जसले उपमेयरको कामकाे बलमा पाइन् मेयरको टिकट
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकामा नेकपा (एमाले) ले मोहनमाया ढकाललाई मेयरको उम्मेदवार बनाएको छ। थुप्रै नेताहरूलाई पन्छाउँदै एमाले केन्द्रीय सचिवालयले ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
मेयरका लागि एमाले नगर कमिटीले सुर्खेत जिल्ला कमिटी अध्यक्ष अमृत बिसी, उपाध्यक्ष कुलमणि देवकोटा, नगर कमिटी अध्यक्ष नीलकण्ठ खनाल र हरिहरनाथ योगीको नाम सिफारिश गरेको थियो। एमाले केन्द्रले भने उपमेयर ढकाललाई मेयरको उम्मेदवार बनाएको छ।
उनी उपमेयरको पाँच वर्षे कार्यकालमा छुट्टै पहिचान बनाउन सफल भइन्। जसले गर्दा जनतामाझ पनि प्रिय छिन्। उनको त्यही कामको मूल्याङ्कन गर्दै केन्द्रले मेयरको उम्मेदवार बनाएको स्थानीय नेता बताउँछन्।
२०७४ सालको स्थानीय निर्वाचनमा मेयरमा नेपाली कांग्रेसका देवकुमार सुवेदी निर्वाचित भएका थिए। उनले १४ हजार ४०५ मत पाएका थिए भने एमालेका बालाराम शर्माले १३ हजार ८९९ मत पाएका थिए।
उपमेयरमा निर्वाचित ढकालले भने मेयरमा निर्वाचित सुवेदीको भन्दा पनि बढी मत पाएकी थिइन्। उनले १६ हजार ६८ मत पाएकी थिइन् भने प्रतिस्पर्धी कांग्रेसकी जानकी सिंहले १४ हजार २६ मत पाएकी थिइन्।
यति वेला मेयरको टिकट पाएकोमा उनी खुशी छिन्। “राजनीतिमा लागेर कहिल्यै निराश भइनँ। एक पटक असफल भए पनि अर्को पटक अवश्य सफल भइन्छ भन्ने सोचेर निरन्तर खटिइरहें,” ढकालले हिमालखबरसँग भनिन्, “पार्टीले मेयर पदको उम्मेदवार बनाएको छ, नगरबासीले विजय गराउनेमा ढुक्क छु।”
४२ वर्षीय ढकालले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेकी छन्। उपमेयर बनेपछि स्थानीय तहमा आउने मुद्दामामिला हेर्नुपर्यो। त्यसका लागि उनले एलएलबी गरिन्। जसले गर्दा उनी न्यायिक समितिको नेतृत्व गरेर अब्बल काम गर्ने जनप्रतिनिधिमा दरिइन्।
निडर र साहसी राजनीतिकर्मी ढकाल स्कूलबाटै विद्यार्थी राजनीतिमा संलग्न भएकी थिइन्। २०५६ मा अनेरास्ववियु शिक्षा क्याम्पस सुर्खेतको प्रारम्भिक कमिटी सदस्य, २०५७ मा जिल्ला कमिटी कोषाध्यक्ष तथा महिला विभाग प्रमुख र २०५९ मा अनेरोस्ववियुको राष्ट्रिय सम्मेलनबाट राष्ट्रिय परिषद् सदस्य बनेकी थिइन्।
२०६२ मा पार्टी राजनीतिमा प्रवेश गरेकी उनी दुई कार्यकाल अखिल नेपाल महिला संघको सचिव भएर काम गरिन्। २०६५ मा भने एमाले सुर्खेत जिल्ला कमिटी सदस्य भइन्। त्यसपछि २०६९ मा अखिल नेपाल महिला संघको जिल्ला अध्यक्ष भएकी उनी अहिले एमाले केन्द्रीय सदस्य तथा सुर्खेत सह-इन्चार्ज छन्।
२०७४ सालमा निर्वाचित भएर उपमेयरको पदबहाली गर्दा थुप्रै चुनौती थिए। ती सबैलाई क्रमश: पार लगाउँदै आएको उनी बताउँछिन्। “कार्यकालको शुरूआतदेखि नै भौतिक पूर्वाधारलाई विशेष जोड दिएर काम गरेकी थिएँ,” उनी थप्छिन्, “त्यसो भन्दै गर्दा उपमेयरको मुख्य जिम्मा रहेको न्यायिक समिति, अनुगमन र राजस्व परामर्शको कामलाई पनि कम प्राथमिकतामा राखेको होइन।”
पाँच वर्षसम्म उपमेयर भएर काम गर्दा स्थानीय तहबारे बुझ्ने मौका पाएको उनी बताउँछिन्। “सामाजिक कामले राम्रो प्रभाव पारेको छ। महिलाको स्वास्थ्य, आमा सुरक्षा कार्यक्रम, छोरी जन्म बचत खाता, महिला स्वरोजगार कार्यक्रमबाट धेरै महिलाले लाभ लिएका छन्,” ढकाल भन्छिन्।
‘छोरी हुनुमा गर्व गर’ भन्ने नारा सहित बालविवाह, बहुविवाह, बाल श्रममुक्त नगर जस्ता अभियान सञ्चालन गरेकी थिइन्। यससँगै नगरपालिकाले लैङ्गिक तथा सामाजिक समावेशी नीति पारित गरेको उनी बताउँछिन्। “यी कामहरूले फेरि पनि निरन्तरता पाउँछन्। यीसँगै बाँकी विकास निर्माणका कामलाई गति दिन मेयरमा उम्मेदवारी दिएकी छु।”
कोरोनाभाइरसको महामारीको समयमा उनले सात महीना कार्यवाहक मेयर भएर पनि काम गरिन्। त्यो समयमा उनले खेलेको भूमिकाले प्रशंसा पनि बटुलेको थियो।
त्यो सात महीनाभन्दा राम्रो गरेर पाँच वर्ष काम गर्न मेयरको उम्मेदवार बनेको उनको भनाइ छ। “पाँच वर्षे कार्यकाल पूरा गर्दैगर्दा आफूले गरेका धेरै वाचा पूरा भएको अनुभूति छ,” ढकाल भन्छिन्, “म फेरि नगरबासीको आँगनमा पुग्दा सोधिने प्रश्नको जवाफ दिन सक्ने गरी उभिनेछु।”