एकीकृत बस्तीले दिन नसकेको ओत
गोरखा लाप्राकका भूकम्पपीडितका लागि निर्मित गुप्सीपाखा एकीकृत बस्तीले पूर्वाधार निर्माण गरेर मात्र हुँदैन, भौगोलिक परिवेश र आर्थिक तथा सामाजिक पक्षमा पनि ध्यान दिइनुपर्छ भन्ने पाठ सिकाएको छ।
गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर १२ वैशाख २०७२ मा गएको भूकम्पले यस छेउकै धार्चे गाउँपालिका-४ स्थित लाप्राकमा पनि ठूलो जनधनको क्षति गरेको थियो। घरवास उजाडिएका भूकम्पपीडितका लागि गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले लाप्राकीको पुर्ख्यौली खर्क गुप्सीपाखामा करीब रु.५७ करोडको लागतमा ५७३ वटा घर बनायो।
यस्तै, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको रु.दुई करोड ९० लाख लगानीमा २९ घर थपिए। आवास निर्माणमा प्रत्येक घरधनीले केही निर्माण सामग्री उपलब्ध गराएका थिए भने श्रमदान पनि गरेका थिए।
६०२ वटा घरको एकीकृत बस्ती बनेर भूकम्पपीडितलाई हस्तान्तरण भएको ११ महीना भइसकेको छ। तर, यहाँ बस्न आउने लाप्राकीहरूको सङ्ख्या अत्यन्त थोरै छ। धार्चे गाउँपालिकाका अध्यक्ष सन्तबहादुर गुरुङका अनुसार, गत ९ वैशाखमा हस्तान्तरण गरिएको बस्तीमा १० चैतसम्म जम्मा ६० परिवार मात्र बसेका छन्। यो भनेको आवास निर्माण आयोजनाले राखेको लक्ष्यको १० प्रतिशत हो।
अनुदानबाट बनेको बस्तीमा बस्न भूकम्पपीडितले किन रुचाएनन् त? यसबारे विभिन्न व्यक्तिसँग छलफल गर्दा एकीकृत बस्ती निर्माणमा हावापानी, आर्थिक, सामाजिक, सांस्कृतिक पक्ष र मौलिक वास्तुकलालाई उपेक्षा गरिएको गुनासो थियो।
असहजता र गुनासा
गुप्सीपाखामा निर्मित एकीकृत बस्तीबारे लाप्राकी जनताका विभिन्न गुनासा छन्। पहिलो गुनासो हो, आवास निर्माण क्षेत्रमा बसोबासका लागि उपयुक्त हावापानी छ कि छैन भन्नेतर्फ ध्यानै दिइएन। समुद्री सतहदेखि २७५० मिटर उचाइमा अवस्थित गुप्सीपाखा शीतोष्ण हावापानी रहेको भूगोल हो, जुन वर्षको ५/६ महीना हिउँले ढाकिन्छ।
गुप्सीपाखामा बनाइएको एकीकृत बस्ती एकातिर सामाजिक, आर्थिक संरचनासँग मेल खाने किसिमको छैन भने अर्कातिर घरहरू मौलिक शैली र वास्तुकलामा आधारित छैनन्।
यो क्षेत्र उत्तरी मोहडामा रहेकाले बौद्ध, सिरिङ्गे र गणेश हिमालबाट सीधै बगेर आउने सिरेटो पनि भोग्नुपर्ने हुन्छ। यहाँ बस्दा न्यानो लुगाका साथै अन्य बन्दोबस्तीको सामानमा थप लगानी गर्नुपर्ने भएकाले सीमित स्रोतसाधन भएका लाप्राकीलाई थप आर्थिक भार पर्छ।
अर्कातिर, घर निर्माणमा बालुवा, सिमेन्टको ब्लक र कर्कटपाता प्रयोग गरिएका छन् भने झ्याल-ढोका पनि प्लास्टिकको छ। यस्तो निर्माण सामग्री प्रयोग गरिएका घर हिउँदमा धेरै चिसो हुने भएकाले लाप्राकीहरूले नयाँ आवास रुचाएका छैनन्। घरको डिजाइन पनि स्थानीय हावापानी प्रतिकूल हुँदा वर्षायामको छड्के पानी पसेर जलमग्न हुने देखिन्छ।
