रसुवागढी नाकाबाट आयात घट्यो
सरकारले ‘लेटर अफ क्रेडिट (एलसी)’ प्रणाली लागू गरेपछि रसुवागढी नाकाबाट सामान आयात घट्न थालेको छ। एक महीनायता अनियमित पनि भएको छ।
चिनियाँ गाडीले दैनिक सामान आयात गर्दै आएकोमा अहिले नियमित हुन सकेको छैन। एक महीनायता १० प्रतिशत मात्रै सामान आइरहेको व्यापारी धर्म पौडेलले बताए। “एलसी नखोलेकै कारण साम्रगी आउन पाएको छैन,” पौडेलले भने, “व्यापार व्यवसाय प्रभावित बनेको छ।”
केही दिनदेखि सामान आयातमा कमी आएको र नियमित पनि नआएको रसुवा भन्सार कार्यालयका सूचना अधिकारी भरतराज अधिकारीले बताए। नेपाली व्यापारीले सामानको माग नगरेका कारण सामानको आयात घटेको उनको भनाइ छ।
पछिल्लो समय रसुवागढी नाकाबाट दैनिक १४ वटा चिनियाँ गाडीले सामान आयात गर्दै आएका थिए। अहिले भने आधा घटेको भन्सार कार्यालयले जनाएको छ।
सोमबार त रसुवागढी नाकाबाट कुनै पनि सामान आयात भएन। “आज त यो नाकाबाट कुनै पनि सामान आयात भएको छैन,” उनले भने, “केही दिनयता कहिले आउने कहिले नआउने भएको छ।”
कोभिड-१९ का कारण २०७६ माघ २५ देखि २०७७ जेठ २२ गतेसम्म रसुवागढी नाका बन्द भएको थियो। त्यसयता नाका सञ्चालनमा आएको भए पनि न्यून मात्र सामानको आयात भइरहेको छ।
रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक्स सामान, निर्माण सामग्री, जुत्ता-चप्पल, चश्माको फ्रेम लगायत सामग्री आयात हुने गरेको छ। यस्तै नेपालबाट बाँसको मुढा, काठका सामान, हस्तकलाका सामान निर्यात हुने गरेको छ।