ओलम्पिक स्वर्ण विजेताको कथालाई रामबहादुर ट्रफी
साढे सात दशकअघिको लन्डन ओलम्पिकमा स्वर्ण पदक विजेता भारतीय हकी खेलाडीको कथामा बनेको वृत्तचित्र लङगिङले रामबहादुर ट्रफी जितेको छ।
भर्खरै स्वतन्त्र भएको भारतको हकी टोलीले सन् १९४८ को लन्डन ओलम्पिकमा इङ्ल्यान्डलाई पराजित गर्दै स्वर्ण पदक जित्यो। त्यो स्वर्ण पदक विजेता टोलीका खेलाडी नन्दी सिंहलाई ६ दशकपछि मस्तिष्कघात भयो।
८४ वर्षीय सिंहलाई त्यसबाट उम्किन निकै मुश्किल भयो। दृढ इच्छाशक्तिले कठिन परिस्थितिबाट बाहिर निस्केपछि उनकी छोरीलाई युवावस्थाका सिंहबारे जान्ने इच्छा लाग्यो। अझ त्यो ओलम्पियन टोलीमा उनी कस्ता खेलाडी थिए भन्ने बुझ्न मन लाग्यो।
त्यसका लागि उनले त्यो ओलम्पियन टोलीका सदस्यसँग कुराकानी गरिन्, उनीहरूको अनुभव सुनिन्। र, बन्यो वृत्तचित्र लङगिङ। बानी सिंहले निर्देशन गरेको त्यही वृत्तचत्रि लङगिङले ‘फिल्म साउथएशिया २०२२’ को ट्रफी जितेको छ।
त्यस्तै, बेस्ट स्टुडेन्ट अवार्ड नेपालका प्रदीप ढकालले बनाएको गाइने वृत्तचित्रले पाएको छ। विभूषण बस्नेत र पूजा गुरुङले बनाएको द बिग हेडेड बोई, सेमन्स एन्ड समुराइले बेस्ट जुरी अवार्ड पाएको छ ।
बेस्ट डेब्यू अवार्ड आशिषकुमार नायक र विशाल रोका मगरको इन टु द सी र गोर्खा गर्लले पाए। यससँगै बालबालिका विधामा अक्ष प्रदीप इग्नेको महल्लीज स्कूलले अवार्ड जितेको छ।
यूएनडीपीले प्रदान गर्ने पाँच हजार डलरको द प्लानेट पिपुल्स डकुमेन्ट्री फेलोसिप अवार्ड फिल्मकर्मी अनम अब्बासले पाएकी छन्।
वैशाख ८ देखि ११ गतेसम्म प्रदर्शन भएका आठ देशका ७१ वृत्तचित्रमध्ये आइशा अब्राहम, सुमथी शिवमोहन र छिरिङ रितार शेर्पाको टोलीले उत्कृष्ट वृत्तचित्र छनोट गरेको हो। “प्रदर्शन गरिएका सबै वृत्तचित्र पुरस्कार पाउन लायक छन्,” महोत्सवकी निर्देशक मितु वर्माले भनिन्, “सबै वृतचित्रले सन्देश बोकेका छन्। सबै वृतचित्र मेरा लागि त उत्कृष्ट छन्।”
उत्कृष्ट वृतचित्रको उपाधि पाएकी निर्देशक सिंहले आफ्नो सपनाभन्दा माथिको कुरा प्राप्त गरेको बताइन्। “मैले कहिल्यै यस्तो आशा गरेकी थिइनँ,” उनले भनिन्, “हामीले आफ्नो विचारमाथि काम गर्यौं भने त्यो शक्ति बन्दो रहेछ। यसरी नै परिवर्तन पनि सम्भव छ।”