महानगरमा यी हुन् कांग्रेसका मेयरका उम्मेदवार
नेपाली कांग्रेसले तीन वटा महानगरपालिकामा मेयरका उम्मेदवारको टुङ्गो लगाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस संसदीय समितिको बैठकले काठमाडौं, ललितपुर र विराटनगर महानगरमा मेयरको उम्मेदवार तय गरेको हो। कांग्रेसले काठमाडौं महानगरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
त्यस्तै, ललितपुर महानगरमा चिरिबाबु महर्जन दोहोरिएका छन्। उनलाई नै फेरि मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो। उनी २०७४ साल निर्वाचनमा मेयरमा निर्वाचित भएका थिए।
यसै गरी विराटनगरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको छ।
सत्तारूढ गठबन्धनबीच भएको तालमेलको सहमति अनुसार, कांग्रेसको भागमा तीन महानगरका मेयरका उम्मेदवार परेका थिए। त्यस्तै, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) को भागमा एक-एक महानगरको मेयरको उम्मेदवार परेका थिए।
माओवादीले भरतपुरमा रेणु दाहाललाई मेयरको उम्मेदवार बनाएको छ। त्यस्तै, एकीकृत समाजवादीले पोखरामा धनराज आचार्यलाई र वीरगञ्जमा जसपाले राजेशमान सिंहलाई मेयरको उम्मेदवार बनाएको छ।