'मेरो पक्षमा जनताको माहोल भएकाले निर्विरोध निर्वाचित भएँ'
डोल्पाको शे-फोक्सुण्डो गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका धावासम्डुक गुरुङ निर्विरोध निर्वाचित भएका छन्। २०७४ सालको स्थानीय चुनावमा सोही गाउँपालिकामा उपाध्यक्ष पदमा जितेका गुरुङले यस पटक अध्यक्षमा उम्मेदवारी दिएका थिए। अध्यक्ष पदमा अर्को उम्मेदवारी नपरेपछि निर्विरोध निर्वाचित भएका गुरुङसँग हिमालखबरकी अनिता भेटवालले गरेको कुराकानी:
निर्विरोध निर्वाचित हुने अवस्था कसरी आयो?
निर्वाचन आयोगले वैशाख ११ र १२ लाई उम्मेदवारी दर्ताको समय तोकेको थियो। मैले ११ गते दर्ता गराएँ। हिजो (सोमबार) साँझ ४ः३० सम्म पनि नेकपा (माओवादी केन्द्र) का पेमाडोल्मा गुरुङ मेरो प्रतिद्वन्द्वी हुनुहुन्थ्यो। तर, पछि उहाँले के सोच्नुभयो कुन्नि, उम्मेदवारी दर्ता गराउनुभएन। साँझ पाँच बजेसम्म अन्य उम्मेदवारी नपरेपछि म निर्विरोध निर्वाचित भएको जानकारी निर्वाचन अधिकृतले दिनुभयो। पहिलेबाटै मेरो पक्षमा माहोल थियो, मप्रति धेरैको विश्वास थियो। पछिल्लो पाँच वर्ष उपाध्यक्षको हैसियतले राम्रो काम गरेको परिणाम पनि होला। उम्मेदवारी दिन चाहेर पनि विभिन्न कारणले अन्त्यमा मैदानमा नआउने साथीहरूलाई मेरो सम्मान छ। भोलि काम गर्ने सँगसँगै नै हो।
निर्विरोध निर्वाचित हुनुका फाइदा के के रहेछन्?
पहिलो फाइदा त जनताले चुनेको प्रमाण पाएँ। जनताले मलाई चुनेको भएरै विपक्षीले दाबेदारी नदिएका हुन सक्छन्। सबैभन्दा ठूलो फाइदा चाहिं, निर्वाचित भएपछि गर्नुपर्ने कामहरूको तयारी आजैबाट गर्न पाउने भएँ। अरूले निर्वाचित भएर तयारी थाल्दा मैले काम नै शुरू गर्न पाउने भएँ। शे–फोक्सुण्डो क्षेत्रको विकासका लागि आवश्यक अजेन्डाबारे विज्ञहरूसँग छलफल थालिसकेको छु।
त्यस्तै, अर्को फाइदा भनेको खर्च लगभग भएन भन्दा पनि हुन्छ। दुई/चार दिन हिंडडुल गर्दा गाडी खर्च, साथीभाइसँगको चिया खर्च र हिंडडुलको क्रममा देखेको बिग्रेको बाटोको तत्काल मर्मतसम्भारका लागि दशदेखि १५ हजार सहयोग गरें। यति गर्दा लगभग दुई लाख खर्च भयो। निर्वाचनमा उम्मेदवारले लाखौंलाख खर्च गरेको भन्छन्, तर मलाई त्यस्तो मार पर्ने भएन। यसमा खुशी छु।
निर्विरोध निर्वाचित त छिटपुट मात्र हुन्छन्। यस्तो हुन कस्तो वातावरण चाहिने रहेछ?
निर्विरोध भनेको जनताले नै चयन गर्ने हो। यो हामीलाई चाहिने मान्छे हो, यसको समर्थनमा हामी छौं भनेर जनता लागेपछि प्रतिद्वन्द्वी पछि हट्ने हो। यो वातावरण सिर्जना गर्न पहिला काम नै गर्नुपर्छ।सामाजिक रूपमा कामले स्थापित भएपछि वातावरण आफैं बन्दै जान्छ। काम गर्ने मान्छेको माग र महत्त्व पनि बढ्छ। यो सबै जनताले मूल्याङ्कन गर्ने हो। फेरि व्यक्तिको बानी–व्यवहार, आचरण, मितव्ययिता लगायतको कुरा पनि हेरिंदो रहेछ। व्यक्ति कति आफ्नो सिद्धान्तमा बस्छ, उसले नाफाघाटा मात्र हेर्छ वा वास्तविक काम गर्न मिहिनेत गर्छ भन्ने कुरा जनताले हेरेका हुन्छन्। त्यसको आधारमा दबदबा बढ्छ र विपक्षी नउठ्ने रहेछन् भन्ने मेरो अनुमान हो।
निर्विरोध निर्वाचितलाई ‘उपहारमा पाएको पद’ पनि भन्छन् नि?
