नेपालीमा आयो ‘नेपालका चराहरू’
चराबारेको विस्तृत विवरण भएको पुस्तक नेपालका चराहरू सार्वजनिक भएको छ। आज (वैशाख १३) विमोचित हेल्म फिल्ड गाइड शृङ्खलाको बर्ड अफ नेपालको अनुवाद नेपालका चराहरू पुस्तकमाथि टिप्पणी गर्दै वक्ताले चराबारेको नेपाली पुस्तक अभावलाई पूर्ति गर्ने अपेक्षा गरेका छन्।
रिचर्ड ग्रिमेट, क्यारोल इन्स्किप, टिम इन्स्किप र हेमसागर बराल लिखित पुस्तकको परिमार्जित नेपाली संस्करणमा सन् २०१८ को जुनसम्म अभिलेख गरिएका चरा प्रजातिको सचित्र व्याख्या छ । चराका वासस्थान र चरा प्रजाति, चराको बसाइसराइँ, चरा अवलोकनका क्षेत्र, चराहरूको वितरण र अवस्थामा आएको परिवर्तनका बारेमा पुस्तकमा संक्षिप्त वर्णन छ।
नेपालमा प्राणीहरूबारे अनुसन्धान गर्दा सन्दर्भ स्रोतको पहुँचमा समस्या हुने गरेको धारणा राख्दै पन्छीविद् कृष्णप्रसाद भुसालले सन्दर्भ स्रोतको वितरणमा हिमालयन नेचरको योगदान महत्त्वपूर्ण रहेको बताए। “चरामा रुचि हुने सबैलाई पुस्तक उपयोगी छ। यो अनुवाद मात्र नभएर पुनः अन्वेषणका आधारमा तयार पारिएको हुँदा नयाँ सरह छ,” भुसालले भने, “यसै पनि हिमालयन नेचरले प्रजाति विशेषको जानकारी वेबसाइटमै राखेर अनुसन्धानकर्मीहरूलाई ठूलो गुन लगाएको छ। सबैको उपयोगका लागि उपलब्ध यी जानकारी राष्ट्रिय सम्पत्ति सरह छन्। यही हारमा यो पुस्तक पनि थपिएको छ।”
ऋग्वेदमा २० चरा प्रजातिको उल्लेख छ भने यजुर्वेदमा ६० चरा प्रजातिको उल्लेख छ । अथर्ववेदमा शिकारी चरा र हाँसको राम्रो वर्णन छ।
पुस्तकका सहलेखकमध्येका एक तथा अनुवादक हेमसागर बरालले चरा अवलोकन गर्दा सन् असीको दशकमा फ्लेमिङको किताब निर्विकल्प भए पनि दुर्लभ र महँगो रहेको बताए। “अझै पनि चराप्रेमीका लागि नेपाली भाषामा पुस्तकको अभाव छ। हामीले काम शुरू गर्दा तलब १२ सय थियो भने पुस्तकको मूल्य साढे तीन सय थियो। पुस्तक भनेको वेला पाउन पनि गाह्रो,” बरालले भने, “यस पुस्तकले सो अभावलाई पूरा गर्ने अपेक्षा छ।”
नेपाली भाषामा चराबारेको पुस्तक अत्यावश्यक रहेको बताउँदै बरालले वेदमा उल्लिखित चराका प्रसङ्गले प्राचीन कालमा पनि चराका स्वभाव र व्यवहारको अध्ययन हुने गरेको पुष्टि हुने जनाए। “ऋग्वेदमा २० चरा प्रजातिको उल्लेख छ भने यजुर्वेदमा ६० चरा प्रजातिको उल्लेख छ,” उनले भने, “अथर्ववेदमा शिकारी चरा र हाँसको राम्रो वर्णन छ। मैना र सुगालाई मानिसले आफ्नो भाषा सिकाएको प्रसङ्गले पौराणिक कालमा चरा र मानव सम्बन्ध रहेको देखिन्छ। विज्ञानले प्राचीन अभ्यास र व्यवहारलाई ‘रिडिस्कभर’ मात्र गरेको हो।”
महाभारत र रामायणमा पनि चराबाट मानिसले युक्ति सिकेको प्रसङ्ग रहेको जनाउँदै बरालले शत्रुलाई छक्याउन कर्याङकुरुङबाट चक्रव्यूह बनाउने प्रसङ्ग महाभारतमा रहेको उल्लेख गरे। त्यस्तै, हाँसको बथानले झैं शत्रुलाई जाइलाग्ने प्रसङ्ग रामायणमा रहेको र सारसबाट पनि युद्धकला सिकेको प्रसङ्ग पौराणिक ग्रन्थमा भेटिएको उनले बताए।
“चरकसंहितामा चराको आधुनिक वर्गीकरण जस्तै स्थल, जल, शिकारी चराको वर्गीकरण छ भने आजका दिनमा आइपुग्दा सात सय यात्रु बोक्ने दुईतले विमानको डिजाइनमा समस्या आउँदा त्यसको मुख्य डिजाइनरले चराको अध्ययनपछि विमानको पखेटालाई रिडिजाइन गरे,” बरालले भने।
