सामाजिक सञ्जालको भुलभुलैया
वास्तविक दुनियाँबाट टाढिंदै सामाजिक सञ्जालभित्रको गोलचक्करमा फसिरहेका प्रयोगकर्ताले खासमा मिडियाले आफूलाई प्रयोग गरिरहेको पाटो सोच्ने समय नै पाएका छैनन्।
दृष्टिविहीन फौजी कमिला एकअर्काले उत्पादन गर्ने ‘फेरोमोन’ पछ्याउँदै ओहोरदोहोर गर्छन्। तर, कुनै वेला फेरोमोनका पदचिह्नहरू एकआपसमा मिसिंदा भने कमिला झुक्किन्छन् र गन्तव्यमा पुग्नुको सट्टा एकै ठाउँमा आपसलाई पछ्याउँदै गोलचक्करमा घुमिरहन्छन्। सन् १९२१ मा अमेरिकी प्रकृतिवादी विलियम बीबीले ‘एन्ट मिल’ (कमिला घट्ट) को विशेषताको वर्णन गर्ने क्रममा कहीं नपुग्ने भुमरीमा फसेका यी फौजी कमिलामध्ये थुप्रै मर्ने र केही यो चक्करबाट फुत्किने र जङ्गलतिर लाग्ने उल्लेख गरेका छन्।
सामाजिक सञ्जाल बुझ्न, पढ्न र यसको प्रभावका विषयमा छलफल गर्न ‘कमिला घट्ट’ को यो सिद्धान्त सान्दर्भिक हुन सक्छ। सामाजिक सञ्जालभित्र छिरेका हामी यही व्यूहभित्र फसेर समर्थन वा विरोधका नाममा एकले अर्कोलाई पछ्याउने गोलचक्करमा घुमिरहेका छौं। आफूले भन्नु, बोल्नु वा लेख्नुपर्ने विषयभन्दा अरूका विषय पछ्याउँदै त्यसकै वरिपरि घुमिरहनु हाम्रो दिनचर्या बनेको छ।
यो चक्र अस्वाभाविक पक्कै होइन। किनभने, सामाजिक सञ्जाल शुरू हुनुभन्दा करीब ३० वर्षअघि नै दार्शनिक मार्शल माक्लुहान (सन् १९११-१९८०) ले भविष्यमा लोकप्रिय हुने नयाँ माध्यम विशेषतः विद्युतीय मिडियाको विषयमा सचेत गराएका थिए।
हामीलाई कतै विक्रेता र कतै उपभोक्ताका रूपमा चिनाइएको छ, कतै समर्थक त कतै विरोधीका रूपमा उभ्याइएको छ। खासमा ‘हामी’ कतै छैनौं, हाम्रो कुनै अस्तित्व छैन। तर, हामीलाई ‘हामी’ हुनुको, हाम्रो ‘आवाज’ को, समर्थन र विरोधको अर्थ छ भन्ने लागिरहेको छ।
भविष्यमा हामी सन्देश होइन, मिडिया/प्रविधिबाट प्रभावित हुनेछौं र माध्यम नै सन्देश बन्ने क्रममा प्रविधिले हामीलाई त्यही ठाउँमा पुर्याउनेछ, जहाँबाट यान्त्रिक प्रविधिले मानव सभ्यतालाई अगाडि बढ्न सघाएको थियो भन्ने उनको भनाइ थुप्रै सन्दर्भमा सत्य भइरहेको देखिन्छ।
वास्तवमा मानव समाज विकसित हुँदै गर्दा स्थापित भइरहेका मानवीय सम्बन्ध, व्यवहार, बोलीचाली र अन्तरक्रियाका बहुआयामिक पक्षहरूका विषयमा चिन्ता गर्ने समय आएको छ। एकअर्काप्रति अविश्वास पैदा हुने अवस्था सिर्जना भएको छ र आपसमा भेट्ने, घुलमिल हुने, अन्तरक्रिया गर्ने र आफ्नो धारणा बनाउने मानवोचित संस्कृतिभन्दा भिन्न भएर पूर्व धारणा बनाउँदै भेट्ने-नभेट्ने, सुन्ने-नसुन्ने, पत्याउने-नपत्याउने वातावरणको सिर्जना सम्भव भएको छ।
