शेयर बजार परिसूचक नेप्से उच्च अङ्कले बढ्यो
लगातार घटिरहेको शेयर बजार परिसूचक नेप्से आइतबार भने उच्च अङ्कले बढेको छ।
परिसूचक ९५.४६ अङ्कले बढ्दै दुई हजार ४२० बिन्दुमा पुगेको हो। झण्डै तीन दर्जन कम्पनीको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएको छ।
पछिल्लो समयमा शेयर बजारमा लगातार गिरावट आइरहेको थियो। स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी शुरू भएको दिन भने लगानीकर्ता उत्साहित देखिएका छन्।
१९३ कम्पनीको शेयर मूल्य बढ्दा एक मात्र कम्पनी नेस्डो समृद्ध लघुवित्तको शेयर मूल्य भने घटेको छ।
आरम्भ चौतारी लघुवित्त, कृषि विकास ब्यांक, अरुण भ्याली जलविद्युत् लगायत तीन दर्जन कम्पनीको शेयर मूल्य झण्डै १० प्रतिशतसम्मले बढेको छ।
सबैभन्दा धेरै जलविद्युत् समूह ७.३२ प्रतिशत र विकास ब्यांक ६.५७ प्रतिशतले बढे। ब्यांकिङ समूह २.६८ प्रतिशतले बढ्यो। आइतबार सबै समूहका उपसूचक बढेका छन्।
नेप्से उच्च अङ्कले बढे पनि कारोबार रकम भने उत्साहजनक छैन। आइतबार दुई अर्ब ५३ करोड मूल्यको शेयर मात्रै किनबेच भयो। उच्च कारोबार भएका वेला एक दिनमै २० अर्बसम्मको कारोबार भएको थियो।