काठमाडौंको मेयरमा लड्न केशव स्थापितले दिए सांसदबाट राजीनामा
काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिन नेकपा (एमाले) नेता केशव स्थापितले बागमती प्रदेश सभा सदस्यबाट राजीनामा दिएका छन्।
उनले आइतबार प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष राजीनामा बुझाएका हुन्। एमालेले काठमाडौंको मेयरमा उम्मेदवार बनाउने निर्णय गरेपछि उनी राजीनामा दिन हेटौंडा आएका थिए।
उनी २०७४ को निर्वाचनमा काठमाडौं ६ ‘क’ बाट बागमती प्रदेश सभामा निर्वाचित भएका थिए।
प्रदेश सभा सदस्यबाट राजीनामा दिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै काठमाडौंको मेयर जितेपछि सबैभन्दा पहिले त्रिचन्द्र कलेजको पुनरुत्थान गर्ने योजना रहेको उनले बताए।
प्रदेश सभा सदस्य हुँदा मन बुझ्ने गरी विकास निर्माणको काम गर्न नपाएपछि स्थानीय सरकार रोजेको उनको भनाइ थियो।
“म त विद्यार्थी राजनीतिदेखि नै स्थानीय क्षेत्रको विकास चाहिन्छ भन्ने मान्छे हुँ, प्रदेश किन चाहियो?” उनले प्रश्न गरे। उनी बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्री भएका थिए।