माध्यम र प्रविधि
मूलतः ‘माध्यम नै सन्देश’, ‘विश्व एक गाउँ’ तथा ‘इन्टरनेट’ को प्रयोग हुनुपूर्व नै यसको सम्भावना र प्रभावका विषयमा आफ्ना विचार राखेका कारण मार्शल माक्लुहान मिडिया अध्ययन क्षेत्रका लोकप्रिय र चाखलाग्दा प्राज्ञिक व्यक्ति हुन्। उनले मिडियाले पस्किने विषयवस्तु नभई मिडियाको अध्ययन महत्त्वपूर्ण हुने कुरामा जोड दिएपछि मिडिया अध्ययन क्षेत्र अझ बृहत् बनेको हो।
माध्यम र प्रविधिलाई विकल्पका रूपमा प्रयोग गर्न मिल्ने शब्दावलीका रूपमा व्याख्या गरेका माक्लुहानले मिडियम/प्रविधिले हामीलाई कसरी फैलिन वा विस्तारित हुन सघाएको छ भन्ने कुराको उदाहरण सहित व्याख्या गरेका छन्। प्रविधिका कारण हाम्रा इन्द्रियहरूले थप काम पाएका छन् र पहिलेभन्दा थप सक्रिय हुनुपरेको छ।
हाम्रो शरीरले जे गरिरहेको थियो वा जे गर्न सक्थ्यो त्यसमा परिवर्तन आएको छ र कतिपय क्षेत्रमा हामी अझ विस्तारित हुन पुगेका छौं। हामी हिंड्न सक्थ्यौं, तर मोटर, कार र जहाजसँगै अझै धेरै टाढासम्म पुग्न सक्ने भएका छौं। पत्रपत्रिका, रेडियो, टेलिभिजनका कारण हामी हिजो जे र जति पढ्न, सुन्न वा हेर्न सक्थ्यौं, त्यसभन्दा धेरै र टाढाका विषयवस्तु, आवाज र दृश्य पढ्न, सुन्न र हेर्न सक्ने भएका छौं।
धेरै विकल्प थपिएका छन् र तीबाट सीमित विकल्प रोज्नुपर्ने र प्रयोग गर्नुपर्ने अवस्था आएको छ। मिडिया, विषयवस्तु, विषयवस्तुको प्रस्तुतिको विकल्प पनि बढेको छ र सबैभन्दा महत्त्वपूर्ण कुरा ‘पाठकहरू’ ले मिडियाको विषयवस्तु नियन्त्रण गर्न सक्ने, मिडियामा आफ्नो ‘पाठ’ राख्न सक्ने र अरूको ‘पाठ’ लाई ‘सत्य/असत्य’ सावित गर्न सक्ने विकल्प र सामर्थ्य हासिल गरेका छन्।
यस अर्थमा सामाजिक सञ्जाल पाठकहरूको सबैभन्दा निकट, प्यारो र सबैभन्दा सक्रिय तथा व्यस्त रहने सामाजिक मञ्चका रूपमा लोकप्रिय बनेको छ। यसले लेख्ने, पढ्ने, बोल्ने, सुन्ने, हेर्ने, ‘छुने’ मानवीय शक्तिहरूलाई एकत्रित मात्र गरेको छैन, शक्ति र स्रोतमाथि नियन्त्रण र कब्जा गर्ने इतिहासदेखिको मानवीय स्वभावलाई सबल र सहज पनि बनाइदिएको छ।