हाम्रो प्राचीन सभ्यता र इतिहासमा भएको चराका वर्णन र नाम बुझ्न पनि नेपालीमा पुस्तक आवश्यक रहेको उनले सुझाए। “पुराना नाम सबै बिर्सिन थालियो। त्यसका लागि पनि नेपाली संस्करण आवश्यक थियो,” उनले प्रष्ट्याए।
पुस्तक तयार पार्दा नामकरणको समस्या भएको उनले बताए। विभेद जस्तो लाग्ने केही नाम परिवर्तन गरिए पनि सकेसम्म चलेको नामलाई समावेश गरिएको र नामकरणका लागि संस्कृतलाई आधार मानिएको छ। “संस्कृतबाट मात्र सात सय नेपाली चराको नाम लिइएको छ,” उनले जनाए।
चराका स्थानीय र विश्वव्यापी बसाइँसराइको विवरण पनि समावेश गरिएकाले पुस्तक महत्त्वपूर्ण बनेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले बताए। “चराबारेको जानकारी र सूचना फैलाउन जरुरी रहेको सन्दर्भमा पुस्तक महत्त्वपूर्ण छ,” कँडेलले भने।
पुस्तकमा सन् २०१८ को जुनसम्म अभिलेख गरिएका चरा प्रजातिको सचित्र व्याख्याका साथै चराका वासस्थान र बसाइसराइँ, चरा अवलोकनका क्षेत्र, चराहरूको वितरण र अवस्थामा आएको परिवर्तनका बारेमा संक्षिप्त वर्णन छ ।
समाजमा ‘पुरानै राम्रो’ भन्ने उखान चर्चित भए पनि यो पुस्तकको हकमा भने पुरानो अङ्ग्रेजी संस्करणभन्दा नयाँ नेपाली संस्करण प्रभावकारी रहको नेपाल पन्छी संरक्षण संघ, बीसीएनका अध्यक्ष प्राध्यापक करन बहादुर शाहले बताए। “पुस्तकमा समावेश चित्रले अवलोकनकर्तालाई चरा चिन्न मद्दत गर्छ,” शाहले भने, “चरा चिन्न शुरूमा हेर्ने भनेकै चित्र हो। यसअघिका भन्दा यसमा चित्र र त्यसमुनिको वर्णनमा खोट लगाउने ठाउँ छैन।” पुस्तकमा चरा विचरण गर्ने क्षेत्रको नक्शा पनि समावेश गरिएकाले चरा चिन्न र बुझ्न थप सहयोग पुग्ने उनको ठम्याइ थियो।
“कुनै ठाउँमा चराको राम्रो सङ्ख्या हुनु भनेको स्वस्थ वातावरणको सूचक मात्रै होइन, अरू प्राणी प्रजातिको पनि राम्रो उपस्थिति भएको बुझिन्छ,” शाहले भने, “पुस्तकमा चरा प्रजातिको पछिल्लो विवरण समावेश हुनु अर्को राम्रो पक्ष हो।”
विज्ञान लेखनमा पश्चिमा ढाँचा पछ्याउँदा स्थानीय नाम र तिनको सांस्कृतिक सम्बन्ध ओझेलमा पर्ने गरेको सन्दर्भमा पुस्तकले स्थानीय परिवेशको महत्त्वलाई उजागर गरेको त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभाग प्रमुख प्राध्यापक तेजबहादुर थापाले बताए।
नेपाल पन्छीविद् संघका अध्यक्ष भगवान दाहालले पछिल्ला दिनमा पन्छीको अध्ययन, अनुसन्धान तथा अवलोकनको क्रम बढेको बताउँदै आम मानिस, सामुदायिक वन उपभोक्ता समिति सदस्य तथा राजनीतिक व्यक्तिले पनि चरामा चासो देखाउनु सकारात्मक परिवर्तन भएको जनाए। “चराबारेको ज्ञानलाई प्रसार गर्नु यस क्षेत्रमा काम गर्ने हामीहरूको कर्तव्य हो। सो लक्ष्य प्राप्तिको लागि यो पुस्तक उपयोगी र प्रभावकारी हुनेछ,” दाहालले भने।
चरा सम्बन्धी प्रायः पुस्तक अङ्ग्रेजीमा हुने गरेकोमा नेपालीमा पुस्तक ल्याउनुपर्ने दायित्वलाई हिमालयन नेचरले केही हदसम्म पूरा गरेको प्रकाशन संस्थाका पन्छीविद् तुलसी सुवेदीले बताए। “नेपाली भाषाको प्रकाशन हिमालयन नेचरको प्राथमिकतामा छ,” उनले भने, “पुस्तकले आम समुदाय लाभान्वित हुने अपेक्षा छ।”