त्यस्तो होइन। मैदानमा उत्रनै परेन भनेर त्यस्तो भनेका होलान्। मेरो हकमा उम्मेदवारी दर्ता गर्ने समय सकिने आधा घण्टा अघिसम्म पनि प्रतिद्वन्द्वीहरू त्यहाँ थिए। जनताको माहोल मप्रति देखेरै उनीहरूले मैदान छाडेका हुन्। यसको अर्थ म जनताबाट अनुमोदित हुँ। यसलाई हामीले उम्मेदवारको छनोट पार्टी र नेताहरूले गरेकोभन्दा पनि जनताले रोजेको भनेर मान्नुपर्छ।
तत्कालीन नेकपा फुटेर नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) बनेपछि तिनै पार्टीले जनताको विश्वास गुमाए भन्ने एकथरीको तर्क छ। तपाईं एमालेको उम्मेदवार, फेरि जनताले अनुमोदन गरे भन्नुहुन्छ। यो कसरी सम्भव भयो?
स्थानीय तहमा जनताले व्यक्ति बढी चिन्छ। पार्टी पनि हेर्छ, तर उसले व्यक्ति चिनेको हुन्छ। त्यसैले जसले काम गरेको छ, जनताको घरमा पुगेको छ, जनताका समस्याको साक्षी बसेको छ र समाधान गरेको छ, उसैले भोट पाउने हो। समर्थन पाउने हो। त्यसैको नतीजा हुन सक्छ- मलाई समर्थन मिल्यो।
अर्को कुरा; जनताले जुन पार्टीमा आशा गरेको हुन्छ, त्यही पार्टीमा विश्वास गर्छन्। तर, व्यक्तिको आचरण र क्षमता पहिलो हो। यो भनिरहँदा मैले पार्टी नभए संगठन हुँदैन भन्ने चाहिं बिर्सनु हुँदैन। पार्टी र व्यक्ति दुवै राम्रो हुनुपर्छ। यसमा पनि काम गर्ने भनेको व्यक्तिले नै हो। काम राम्रो गर्दै जाँदा नराम्रो मानेको व्यक्तिले त समर्थन गर्छ भने अरू त सामान्य हो। म राम्रै भएर होला, अरू पार्टीबाट पनि अध्यक्ष एवं अन्य पदको प्रस्ताव आएको थियो, तर म हलचल भइनँ।
अब कसरी काम गर्ने सोच्नुभएको छ?
आज बिहानबाट कसरी काम गर्ने भन्नेबारे विज्ञहरूसँग भेटघाटमा लागिसकेको छु। कसरी र कुन कुन स्रोत तथा निकायबाट बजेट बढी ल्याउन सकिन्छ भनेर काम गर्न थालिसकेको छु। जनताले मलाई चुनेको आशा त मार्नुभएन।
शे–फोक्सुण्डो गाउँपालिकामा तपाईंको प्राथमिकता के हो?
शिक्षा मेरो प्राथमिकता हो। अघिल्लो पटक उपाध्यक्ष हुँदा कार्य अधिकारमा नपरेको भएर काम गर्न पाइएन। हाम्रो क्षेत्र दुर्गम छ। यहाँ पढ्न धेरै टाढाबाट विद्यालय धाउनुपर्ने हुन्छ। त्यसैले विद्यालय बढाउने, गुणस्तरीय र सहुलियत शिक्षा दिने अजेन्डा अघि सारेको छु।
साथै; पढ्न नपाएका युवाहरू पनि यहाँ धेरै छन्। उनीहरूलाई प्राविधिक शिक्षा मार्फत सीप सिकाएर आयमूलक बनाउने कोशिश गर्छु। यहाँको जनसङ्ख्यामा निम्न वर्ग नै धेरै छ। यहाँको सामाजिक र आर्थिक अवस्था सुधार्न मैले देखेको दीर्घकालीन समाधान भनेको विद्यालय शिक्षामा लगानी हो। यसर्थ; तत्कालको समस्या समाधान गर्न प्राविधिक शिक्षामा मेरो जोड हुनेछ।