यस्ता छन् गठबन्धनको बैठकका सात निर्णय
पाँच दलीय गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचनमा तालमेल विपरीत दिएका उम्मेदवारी फिर्ता लिने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको पाँच दलीय गठबन्धनको बैठकले स्थानीय चुनावमा वडा तहसम्मै तालमेललाई प्रभावकारी बनाउने लगायत सात निर्णय गरेको छ। बैठकपछि पाँचै दलका शीर्ष नेताले जारी गरेको संयुक्त विज्ञप्तिमा तालमेललाई मजबूत बनाउन आआफ्ना दलका निकायलाई निर्देशन दिने निर्णय गरेको छ।
त्यस्तै गठबन्धन बाहिरका दलसँग कुनै पनि तहमा तालमेल नगर्ने निर्णय गरिएको छ। गठबन्धनको निर्णयमा भनिएको छ, ‘गठबन्धनभित्रका दलहरूले कुनै पनि तहमा गठबन्धन बाहेका दलसँग तालमेल नगर्ने र तालमेल गरेको ठाउँमा सम्बन्धित दलले अविलम्ब खारेज गर्ने।’
बैठकपछि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्ति जारी गरेका हुन्।