लाप्राकीहरू दशकौंदेखि तुलनात्मक रूपमा न्यानो ठाउँ र जीवनयापन गर्न अनुकूल भूगोलमा बस्दै आएका थिए। स्थानीय समाजसेवी सुकबहादुर गुरुङका भनाइमा लाप्राकमा ढुङ्गा, माटो र काठ प्रयोग गरेर परम्परागत शैलीमा निर्माण गरिएकाले घरहरू पनि हावापानी अनुकूल थिए।
दोस्रो गुनासो, गुप्सीपाखामा आवास बनाउँदा स्थानीयको आर्थिक पक्षलाई ख्याल गरिएन। लाप्राक गाउँको आम्दानी र जीविकाको मुख्य स्रोत कृषि कर्म हो। लाप्राकबाट बेंसीको खेतबारी पुग्न बढीमा दुई घण्टा लाग्छ भने गुप्सीपाखाबाट त्यहाँ पुग्न चार घण्टाभन्दा बढी लाग्ने हिसाबले जाँदा र फर्कंदा आठ घण्टा खर्चनुपर्ने हुन्छ। फर्कंदा उकालो पनि पर्छ। अर्कातिर, गुप्सीपाखामा निर्मित आधुनिक आवास क्षेत्र मौलिक अर्थतन्त्र सुहाउँदो छैन।
तीन आना एक पैसा क्षेत्रफलमा बनेको २८४ वर्गफिटको घर बाहेक अतिरिक्त जमीन नै छैन, जहाँ किसानी र सानो करेसाबारी वा पशुपालनका लागि खोर/गोठ बनाउन सकियोस्। नयाँ बस्ती झट्ट हेर्दा आकर्षक भए पनि यसले लाप्राकी समुदायको आर्थिक पक्षलाई सम्बोधन नगरेकाले बसाइँसराइमा अनिच्छा देखिएको स्थानीय ज्योति गुरुङको भनाइ छ।
तेस्रो गुनासो, गुप्सीपाखा आवासले लाप्राकीको सामाजिक संरचनालाई हेरेन। योजनाविद् प्रा.डा. पीताम्बर शर्माको भनाइमा भौतिक निर्माणअघि भूगोल, हावापानी तथा आर्थिक, सामाजिक, सांस्कृतिक पक्षलाई ध्यान दिएको आयोजना नै प्रभावकारी हुन्छ। तर, गुप्सीपाखा आयोजनाले यो महत्त्वपूर्ण पक्षमा ध्यान दिएको देखिएन।
लाप्राकी समाजमा गुरुङ समुदायको बाहुल्य छ। यहाँ ९९.५ प्रतिशत गुरुङ र ०.५ प्रतिशत विश्वकर्मा समुदायको बसोबास छ। गुरुङ समुदाय पुस्तौंदेखि संयुक्त परिवारमा बस्दै आएको छ। कम्तीमा ६ सदस्य हुने संयुक्त परिवारका लागि थोरैमा ३२४ वर्गफिट क्षेत्रफलमा न्यूनतम चार कोठा वा दुई घर चाहिन्छ।
गुरुङ परम्परा अनुसार पहिलो तलालाई तीन खण्डमा बाँडिएको हुन्छ। मूलढोकाबाट पस्ने बित्तिकैको भागलाई सँघार (फाइचोह), बीच खण्डलाई चूलो (पाइसु वा पैचु) र अन्तिम खण्डलाई भण्डार कोठा (च्योहङ्गा) भनिन्छ। सँघार खण्डमा ठूल्ठूला भाँडा राख्ने तख्ता, पानीको ग्रागो र सरसफाइ वा लिपपोतको सामग्री राखिन्छ भने पाहुनापाछा आउँदा बस्ने खाट हुन्छ। यो खण्ड आधुनिक घरको बैठक कोठा सरह हो। बीच खण्डमा चूलो, भाँडाकुँडा सजाउने तख्ता र परिवार बस्ने खुला स्थान हुन्छ। यो खण्ड आधुनिक घरको भान्साकोठा सरह हो।
अन्तिम खण्ड भण्डार कोठामा बहुमूल्य गहना, नगद लगायत मिष्टान्न तथा खाद्यान्न राख्ने काठको बाकस वा मदुस हुन्छ। कसै कसैको घरमा कुलदेउताको मन्दिर पनि हुन्छ। तर, नयाँ बस्तीका घरमा त्यस्तो परम्परागत चालचलन अनुसारको ठाउँ र संरचना छैन।
