भ्रष्टाचारको मुद्दामा आङ सान सुचीलाई पाँच वर्ष जेल
म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुचीलाई भ्रष्टाचार सम्बन्धी मुद्दामा सैनिक सरकारले जेल सजाय सुनाएको छ।
म्यानमारको अदालतले सुचीलाई थप पाँच वर्षको जेल सजाय सुनाएको हो। यसअघि ६ वर्षको सजाय सुनाइएको थियो। ७६ वर्षीया नेत्रीले सुचीले ११ वर्षसम्म जेल सजाय भोग्नुपर्ने भएको छ।
बुधबार अदालतले उनलाई म्यानमारको सबैभन्दा ठूलो शहर याङ्गुनका पूर्व प्रमुखसँग ६ लाख अमेरिकी डलर नगद र सुन घूस लिएको मुद्दामा दोषी ठहर गरेको हो। गत डिसेम्बरमा उनलाई कोभिड-१९ नियम तोडेको मुद्दामा र जनवरीमा घरमा प्रतिबन्धित वाकीटकी राखेको मुद्दामा दोषी ठहर गरिएको थियो।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार, उनले सबै आरोप अस्वीकार गरेकी छिन्। त्यस्तै, अधिकारकर्मीले अदालतको सुनुवाइ निष्पक्ष नभएको बताएका छन्।
उनी विरुद्धको मुद्दामा अदालतमा सुनुवाइ हुँदा नागरिकलाई उपस्थित हुन दिइएको थिएन। त्यससँगै सुचीका वकीलहरूलाई पत्रकारसँग बोल्न प्रतिबन्ध लगाइएको थियो।