक्षित हुनेमा शेरजंग ढुक्क छैनन्।
त्यसैले आगामी स्थानीय चुनावमा प्रविधियुक्त भोटिङ मशिन प्रयोग गर्नुपर्ने उनको माग छ। शेरजंग भन्छन्, “मतदान गोप्य हुनुपर्छ। कसैको सहायतले भोटिङ गर्दा कसरी गोप्य हुन्छ?”
घरबाट मतदान केन्द्रमा जान समस्या, मतदान केन्द्रको झन्झटिलो प्रक्रिया साथै मताधिकार दुरुपयोग हुने डर शेरजंगको मात्र होइन, उनी जस्ता धेरै दृष्टिविहीनमा छ। पोखरा-१ बगरका अक्ष खड्गी पनि आफ्नो मत सुरक्षित हुनेमा शङ्का गर्छन्। पूर्ण दृष्टिविहीन उनी मतपत्रमा ब्रेललिपि हुनुपर्ने या डिजिटलाइज्ड भए मतदानमा दोस्रो व्यक्तिको सहयोग लिनुपर्ने बाध्यता हट्ने बताउँछन्।
“इच्छ्याएको व्यक्ति हुनुपर्यो‚ एकाघरका मान्छे पनि फरक राजनीतिक आस्थाका हुन्छन्, अधिकृतको पनि कसरी विश्वास गर्ने?” उनी भन्छन्‚ “आधुनिक युगमा डिजिटल माध्यमबाट भोटिङ गर्न पाइँदैन। अबको निर्वाचनमा दृष्टिविहीनले पनि गोप्य मतदान गर्न सक्ने व्यवस्था गर्नुपर्छ।”
शारीरिक अङ्ग वा प्रणालीमा भएको समस्या तथा कठिनाइका आधारमा दृष्टि सम्बन्धी अपाङ्गता, शारीरिक अपाङ्गता, सुनाइ सम्बन्धी अपाङ्गता, बौद्धिक अपाङ्गता, बहुअपाङ्गता, अटिजम, हेमोफिलिया, मनोसामाजिक र मानसिक गरी अपाङ्गतालाई १० प्रकारमा वर्गीकरण गरिएको छ। मतदान स्थलमा यी सबैले आआफ्नै किसिमका अवरोध झेल्न बाध्य भएको बताएका छन्।
पोखरा-१२ की दुर्गा चापागाईंको मेरुदण्डमा समस्या भएकाले सजिलै हिंड्डुल गर्न सक्दिनन्। मतदानका वेला सामाजिक रूपमा अपहेलित हुनुपरेको उनको अनुभव छ। “निर्वाचनअघि राजनीतिक दलका नेता, कार्यकर्ता गाडी लिएर घरमै आइपुग्छन्। आफ्नो पार्टीलाई मतदान गर्न सुझाउँछन्,” दुर्गा भन्छिन्, “मतदानअघि एक किसिमको माया, प्रेम मिल्छ। मतदान केन्द्र पुगेपछि झन्झट शुरू हुन्छ। मतदान सकिएर घर फर्किने वेला लिन आएका मान्छेले बेवास्ता गर्छन्।”
दुर्गा जस्ता अपाङ्गता भएकालाई मतपेटिकासम्म पुग्नै समस्या हुन्छ। ह्वीलचेयर प्रयोग गर्नेलाई मात्रै अपाङ्गता भएको ठान्ने गरिएको उनको गुनासो छ। दृष्टिविहीन, बौद्धिक अपाङ्गता लगायत पूर्ण अशक्त, अपाङ्गता भएकाहरूलाई अझ बढी समस्या हुने गरेको उनको भनाइ छ। मतदान केन्द्रमा निर्वाचन प्रक्रियाबारे जानकारी गराउन श्रवणशक्ति कमजोर भएका व्यक्तिहरूका लागि दोभाषेको व्यवस्था नभएको उनले बताइन्।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्मा पनि एकाघरका सदस्यहरू पनि राजनीतिक विचारमा फरक हुने भएको बताउँछन्। त्यसैले अपाङ्गता भएकाहरूको मत सुरक्षित गर्न अपाङ्गता भएकालाई वैकल्पिक रूपमा भोटिङ मशिनको व्यवस्था हुनुपर्ने उनको भनाइ छ। नेत्रहीन युवा संघ नेपाल कास्कीका अध्यक्ष सूर्यप्रसाद भट्टराईले पनि मतदानका वेला इच्छ्याएको व्यक्ति राख्नुपर्ने बताउँछन्।
दृष्टिविहीन, बौद्धिक अपाङ्गता लगायत गम्भीर खालका अपाङ्गता भएकालाई आफूले विश्वास गरेका जोसुकै सहयोगीबाट भोट हाल्ने व्यवस्था हुनुपर्ने उनीहरूको माग छ। तर‚ निर्वाचन कार्यालय पोखराका कार्यालय प्रमुख होमनाथ पराजुली कानूनमा उक्त व्यवस्था नभएको बताउँछन्।
“इच्छ्याएको व्यक्ति हुनुपर्ने माग धेरै आएको छ। तर, कानूनमै यस्तो व्यवस्था छैन। एकाघरका सदस्य वा निर्वाचन अधिकृतले मात्र मतदानमा सहयोग गर्न सक्छन्‚” पराजुली भन्छन्‚ “राजनीतिक दलहरू एकजुट भएर आएमा अपाङ्गता भएकाहरूको माग जस्तो व्यवस्था गर्न जोडबल पुग्छ।”
उनले यस पटकको चुनावमा पनि अपाङ्गता भएका व्यक्तिका लागि छुट्टै मतपत्र नबनाइएको बताए। कास्कीमा अपाङ्गता भएका व्यक्ति कति छन् भन्ने पनि निर्वाचन कार्यालयसँग तथ्याङ्क छैन। अध्यक्ष शर्माका अनुसार, गण्डकीमा करीब ९६ हजार अपाङ्गता भएका व्यक्ति छन्।