रेणु सहित पालिका प्रमुखमा भिड्दै चितवनका चार नेत्री
भरतपुर महानगर सहित चितवनका चार वटा स्थानीय तहको नेतृत्वका लागि विभिन्न दलका नेत्री प्रतिस्पर्धामा छन्।
भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) की रेणु दाहाल, इच्छाकामना गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसकी गीता गुरुङ, रत्ननगर नगरपालिकाको मेयरमा नेकपा (एमाले) की विमला दुवाडी र माडी नगरपालिकाको मेयरमा एमालेकै ताराकुमारी काजी महतो प्रतिस्पर्धामा छन्।
भरतपुरको मेयरमा पुनः दोहोरिन उम्मेदवारी दिएकी दाहाल पाँच दलीय गठबन्धनकी उम्मेदवार हुन्। उनले गत निर्वाचनमा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई थोरै मतले पराजित गरेकी थिइन्। अहिले उनीसँगको प्रतिस्पर्धामा एमालेकै विजय सुवेदी छन्।
इच्छाकामनामा उम्मेदवारी दिएकी गुरुङ यसअघिको निर्वाचनमा पालिका अध्यक्षमा विजयी भएकी थिइन्। उनी एमालेका उम्मेदवारलाई हराएर विजयी भएकी हुन्। यस पटक पनि एमालेकै उम्मेदवार दानबहादुर गुरुङसँग प्रतिस्पर्धा गर्दै छिन्।
यस्तै, रत्ननगर नगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी दुवाडी यसअघि पालिकाको उपमेयर थिइन्। उनी नेपाली कांग्रेसका उम्मेदवार प्रह्लाद सापकोटासँग प्रतिस्पर्धा गर्दै छिन्। रत्ननगर नगरपालिकामा गएको निर्वाचनमा मेयर र उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका थिए।
यस्तै, माडी नगरपालिकाको मेयरमा एमालेकी महतो उम्मेदवार छिन्। गत निर्वाचनमा उनी उपमेयर बनेकी थिइन्। अहिले माडीमा माओवादीका उम्मेदवार ऋषि काफ्लेसँग प्रतिस्पर्धा गर्दै छिन्।