म्यादी प्रहरीको सीपलाई कसरी सदुपयोग गर्ने?
सरकारको लगानीमा म्यादी प्रहरीले तालीम लिएका छन्। उनीहरूको सीपलाई सदुपयोग गर्न सके सरकार र म्यादी प्रहरी दुवैलाई फाइदा पुग्नेछ।
ललितपुरको जावलाखेलस्थित खेल मैदानमा पसिनाले निथ्रुक्क भिजेको अवस्थामा भेटिए ५२ वर्षीय उत्तम शाक्य। म्यादी प्रहरीमा भर्ना भएका उत्तम वैशाखे घाममा तालीममा व्यस्त थिए। ढल्किँदो बैंस भए पनि उनी दौडन, पुसअप र सेटअप गर्न युवाभन्दा कम हुन चाहँदैनन्। किनकि‚ यतिको जोश नदेखाए आफूभन्दा ३० वर्ष कम उमेरका सहभागीले उछिन्ने र आफू तालीमबाटै फ्याँकिने डर उनमा छ।
ललितपुर बस्दै आएका उत्तमको रोजगारी कोभिड-१९ महामारीका वेला गरिएको बन्दाबन्दीमा खोसियो। रोजगारी नभएपछि श्रीमती, छोरा र छोरीसहित चार जनाको परिवार धान्न उनलाई धौधौ भयो। जसका कारण उत्तमले डिप्रेसनको बिरामी भएपछि औषधि खाए। उत्तम भन्छन्‚ “औषधि छाडेको ६ महीना मात्र भयो।”
४० दिनकै भए पनि म्यादी प्रहरीको जागीर पाएकामा उत्तम खुशी छन्। “अहिले काम पाएको छु। घरमा खाली बसेर दिमागमा कुरा खेलाउनुभन्दा शरीर पनि बलियो हुने र आम्दानी पनि हुने,” उनी भन्छन्‚ “जागीर भएपछि मसँग यो छ भन्न पाइने रहेछ। कसैसँग झुक्नु नपर्ने रहेछ। आफ्नो कमाइले घर चलाउन पाउँदा खुशी लागेको छ।”
जावलाखेल खेल मैदानमा तालीम लिइरहेका ३०० जना म्यादी प्रहरीमध्ये ५२ वर्षीय रामबहादुर तामाङ पनि हुन्। उनी नेपाली सेनाका पूर्व हवल्दार हुन्। पेन्सनबाट आउने तलबले घरखर्च चलाउन पर्याप्त नभएपछि केही सहयोग पुग्ने आशमा म्यादी प्रहरीमा भर्ना भएको रामबहादुर बताउँछन्। त्यसैले हरेक दिन बालाजुबाट लगनखेलसम्म धाइरहेका छन्।
तालीममा सहभागी भएपछि मुलुकमा बेरोजगार युवाहरू बढी रहेछन् भन्ने लागेको उनी बताउँछन्। पढेलेखेका युवाहरूले क्षमता अनुसार काम नपाएको देख्दा आफूलाई विरक्त लागेको रामबहादुर सुनाउँछन्।
“यहाँ महीना दिनको जागीर खान पढेका, लक्का जवानहरू आएका छन्‚” उनी भन्छन्‚ “क्षमता अनुसारको काम पाएका रहेनछन्। नेपालमा धेरैपछि जागीर खुलेको जस्तो गरी म्यादीमा भर्ना हुन आएको देख्दा भविष्यमा झनै काम नपाउने चिन्ता लाग्यो।”
जस्तो काम भए पनि गर्छु भन्नेहरूले काम नपाउनु दुःखको कुरा भएको रामबहादुर बताउँछन्। त्यसैले ती बेरोजगारहरूलाई लक्षित गरी अहिलेका उम्मेदवारहरूले रोजगारलाई मुख्य मुद्दा बनाउनुपर्ने उनको सुझाव छ। “हामी तिनै नेतालाई सुरक्षा दिन र चुनाव सहज गराउन खटिएका छौं‚” रामबहादुर भन्छन्‚ “उनीहरूले रोजगारलाई मुख्य विषय बनाऊन् भन्ने चाहन्छु। यति गरिदिए म सबैलाई धन्यवाद दिन्छु।”
म्यादी प्रहरीमा भर्ना हुनेमा पुरुष मात्र होइन‚ महिला पनि छन्। तिनै महिलामध्ये ललितपुरको भैंसेपाटीमा बस्दै आएकी ४० वर्षीया जमुना क्षेत्री थापा पनि हुन्। म्यादी प्रहरीको तलबले घर खर्च चलाउन सहयोग पुग्नुका साथै म्यादी प्रहरीको प्रमाणपत्रले भविष्यमा अर्को काम पाइन्छ कि भन्ने आशा रहेको उनी बताउँछिन्।
“तालीममा घामले असहज त भएको छ। तर, पनि ठिकै छ। तलबले छोराछोरीको स्कूलको शुल्क तिर्न सहयोग पुग्छ कि भन्ने आशा छ‚” थापा भन्छिन्‚ “यो सर्टिफिकेटले भोलि अर्को काम पाइएला नि।”
१९ वर्षीया रोशनी खड्कालाई पनि म्यादी प्रहरीको अनुभवले भविष्यमा अर्को काम पाइएला भन्ने आशा छ। उनी भन्छिन्‚ “यहाँ सिकेको कुरा र तालीमले पछि अर्को जागीर पाइयोस् भन्ने लागेको छ।”
म्यादी प्रहरीमा जागीर खानु रहर नभई बाध्यता भएको रोशनीले बताइन्। “व्यक्तिगत इच्छाभन्दा पनि परिवारमा बुबाआमालाई घरखर्च चलाउन सजिलो बनाउन आएकी हुँ‚” उनी भन्छिन्‚ “तर‚ एक पटकलाई होइन, सधैंभरि आम्दानी गरेर घरमा सहयोग गर्नु छ।”
म्यादी प्रहरीमा भर्ना भएका प्रायःले जागीरबाट आएको रकमले घर खर्च चलाउने बताए। तर‚ म्यादीको जागीर महिना दिनपछि सकिन्छ। त्यसपछि फेरि बेरोजगार हुनुपर्ने पीर पनि उनीहरूमा छ। जसले म्यादी प्रहरीको जागीर पाएकामा पनि खुलेर खुशी हुन दिइरहेको छैन।
म्यादी प्रहरीको सीपलाई सदुपयोग किन नगर्ने?