एकीकृत बस्तीका घरहरू सामाजिक, आर्थिक संरचनासँग मेल खाने तथा मौलिक शैली र वास्तुकलामा आधारित छैनन्।
यति मात्र हैन, परम्परागत घरको बाहिरी भागमा पिंढी हुन्छ, जहाँ ढिकी र जाँतो जस्ता कुटानी-पिसानीका परम्परागत साधन हुन्छन्। एक छेउमा कुखुरा र हाँस पाल्ने खोर बनाउने ठाउँ पनि हुन्छ। तर, नयाँ आवासमा पिंढी पनि साँघुरो छ। यस्तै, दाउरा भण्डार गर्ने ठाउँ पनि छैन।
समग्रमा, एकीकृत बस्तीका घरहरू सामाजिक, आर्थिक संरचनासँग मेल खाने तथा मौलिक शैली र वास्तुकलामा आधारित छैनन्। घर एकल परिवार लक्षित गरी बनाइएको देखिन्छ। बस्तीका सबै घर एकनास डिजाइनका र साना छन्। संयुक्त परिवारका लागि घर साँघुरो हुने र एक जना पाहुना थपिंदा पनि सुताउने ठाउँ नै पुग्दैन।
चौथो गुनासो, घरका झ्याल-ढोका सुरक्षाको दृष्टिले बलिया छैनन्। झ्याल र ढोका प्लास्टिकको फ्रेमले बनाइएको छ, जुन सानो धक्काले पनि फुट्न सक्छ। सबै घरमा केही न केही गरगहना, भाँडाकुँडा, लत्ताकपडा, खाद्यान्न आदि हुन्छन्। झ्याल-ढोका कमजोर भएकाले धनमालको सुरक्षा नहुने त्रासले लाप्राकीहरूलाई सताएको छ। होटल व्यवसायी यामकुमारी गुरुङका अनुसार, गुप्सीपाखा आवासमा जति परिवार सरेका छन्, उनीहरूले काठको झ्याल र ढोका फेरेर बसेका छन्।
गुप्सीपाखा आवास आयोजनाले भौतिक विकासमा पूर्वाधार निर्माण मात्र पर्याप्त हुँदैन, भौगोलिक अवस्था र सामाजिक, सांस्कृतिक र आर्थिक पक्षलाई पनि उत्तिकै ध्यान दिनुपर्छ भन्ने पाठ सिकाएको छ। यस्तै, सयौं वर्षको सीप र अनुभवबाट परिमार्जन हुँदै विकसित भएको नेपाली परम्परागत वास्तुकलामा आधारित मौलिक शैलीका घरहरू मास्न यस आयोजनाले बल पुर्याएको महसूस भएको छ।
अधुरा पूर्वाधार
मौलिकपन वास्ता नगरी बनाइएको गुप्सीपाखा आवास क्षेत्रमा आधुनिक पूर्वाधार व्यवस्थापन पनि अधुरो अवस्थामै छ। खानेपानी आपूर्ति, फोहोरमैला व्यवस्थापन, पदमार्ग जस्ता आधारभूत संंरचना भए पनि पूर्णता पाएको छैन। स्थानीयको पहलमा अस्थायी धाराको व्यवस्था गरिएको छ। यसले दुर्गम क्षेत्रका आयोजना खासै प्राथमिकतामा नपरेको सङ्केत गर्छ।
डाँडामा रहेको यो बस्तीको मुख्य समस्या खानेपानी हो। एक परिवारमा ६ जना हुने अनुमान गर्दा यहाँका ६०२ घरमा करीब तीन हजार ६०० जना बसोबास गर्नेछन्। यति मानिस र पशुपालन समेतका लागि दैनिक ठूलो परिमाणमा पानी आवश्यक पर्छ। खानेपानी व्यवस्थापक सुकबहादुर गुरुङका अनुसार, यस आवास क्षेत्रका लागि १९ किलोमिटर टाढाको भोलेमेचेत खोलाको मुहानबाट पानी ल्याएर ३० हजार, ६० हजार र ८० हजार लिटर क्षमताका तीन वटा ट्याङ्कीमा जम्मा गरी वितरण गर्ने व्यवस्था गरिएको छ।
