हात्ती जोगाउन दर्जन देशका प्रतिनिधिको चासो
जमीनमा हुने सबैभन्दा ठूलो प्राणी हात्ती जोगाउन विश्वका विज्ञ काठमाडौंमा भेला हुने भएका छन्।
कोभिड-१९ महामारीले गर्दा हुन नसकेको हात्ती पाइने एशियाली देशका प्रतिनिधिहरूको बैठकमा भाग लिन काठमाडौंमा भेला हुन लागेका हुन। वैशाख १४ गतेदेखि १६ गतेसम्म काठमाडौंमा बैठक गर्न सबै तयारी पूरा भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले बताए।
बैठकमा हात्ती पाइने १३ देशका सरकारी प्रतिनिधि तथा ‘एशियन इलाफेन्ट स्पेशलिस्ट ग्रूप’ का सदस्य सहभागी हुनेछन्। “२०२० मा हुने तय भएको बैठक कोरोनाले गर्दा बल्ल हुँदै छ,” महानिर्देशक कँडेलले भने, “हात्ती पाइने १३ देशका प्रतिनिधि तथा विज्ञ समूहका वैज्ञानिकहरूले अनुभव आदानप्रदान गर्ने मञ्चका रूपमा यो बैठक हुँदै आएको छ।”
बैठकमा सहभागीबीच विभिन्न देशमा हात्तीसँग सम्बन्धित चुनौती के के छन्, र तिनलाई कसरी सम्बोधन गरिएको छ भन्ने अनुभव आदानप्रदान हुने र विद्यमान समस्यालाई कसरी निराकरण गर्न सकिन्छ भन्ने विषयमा छलफल हुनेछ।
अन्य देशमा भएका सफल र प्रभावकारी अभ्यासलाई कसरी आफ्नो देशमा चलाउन सकिन्छ भन्नेमा बहस केन्द्रित हुनेछ। “हात्तीको दीर्घकालीन संरक्षण गर्न के के गर्न सकिएलान् भन्ने विषयमा सरकारी प्रतिनिधि तथा विज्ञबीच छलफल हुनेछ,” राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका इकोलोजिस्ट गणेश पन्तले भने।
हात्तीलाई वैज्ञानिक ढङ्गले प्रभावकारी संरक्षण नगरिए लोप हुन सक्ने खतरा छ। “मुख्यतः वासस्थान विनाश र खण्डीकरणको समस्या बढ्दै छ,” बर्दिया राष्ट्रिय निकुञ्जका इकोलोजिस्ट तथा हात्तीविज्ञ अशोक रामले भने, “हाम्रो जस्तै अवस्था रहेको अन्य एशियाली देशमा पनि पूर्वाधार निर्माणका कारण हात्तीको वासस्थान र उसको हिंड्ने बाटोमा व्यवधान पुगेको छ।”
पछिल्लो चरणमा हात्तीले मान्छे मारको झोकमा मानिसले हात्ती मार्ने क्रम पनि बढिरहेको देखिन्छ जुन चिन्ताजनक हो।
विकासलाई प्राणीमैत्री बनाएर अघि बढाउनु नै अहिलेको चुनौती हो। बैठक सो विषयमा पनि केन्द्रित हुनेछ। संरक्षणका लागि अन्तर्राष्ट्रिय संस्था आईयूसीएनको सहजीकरणमा हुने बैठकमा ‘एशियन इलाफेन्ट स्पेशलिस्ट ग्रूप’ का अध्यक्ष तथा सदस्यहरूको सहभागिता रहनेछ। बैठकमा यस अघिको घोषणाको पुनरावलोकन पनि गरिनेछ।
यसअघि सन् २०१७ मा इन्डोनेशियाको जाकर्तामा भएको बैठकले मुख्य चार विषयलाई प्राथमिकताका साथ उठाएको थियो। “सो बैठकमा हात्तीको बसोबास रहेका मुलुकहरूले पहिलो पटक एउटै मञ्चबाट हात्ती जोगाउने सङ्कल्प प्रस्ताव पारित गरेका थिए। यस पटक विगतका ती प्रतिबद्धताबारे समीक्षा हुनेछ,” नेपाल प्रकृति संरक्षण कोषका विज्ञ नरेश सुवेदी भन्छन्, “बैठकले दीर्घकालीन संरक्षणका साझा अवधारणामा विकास गर्दै घोषणापत्र पनि जारी गर्नेछ।”