शिलालेखन कुनै स्थानविशेषमा रहने भएकाले त्यसका सन्देश ताम्रपत्र, पाण्डुलिपिका तुलनामा स्थिर र सीमित समुदायमा रह्यो। यसमा पाठकले थपघट गर्न वा नियन्त्रण राख्न सकेनन्। लिएर हिंड्न सजिलो हुने भएकाले पाण्डुलिपिको उत्पादन, बिक्री, वितरण र उपभोगमा वृद्धि भयो, तर ‘कोडेक्स’ र मुद्रण प्रविधिको आगमनले पाण्डुलिपि प्रविधि विस्थापित मात्र भएन, लेख्ने र पढ्ने संस्कृति तथा सन्देशहरूको उत्पादन, वितरण र उपभोगको अर्थ-राजनीतिमा व्यापक परिवर्तन ल्याइदियो। कुनै सामग्रीलाई आफूले छुन पाउने, आफैंसँग राख्न पाउने, केरमेट गर्न पाउने र कतिपय सन्दर्भमा त्यसको नक्कल गर्ने वा ‘टीका’ निकाल्न सक्ने ‘नियन्त्रण’ र अपनत्व ग्रहण गर्न सक्ने अनेकौं सम्भावना बोकेर यो स्थापित भयो।
त्यसपछि रेडियो (सुन्ने), भिडिओ (हेर्ने तथा सुन्ने) माध्यमका रूपमा देखा पर्यो। तर, यी माध्यम पाठकको भन्दा पनि उत्पादकहरूको नियन्त्रणमा थियो र आम पाठकको सहभागिता र संलग्नता ‘निष्क्रिय पाठक’ का रूपमा ज्यादा थियो। यी मिडियाको विकास र विस्तारका क्रममै ‘विश्व एक गाउँ’ का रूपमा विकसित हुने र कहिल्यै कतै आपसमा नभेट्ने, नचिन्ने दर्शक-श्रोता कुनै माध्यमको प्रयोगबाट एक-अर्कामा जोडिने परिकल्पना गरिएको थियो।
इन्टरनेटको विकास र विस्तारसँगै अक्षर, श्रव्य र दृश्य तीन शक्तिहरू एकै ठाउँ र एउटै माध्यममा देखा परेपछि यो कल्पना सम्भव भयो। आफैंसँग हिंड्न सक्ने, विषयवस्तु आफैंले उत्पादन र वितरण गर्न सक्ने, अर्काले लेखेको वा राखेको कुरामा हस्तक्षेप गर्न मिल्ने र मानव शरीरका धेरै अङ्ग एकैसाथ सक्रिय हुन सक्ने/हुनुपर्ने विशेषताहरू मिडियामा थपिए।
सामान्यतः एउटा मिडिया/प्रविधि प्रयोग गर्ने वेलामा मानवीय अङ्गहरूले अर्को काम गर्दैनन् वा गर्न गाह्रो मान्छन्। जस्तैः पत्रिका पढ्दै गर्दा आँखा, रेडियो सुन्दा कान, टेलिभिजन हेर्दा आँखा र कान अन्यत्र मोडिन गाह्रो मान्छ। अर्थात्, कुनै मिडियम/प्रविधिले एउटा कुरा सहज बनाउँदै गर्दा अर्को काम गाह्रो बनाउन सक्छ।
इलेक्ट्रोनिक मिडिया
इलेक्ट्रोनिक मिडियाले हामीलाई आत्ममुग्ध बनाउने मात्र होइन, त्यो बनिरहेको थाहै नहुने वातावरण सिर्जना गर्नेछ भन्ने पूर्वानुमान त्यति गलत लाग्दैनन्। आफ्ना नाम र लेखका साइटेसन गुगलमा खोज्ने, फोटो, भिडिओमा लाइक, कमेन्ट, शेयर, रिट्वीट हेर्दै बस्ने, सेल्फीबाट मन्त्रमुग्ध बन्ने र मिनेट मिनेटमा आफ्ना बारेमा जानकारी दिन आवश्यक ठान्नुलाई सामान्य लत मात्र भन्न सकिंदैन।