एक घरबाट अर्को घरमा जान पदमार्ग जस्ता आधारभूत संरचना छैन। बस्तीमा स्वास्थ्य चौकी, विद्यालय, पार्क वा बगैंचा, खेल मैदान, हरित क्षेत्र बनाउने लगायत योजना रहेको पाइँदैन।
खानेपानीको मुहान समुद्री सतहदेखि ३,७६० मिटर भन्दा माथि भएकाले हिउँदमा ६ महीनाभन्दा बढी मूलको पानी जम्ने र अर्कातिर जाडोयाममा जीआई पाइप फुट्ने समस्याले लाप्राकीहरू दिग्दार छन्। यसैले बाँकी ६ महीनाका लागि खानेपानीको वैकल्पिक व्यवस्था गर्नुपर्ने अवस्था छ।
विद्युतीकरणका लागि पनि गुप्सीपाखा आवासमा थप काम गर्नुपर्ने देखिन्छ। बस्तीको पुछारमा रहेको नाडगुवाङ र लिस्ज्ञावाङ खोलाबाट उत्पादित ५१ किलोवाट विद्युत् अहिले थोरै परिवार बसेकाले पुगेको छ, तर सबै घरमा मानिस बसेमा अपुग हुन्छ। यहाँ वायु ऊर्जा र सौर्य ऊर्जा उत्पादन गर्न सक्ने सम्भावना पनि छ।
बस्तीमा फोहोर विसर्जनका लागि ल्यान्डफिल्ड साइट जस्ता संरचना पनि छैन। साथै, ढल निकासको व्यवस्था पनि कमजोर छ। एक घरबाट अर्को घरमा जान पदमार्ग जस्ता आधारभूत संरचना छैन। बस्तीमा स्वास्थ्य चौकी, विद्यालय, पार्क वा बगैंचा, खेल मैदान, हरित क्षेत्र बनाउने लगायत योजना रहेको पाइँदैन।
अब के गर्ने?
सरकार, एनआरएनए र सर्वसाधारणको ठूलो लगानीबाट बनेको गुप्सीपाखा बस्तीलाई लाप्राकीहरूले नरुचाउँदा यो उपयोगविहीन अवस्थामा रहने देखियो। आवास क्षेत्र उपयोगमा ल्याउन वैकल्पिक व्यवस्था गर्नुपर्ने हुन्छ। यसका लागि गुम्सीपाखाका सम्पूर्ण घरधनी सदस्य रहने गरी पर्यटन सहकारी स्थापना गर्नु उचित हुनेछ। सहकारीले सम्पूर्ण घरलाई उपयोगमा ल्याउने गरी व्यावसायिक रणनीति बनाउनुपर्छ।
बस्तीमा खानेपानी, बिजुली, सडक लगायत केही पूर्वाधार व्यवस्था भइसकेका छन्। शहरी धनीहरूलाई लक्षित गरी ग्रीष्मकालीन आवास कार्यक्रम (समर हट), आवासीय प्राविधिक विद्यालय, कृषि तथा वनमा आधारित उद्यम, होटल तथा होमस्टे, सरकारी तालीम प्रतिष्ठान आदि सञ्चालन गर्ने विकल्पमा जान सकिन्छ। यस्तै, यस क्षेत्रमा जडीबुटी प्रशस्त पाइने हुनाले वन तथा कृषिमा आधारित उद्यम गर्न सकिन्छ।
धार्चे गाउँपालिका प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पन्नता र साहसिक पर्यटनका लागि पूर्वाधार भएको क्षेत्र हो। पर्यटन विकासलाई प्राथमिकता दिएर अघि बढ्न सके यो क्षेत्र र यहाँका बासिन्दाको आर्थिक विकासमा राम्रो टेवा पुग्नेछ। एकीकृत बस्तीलाई नमूना आवास कार्यक्रममा परिणत गर्ने र साहसिक पर्यटनको विकास गर्ने योजनामा एनआरएनएको भूमिका महत्त्वपूर्ण हुनेछ। यसतर्फ सम्बद्ध सबै पक्षको ध्यान पुगोस्।
(गुरुङ संरक्षणविद् हुन्। हिमालको २०७९ वैशाख अङ्कबाट।)