शे-फोक्सुण्डो र काइके गाउँपालिकाका अध्यक्ष निर्विरोध निर्वाचित
डोल्पाको शे-फोक्सुण्डो र काइके गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।
जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार, शे-फोक्सुण्डो गाउँपालिकाको अध्यक्षमा एमालेका धावासम्डुक गुरुङले उम्मेदवारी दिएका थिए। अध्यक्षमा अर्को उम्मेदवारी नपरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्।
त्यस्तै, शे-फोक्सुण्डोका ६ वटा वडाका अध्यक्ष पनि निर्विरोध निर्वाचित भएका छन्। वडा नं. १ मा जिक्मेछोइङ लामा, वडा नं. ३ मा पेमागिर्मे गुरुङ, वडा नं. ५ मा रिग्जिन गुरुङ, वडा नंं ६ मा रिग्जिन गुरुङ, वडा नं. ७ मा पेमा छिरिङ र वडा नंं ९ मा सार्के लामा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यसै गरी काइके गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका उम्मेदवार अंगदकुमार राना निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी रामबहादुर सार्कीले बताए। उनका अनुसार, उपाध्यक्षमा पनि नेपाली कांग्रेसका निमा बुढा निर्विरोध भएका छन्।
निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताका लागि समय तोकेको थियो। सोमबार साँझ ५ बजेसम्म अन्य उम्मेदवारी नपरेपछि उनीहरू निर्विरोध भएका हुन्। उनीहरू निर्वाचित भएको घोषणा गर्न भने केही दिन लाग्नेछ।