मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति जोशी निलम्बित
बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. विश्वराज जोशीलाई निलम्बन गरेको छ।
जोशीले पदीय जिम्मेवारी पूरा नगरेको भन्दै प्रतिष्ठान सभाका एक चौथाइ सदस्यले लिखित निवेदन दिएपछि बागमती सरकारले मंगलबार छानबिन समिति गठन गरेको थियो। छानबिन समिति गठनपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को उपदफा (३) बमोजिम उपकुलपति जोशी स्वतः निलम्बनमा परेको मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव यमलाल भुसालले जानकारी दिए। उपकुलपति जोशीलाई मंगलबार नै निलम्बनको पत्र पठाएको सचिव भुसालले बताए।
प्रा.डा. जोशीले भने विभिन्न व्यक्ति मार्फत निलम्बन गरिएको खबर सुने पनि आधिकारिक पत्र नपाएको बताए। उनले गत फागुन अन्तिम साता नै मुख्य मन्त्री राजेन्द्र पाण्डेले पत्र काटेर आफूलाई पदबाट हट्न दबाब दिएको दाबी गरेका छन्।
“एउटा योजना सहित काम गर्दैगर्दा बीचमै छाड्नु उचित नलागेर काम गरिरहेको थिएँ‚” उनले भने‚ “एक्कासि निलम्बनको कुरा सुनें। निलम्बनको पत्र हात परेपछि के गर्ने भन्ने निर्णय लिनेछु।”
प्रा.डा. जोशीलाई तत्कालीन मुख्य मन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले २०७७ साउन १६ गते चारवर्षे कार्यकालका लागि नियुक्त गरेको थियो।
पाण्डे नेतृत्वको सरकारले यसअघि प्रदेश खेलकूद विकास परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंलाई पनि पदबाट हटाएको थियो। चौलागाईंले कानूनी उपचार खोजेपछि अदालतले उनलाई पुनर्बहाली गरेको थियो।