‘एशियन एलाफेन्ट रेन्ज स्टेट मिटिङ’ पहिलो पटक सन् २००६ मा मलेशियामा भएको थियो। जसमा वस्तुस्थिति र जोखिम मूल्याङ्कन; वासस्थान विनाश र खण्डीकरण; मानव–हात्ती द्वन्द्व; गैरकानूनी चोरी शिकारी र बँधुवा एशियाली हात्तीको चुनौती लगायत विषयमा छलफल भएको थियो। मलेशिया घोषणापत्रले यी समस्या समाधानका लागि व्यवस्थापकीय कार्ययोजनालाई उच्च प्राथमिकता दिनुपर्ने उल्लेख गरेको थियो।
“एशियाली मुलुकमा पूर्वाधार निर्माणको आवश्यकता एकातिर छ भने अर्कातिर त्यसले पर्यावरण र प्राणीलाई पार्ने समस्याको सम्बोधन गर्नुपर्ने चुनौती छ,” हात्तीविज्ञ अशोक राम भन्छन्, “सिंचाइ, राजमार्ग, विमानस्थल आयोजना बनाउँदा अरू प्राणीसँगै हात्तीको आउजाउमा पर्ने व्यवधान हटाउन के गर्न सकिन्छ भन्ने नै अहिलेको चुनौती हो।”
एशियाली हात्तीको बसोबास भएको मुलुकमा नेपाल बाहेक भारत, भुटान, बाङ्लादेश, श्रीलंका, म्यानमार, थाइल्यान्ड, मलेशिया, इन्डोनेशिया, कम्बोडिया, चीन, लाओस र भियतनाम छन्।
गर्मी ठाउँमा हुने हात्ती खानाका लागि अग्ला डाँडामा पनि जान्छ। त्यस्तो हात्तीले एक दिनमा दुई सय पचासदेखि तीन सय पचास किलोसम्म खानेकुरा खान्छ भने औसत दुईदेखि तीन सय लिटर पानी खान्छ। आफ्नो पारिवारिक समूहमा बस्न रुचाउने हात्ती ५०, ६० जनाको समूहमा बस्ने गर्छ। औसत आयु ६० देखि ७० वर्ष बाँच्ने हात्तीले ठूलो ठाउँमा चलखेल गर्ने हुँदा शहरीकरण र बस्ती विकाससँगै यसको वासस्थान साँघुरिंदै छ।
विगतमा युद्ध यातायात, सुरक्षा, घरेलु उपयोग तथा व्यवसायिक प्रयोजनका लागि हात्तीको उपयोग हुने गरको थियो। नेपालमा घरेलु हात्तीको उपयोग राष्ट्रिय निकुञ्ज क्षेत्रमा व्यावसायिक ढङ्गले हुँदै आएको छ। जङ्गलमा जानुपर्दा सबभन्दा भरपर्दो हात्ती सवारी नै मानिन्छ। अहिले पनि नेपालका राष्ट्रिय निकुञ्ज लगायत संरक्षित क्षेत्रमा भएका बाघ, गैंडाको गणनामा हात्तीको उपयोग गरिंदै आएको छ।
प्राचीन कालमा हात्तीका सात प्रजाति हुने भए तापनि हाल एशियन र अफ्रिकी गरी विश्वमा दुई प्रजातिका हात्ती छन्। कुनै वेला एशिया हात्तीको आवाद क्षेत्र थियो। एशियामा जङ्गल क्षेत्र प्रचुर थियो भने हात्तीको सङ्ख्या पनि उल्लेख्य थियो। तर, जनसङ्ख्याको वृद्धि र बस्ती विस्तारसँगै अन्य प्राणी प्रजाति जस्तै हात्ती पनि दुर्लभ हुँदै गयो। हाल एशिया क्षेत्रमा करीब ४० हजार हात्ती रहेको अनुमान छ।
नेपालमा हाल करीब दुई सय ३० वटा जङ्गली हात्ती छन्। सरकारले पालेको हात्तीको सङ्ख्या ९९ छ भने निजी व्यवसायी तथा होटेलसँग ७६ वटा हात्ती छन्। नेपालमा हात्तीको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या पनि बढिरहेको छ। “सन् २००१ देखि २०२० सम्म हात्तीको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ७४ थियो,” राम भन्छन्।
उनका अनुसार, नेपालको झापा–कोशी क्षेत्र; चितवन–पर्सा क्षेत्र; बाँके–बर्दिया क्षेत्र र शुक्लाफाँटा क्षेत्रमा हात्तीका कारण हुने द्वन्द्व बढ्दै गएको छ। “झापा–कोशी र बाँके–बर्दिया क्षेत्रमा मानव–हात्ती द्वन्द्व बढिरहेको छ,” उनी भन्छन्, “पछिल्लो चरणमा हात्तीले मान्छे मार्ने र त्यसको झोकमा मानिसहरूले हात्ती मार्ने क्रम पनि बढिरहेको देखिन्छ जुन चिन्ताजनक हो।”