यादवले छोरा, मुख्यमन्त्री राउतले श्रीमती र महतोले दाजुलाई बनाए उम्मेदवार
जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरूले राजनीतिक योगदान भएका नेताहरूलाई पाखा लगाएर परिवारकै सदस्यलाई स्थानीय तहको उम्मेदवार बनाएका छन्।
जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नै छोरा अमरेन्द्र यादवलाई विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार बनाएका छन्। सत्तारूढ गठबन्धनको तर्फबाट यादवले छोरालाई मेयरको उम्मेदवार बनाएका हुन्। अमरेन्द्र जसपाको विराटनगर अध्यक्ष हुन्।
त्यस्तै, मधेश प्रदेशका मुख्य मन्त्री लालबाबु राउतले आफ्नै श्रीमती जलेखा खातुनलाई पर्साको जगरनाथपुर गाउँपालिकामा उपाध्यक्षको उम्मेदवार बनाएका छन्।
लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले आफ्ना दाजु महेन्द्र महतोलाई चन्द्रनगर गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाएका छन्।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नी छोरी रेणु दाहाललाई भरतपुर र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नी श्रीमती सिर्जना सिंहलाई काठमाडौं महानगरमा मेयरको उम्मेदवार बनाएका छन्।