यो इलेक्ट्रोनिक नशामा साँच्चै पढ्न भन्दा नपढेको कुरा शेयर गरेर पढेको देखिनु सहज छ। आफूले लेख्न चाहेको, भन्न खोजेको वा देखाउन खोजेको धेरै कुरा आफैंले लेखेर भन्नुभन्दा अरूले लेखेको कुरा शेयर गरेर मनको कुरा राख्न वा आफ्नो असन्तुष्टि व्यक्त गर्न सहज छ। सबै सूचना र जानकारी सत्य हुन जरुरी छैन, बरु आफूलाई सत्य लाग्न जरुरी छ।
हामी ‘हाम्रा’ कुरा मात्र बोल्छौं, सुन्छौं, हेर्छौं र कैयौं बोल्नुपर्ने, सुन्नुपर्ने र हेर्नुपर्ने विषयप्रति मौन रहन्छौं। अर्थात्, आफूलाई राम्रो लागेका वा मनका कुरा बाहेक अन्य कुरा बोल्न नजान्ने, सुन्न नचाहने, हेर्न मन नलाग्ने संस्कृतिबाट अभिशप्त छौं। हामीलाई मिडियाको प्रयोग गरेको भ्रम छ, तर मिडियाले हामीलाई प्रयोग गरिरहेको छ भन्नेतर्फ ध्यान दिने फुर्सद छैन।
हाम्रा प्रत्येक गतिविधिको निगरानी भइरहेको छ। प्रत्येक लेखाइ, हेराइ, सुनाइ र चलाइ कतै बेचिएको छ, कतै आम मानिसको धारणाका रूपमा बुझिएको छ र त्यसैका आधारमा मोलतोल चलिरहेको छ। हामीलाई कतै विक्रेता र कतै उपभोक्ताका रूपमा चिनाइएको छ, कतै समर्थक त कतै विरोधीका रूपमा उभ्याइएको छ। खासमा ‘हामी’ कतै छैनौं, हाम्रो कुनै अस्तित्व छैन। तर, हामीलाई ‘हामी’ हुनुको, हाम्रो ‘आवाज’ को, समर्थन र विरोधको अर्थ छ भन्ने लागिरहेको छ।
हामीले सामाजिक सञ्जालको प्रभावबाट प्रभावित नहुने क्षमता गुमाइसकेका छौं। इलेक्ट्रोनिक र मेकानिकल प्रविधिको पछाडि बसेर उनीहरूलाई प्रयोग गरिरहेका छौं भन्ने भ्रममा रहेका हामी खासमा तिनको दबदबामा परिसकेका छौं। हाम्रो अधिकांश समय चोरिदिन सक्ने अद्भुत क्षमता भएको प्रविधिलाई हामी उपेक्षा गर्न पनि सक्दैनौं।
यसैले सबैभन्दा सहज विकल्प हो, समय समयमा मिडिया/प्रविधि बदल्न सक्ने क्षमताको विकास गर्नु। किताब पढ्नुस्, गीत सुन्नुस्, फिल्म हेर्नुस्, इन्टरनेट चलाउनुस्। मिडिया/प्रविधि फेरिरहनुस्, एकै ठाउँ एउटै मिडियामा घोरिएर नबस्नुस्। समय समयमा फरक बाटो हिंड्ने आँट गर्नुभएन भने प्रविधि र सामाजिक सञ्जालको भुमरीमा फस्नबाट कसैले बचाउन सक्दैन।
(हिमालको २०७९ वैशाख अंकबाट।)
कभर स्टोरी :
⇒ सामाजिक सञ्जालको सकस
⇒ सामाजिक सञ्जालमा चुनावी सङ्ग्राम
⇒ दोषी ‘भोगी पुस्ता’
⇒ निर्णायक नयाँ मतदाता
⇒ सामाजिक सञ्जालको दुरुपयोग रोक्न के गर्ने, कसरी बच्ने?
⇒ ‘हाइटेक’ अपराध, निम्छरो कानून
⇒ निशानामा महिला–बालबालिका