सरकारले स्थानीय चुनावका लागि एक लाख म्यादी प्रहरी भर्ना गर्न विज्ञापन आह्वान गरेको थियो। जसमा तीन लाख जनाले आवेदन दिएका थिए। यस दृश्यले नेपालमा बेरोजगारी अवस्था कस्तो छ भन्ने झल्काउँछ।
केन्द्रीय तथ्याङ्क विभागले २०७४/७५ मा गरेको नेपाल श्रमशक्ति सर्वेक्षणको तथ्याङ्क अनुसार‚ नेपालको बेरोजगारी दर ११.४ प्रतिशत छ। तीमध्ये पुरुष १०.३ र महिला १३.१ प्रतिशत छन्। यसै गरी शहरमा ११.६ प्रतिशत र ग्रामीण क्षेत्रमा १०.९ प्रतिशत बेरोजगार छन्।
बेरोजगारी दरलाई प्रदेश अनुसार हेर्दा सबैभन्दा बढी मधेश प्रदेशमा २०.१ प्रतिशत र सबैभन्दा कम बागमती प्रदेशमा सात प्रतिशत छ।
सर्वेक्षणको तथ्याङ्क अनुसार‚ नेपालमा रोजगारीको क्षेत्रमा रहेको जनसङ्ख्या काम गर्ने उमेर समूह अन्तर्गतको जम्मा जनसङ्ख्याको ३४.२ प्रतिशत छ। राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्रा.डा. पुष्कर बज्राचार्य नेपालमा ‘इकोनोमिकल्ली एक्टिभ पपुलेसन’ आजको दिनमा दुई करोडभन्दा बढी रहेको बताउँछन्। तीमध्ये ७० लाख जनाले मात्र काम गरिरहेको उनको भनाइ छ।
“काम गर्न सक्ने दुई करोड जनामध्ये अहिले ७० लाखले मात्र काम गरिरहेका छन्,” बज्राचार्य भन्छन्, “म्यादी प्रहरी पनि यही एक्टिभ भएर पनि बेरोजगार हुने समूहभित्र पर्छन्। अब फेरि महीना दिनपछि पुनः यही बेरोजगारको सङ्ख्यामा पर्नेवाला छन्।”
सरकारले म्यादी प्रहरीलाई निर्वाचन सुरक्षाबारे विशेष तालीम दिएको छ। तालीममा राज्य र जनताप्रति जिम्मेवार हुन सिकाइएको छ। यसमा सरकारको खर्च त छँदै छ‚ गाउँ गाउँबाट आई होटलमा बसेर तालीम लिने म्यादी प्रहरीहरूको पनि लगानी छ। केही सीप सिकिसकेका उनीहरूलाई बेरोजगार हुन नदिन सरकारले ध्यान दिनुपर्ने अर्थविद् केशव आचार्य बताउँछन्। तर‚ सरकार योजनाविहीन रहेको उनको टिप्पणी छ।
म्यादी प्रहरीमध्ये इच्छुकलाई ‘सेक्युरिटी गार्ड’ मा वैदेशिक रोजगारीमा पठाउन सके फाइदा हुने उनको भनाइ छ। यसरी पठाउँदा रेमिटेन्स बढ्ने र व्यक्तिगत आय पनि बढ्ने आचार्य बताउँछन्।
यस्तै‚ नेपालका सामुदायिक वनहरूमा चोरी शिकारीको घटना धेरै हुने गरेका छन्। त्यसको सुरक्षाका लागि म्यादी प्रहरीलाई उपयोग गर्न सकिन्छ। औद्योगिक सुरक्षामा पनि उनीहरूलाई प्रयोग गर्न सकिने अर्थविद् आचार्य बताउँछन्। म्यादी प्रहरीलाई प्रयोग गर्ने यस्ता धेरै क्षेत्र रहेको उनको भनाइ छ।
योजना आयोगका पूर्व सदस्य प्रा.डा. बज्राचार्य पनि म्यादी प्रहरीलाई दीर्घकालीन रूपमा उद्यम व्यवसायमा लगाउनुपर्ने सुझाउँछन्। उनी भन्छन्‚ “महीना दिन जागीर पाएर फेरि उही हालतमा पुगेपछि युवाहरूमा निराशा बढ्छ। निराशा बढ्नु खतरा पनि हो।”
म्यादी प्रहरीमा भर्ना भएकामध्ये धेरैले प्रहरीमा काम गर्ने इच्छा रहेको बताए। तर‚ नेपालमा ९० हजारभन्दा धेरै प्रहरी फोर्स छैन। सबैलाई स्थायी रूपमा सशस्त्र प्रहरी बल वा नेपाल प्रहरीमा भर्ना गर्ने थोरै मात्र सम्भावना छ। त्यसैले उनीहरूलाई निजी क्षेत्रमै प्रयोग गर्न सके सरकारको लगानीको सदुपयोग हुने विज्ञहरू बताउँछन्।