गठबन्धनको विरोध गर्दै पोखरामा कांग्रेस नेताले दिए उम्मेदवारी
सत्तारूढ गठबन्धनले गरेको तालमेलको विरोध गर्दै नेपाली कांग्रेसका नेता विमलबहादुर कार्कीले पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन्।
कांग्रेसका मतदातालाई अन्य पार्टीलाई भोट दिन बाध्य पारेको विरोधमा आफूले स्वतन्त्र उम्मेदवारी दिएको उनको भनाइ छ। “कुनै हालतमा मेरो उम्मेदवारी फिर्ता हुँदैन, फिर्ता हुने गरी उम्मेदवारी दिएको होइन,” कार्कीले भने।
उनी कांग्रेस पोखरा महानगर कार्यसमितिका पूर्व सभापति हुन्।
सत्तारूढ गठबन्धनमा भएको सहमति अनुसार पोखरामा नेकपा (एकीकृत समाजवादी) का नेता धनराज आचार्य मेयरको उम्मेदवार बन्ने भएका छन्। कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाको आचार्यलाई समर्थन रहेको छ।