जेठबाट शनिबार र आइतबार सार्वजनिक बिदा
सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को वैशाख १३ गते बसेको बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
बुधबार सरकारका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री कार्कीले परीक्षणका रूपमा दुई दिन बिदा दिने निर्णय गरिएको बताए।
सरकारले कार्यालय समय पनि एक घण्टा बढाएको छ। सरकारको निर्णय सार्वजनिक गर्दै कार्कीले भने, “हाललाई परीक्षणका रूपमा २०७९ जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म कार्यालय समय कायम गर्ने। शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने।”