नवौं राष्ट्रिय खेलकूद गण्डकीका सबै जिल्लामा हुने
सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म नवौं राष्ट्रिय खेलकूद प्रतियोगिता गर्ने निर्णय गरेको छ। अघिल्लो वर्ष हुनुपर्ने प्रतियोगिता कोभिड-१९ का कारण स्थगन भएपछि जेठ अन्तिम साता गण्डकी प्रदेशमा गर्ने निर्णय गरेपछि प्रतियोगिताको तयारी थालिएको छ।
गण्डकीमा हुने प्रतियोगितामा पुराना ३५ सहित रग्बी र ठेलो खेल थप गर्ने प्रस्ताव गरिएको छ। आयोजक प्रदेशले यहाँको मौलिक दोहोरी तथा लोकनृत्यलाई पनि प्रतियोगितामा थप गर्न प्रस्ताव गरेको छ। प्रतियोगिताका अधिकांश खेल पोखरामा सञ्चालन हुने भए पनि प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेल सञ्चालन गरिने पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिले जनाएको छ ।
“सबै जिल्लामा कम्तीमा एउटा खेल सञ्चालन गर्ने गरी राष्ट्रिय खेलकूद परिषद् (राखेप) मा प्रस्ताव पठाएका छौं,” समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए। खेलकूदको कुम्भमेला राष्ट्रिय खेलकूदको रौनक र अपनत्व सबै प्रदेशवासीलाई होस् भनेर सबै जिल्लामा न्यूनतम एक खेल आयोजनाको प्रस्ताव गरिएको उनको भनाइ छ।
“खेल पूर्वाधारको अवस्था तथा सम्बन्धित जिल्लामा खेलप्रतिको आकर्षण लगायत पक्षलाई हेरेर प्रस्ताव पठाएका छौं‚” योगीले भने, “केन्द्रको प्राविधिक टोलीले प्रस्तावित स्थलको अनुगमन शुरू गरेको छ। केही दिनमै प्रस्तावित स्थलमा नै राखेपले खेल सञ्चालनको तालिका बनाउनेछ।”
प्रदेशका सबै जिल्लालाई समावेश गरेर खेल आयोजना गर्दा जिल्लामा खेलप्रतिको आकर्षण बढ्ने र खेलाडीको चापलाई व्यवस्थित गर्न सकिनेछ। प्रतियोगिताको तयारी र पूर्वाधारबारे जानकारी लिन युवा तथा खेलकूद मन्त्री महेश्वरजंग गहतराज, राष्ट्रिय खेलकूद परिषद्का सदस्य-सचिव टङ्कलाल घिसिङ लगायतको टोली आज पोखरा आउने समितिले जनाएको छ।
राष्ट्रिय खेलकूद अन्तर्गत पुरुष फूटबल सहित एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, भलिबल, ब्याडमिन्टन, उसु, ह्यान्डबल, हक्की, स्क्वास र शूटिङका महिला तथा पुरुषका खेल पोखरामा सञ्चालन हुनेछन्। यसै गरी जिम्न्यास्टिक, लनटेनिस, सफ्टटेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, पौडी, गल्फ, शारीरिक सुगठन, प्याराग्लाइडिङ र ट्रायथोलनका महिला तथा पुरुषका खेल पनि पोखरामा प्रस्ताव गरिएको छ।
महिला फूटबल स्याङ्जाको वालिङ, तेक्वान्दो (महिला–पुरुष) बाग्लुङ, कराते (महिला–पुरुष) लमजुङ, टेबलटेनिस (महिला–पुरुष) मुस्ताङ, कबड्डी, कुस्ती र खोखो (महिला–पुरुष) नवलपुर तथा जुडो र सेपाकताक्रो (महिला–पुरुष) गोरखामा खेलाउने योजना छ।
बास्केटबल (महिला–पुरुष) तनहुँ, बुद्धिचाल (महिला–पुरुष) मनाङ, आइटीएफ तेक्वान्दो (महिला–पुरुष) म्याग्दी, फुलकन्ट्याक्ट कराते (महिला–पुरुष) स्याङ्जा र फेन्सिङ (महिला–पुरुष) पर्वतमा गर्न राखेप समक्ष प्रस्ताव गरी पठाइएको समितिले जनाएको छ।यस वर्षदेखि आयोजना गर्न प्रस्ताव गरिएको लोकदोहोरी तथा लोकनृत्य प्रतियोगिता पोखरामा गर्ने योजना छ। राष्ट्रिय खेलकूदका लागि आवश्यक खेल पूर्वाधार निर्माणका लागि चालू आवमा राखेपबाट १६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। -रासस