कर्णालीमा मिल्यो गठबन्धनको भागबण्डा
स्थानीय चुनावका लागि कर्णाली प्रदेशका नौ जिल्लामा सत्तारूढ पाँच दलीय गठबन्धनले भागबण्डा गरेको छ।
चार दिनदेखिको छलफलपछि आज भागबण्डा मिलेको छलफलमा सहभागी नेकपा (एकीकृत समाजवादी) का नेता अम्मरबहादुर थापाले बताए। कर्णालीका १० जिल्लामध्ये नौ जिल्लामा मिलेर चुनाव लड्ने सहमति बनेको हो। रुकुम पश्चिममा भने सहमति जुट्न सकेन।
दैलेख, जाजरकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा भागबण्डाका विषयमा शनिबार नै सहमति जुटेको थियो। कालिकोट र सुर्खेतमा पनि सहमति बनेको उनले बताए। “सुर्खेतको विषयमा पनि करीब करीब कुरा मिलिसकेको छ,” थापाले हिमालखबरसँग भने, “अब केही समयमा संयुक्त पत्रकार सम्मेलन गरेर जानकारी दिन्छौं।”
पाँच नगरपालिका र चार गाउँपालिका रहेको सुर्खेतमा २०७४ सालको चुनावमा कांग्रेसले ६ वटा स्थानीय तहमा प्रमुख र पाँच वटामा उपप्रमुख जितेको थियो।
त्यस्तै, रुकुम पश्चिममा भने माओवादीको एकलौटी छ। सुर्खेतमा माओवादीले जितेको थिएन भने रुकुम पश्चिममा कांग्रेसले जितेको थिएन।
माओवादीले कांग्रेसलाई रुकुममा जितेको ठाउँ दिंदा कांग्रेसले पनि सुर्खेतमा आफूले जितेको ठाउँ माओवादीलाई दिनुपर्ने माग गरेको थियो। जसले गर्दा सहमति बन्न सकेको थिएन।