अमित अर्थात् अथक धैर्यको अर्को नाम
राष्ट्रिय टोलीका लागि योग्य ठानिए पनि सधैं बन्द प्रशिक्षणमा पुगेर ‘बन्द’ हुँदै आएको ढोका कुनै दिन खुल्नेमा अझै आशावादी छन्, अमित श्रेष्ठ (२५)।
'क्षमता त अनिवार्य छ नै, राष्ट्रिय टोलीको जर्सी लगाउन शायद भाग्य पनि चाहिन्छ'- क्रिकेटमा भाग्यको परीक्षा दिइरहेका बारा, कलैयाका अमित श्रेष्ठलाई त्यस्तै लाग्छ । १९ वर्ष मुनिको राष्ट्रिय टोलीबाट खेलिसकेका दायाँहाते ब्याट्सम्यान हुन्, उनी । क्रिकेट मैदानमा डट्न थालेको एक दशक नाघिसक्यो । तर, उनको लागि राष्ट्रिय टोलीको ढोका अझै खुलेको छैन ।
यसका निम्ति अमितले धेरै मिहिनेत गरे । राष्ट्रिय प्रतियोगिता अनि घरेलु खेलहरूमा दर्शकमा छाप छोड्ने गरी प्रदर्शन पनि गरे । तर उत्कृष्टताको होडमा कहाँ चुक भयो, भेउ पाउन सकेका छैनन् । आफ्नो बारेमा उनी भन्छन्, “खै किन यस्तो भयो ! शायद अभागी खेलाडी हुँ जस्तो लाग्न थालेको छ ।”
अमितको खेल जीवनमा केही त्यस्ता घटना भएका छन्, जसले उनलाई भाग्य आफ्नो साथमा नभएको लाग्दो हो । १० वर्षअघि १५ वर्षका उनी, १० कक्षामा पढ्दै थिए ।
त्यतिबेला यू–१७ राष्ट्रिय प्रतियोगितामा सहभागी भएसँगै उनी उत्कृष्ट ब्याट्सम्यान घोषित भए । तर, खेलाडीको उमेर जाँच्ने अन्तर्राष्ट्रिय मापदण्डमा उनी असफल भए । मापदण्ड अनुसार दाँतको जाँचमा उनको उमेर १५ वर्ष नै देखिए पनि हाडको जाँच गर्दा भने १९ वर्ष देखियो । उनी राष्ट्रिय टोलीमा पर्न योग्य भएनन् ।
मापदण्डमा विफल हुँदाको अपत्यारिलो स्थितिबारे उनी भन्छन्, “१० कक्षा पढिरहेको म कसरी १९ वर्षको हुन सक्छु ? त्यतिखेर म अलिक मोटो थिएँ, त्यसैले पो गर्यो कि ? जे होस्, म अन्यायमा परें ।” क्रिकेटमा उदीयमान अमितको लागि त्यो पहिलो नमीठो झट्का थियो ।
सागर पुन, आकाश परियार लगायत त्यतिबेलै उदाएका हुन् । विफलताले उनको मन कुँडिनु आफ्नो ठाउँमा थियो, त्यो घटनाले उनीभित्र क्रिकेटमा अझ मिहिनेत गर्ने भावना भने जगाइदियो ।
एक दशकअघिको नेपाली क्रिकेटमा ठूलो प्रतिस्पर्धा थिएन । अमितलाई १९ वर्षमुनिको राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाइयो । त्यहाँ उनी अन्तिम १८ भित्रसम्म त अटाए, तर अन्तिम छनोटमा फालिए ।
त्यतिबेला नेपाली क्रिकेट टोली श्रीलंकन प्रशिक्षक रोय लुक डायसले सम्हालिरहेका थिए । अमितको खेल नियालिरहेका डायसले उनलाई बाङ्लादेशमा सन् २०१० मा भएको दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) को टीममा राखे । अमितको पहिलो अन्तर्राष्ट्रिय भ्रमण तय भयो, तर उनले प्रतियोगितामा एक बल पनि खेल्न पाएनन् । सागमा डायस प्रशिक्षकका रूपमा गएनन्, राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट गएका प्रशिक्षकले उनलाई मैदानमा उतारेनन् । उनी फेरि पनि ‘अभागी’ बनाइए ।
सन् २०१३ को एसीसी यू–१९ एलिट कपमा अमित बल्ल टोलीमा परे । भुवन कार्कीको कप्तानीमा मलेशिया पुगेका उनी पहिलो पटक युवा राष्ट्रिय टोलीको जर्सी लगाएर मैदान प्रवेश गरे । आफ्नो पहिलो प्रदर्शनलाई यादगार बनाएका उनले कतार विरुद्ध ३३ बलमा ७० रन बनाए । बहराइन विरुद्ध १२ बलमा २२ रन र कुवेत विरुद्ध ४६ रन जोडे ।
त्यसपछि अमित चम्किए । सोही वर्षको अन्त्यमा युएईमा भएको एसीसी यू–१९ एशिया कपमा पनि उनले प्रारम्भिक ब्याट्सम्यानको भूमिका पाए । त्यहाँ पाकिस्तानसँग पराजित भए पनि उनले ३७ ओभरसम्म क्रिजमा डटेर ६० रनको बलियो पारी खेलेका थिए । यो नै उनले खेलेको पछिल्लो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । अर्थात् झन्डै ६ वर्षदेखि उनी सिनियर राष्ट्रिय टोलीको जर्सी लगाउने लक्ष्यमा संघर्षरत छन् ।
दुर्भाग्यको यात्राले दरिलो
२०६९ सालको राष्ट्रिय प्रतियोगितामा लगातार दुई खेलमा शतक प्रहार गरेपछि अमितका लागि राष्ट्रिय टोलीको बाटो लगभग खुलिसकेको थियो । उनी राष्ट्रिय टोलीमा बोलाइए पनि । तर आफू अध्ययनरत काठमाडौंको ट्रिटन कलेजबाट भारतको बैंग्लोरमा एउटा कलेजमा खेल्न जाने कार्यक्रम पहिले नै तय भइसकेकोले उनी त्यता गए । फर्केर आउँदासम्म राष्ट्रिय टोलीको नाम घोषणा भइसकेको थियो ।
योभन्दा पनि ठूलो दुर्भाग्य उनी नेपाल र केन्याबीच कीर्तिपुरमा हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको समयलाई ठान्छन् ।
बन्द प्रशिक्षणमा अभ्यासका बेला उनको टोलीका फिजियो राजेश चौहानसँग ठाकठुक भयो । अनुशासनको कारबाहीमा परेपछि उनको नाम हट्यो ।
त्यो घटना यता उनलाई राष्ट्रिय टोलीको छनोटमा बोलाइएको छैन । कतिपयले त्यही घटनाको कारण उनका लागि राष्ट्रिय टोलीको ढोका बन्द भएको टिप्पणी गर्छन् । अमितलाई भने लाग्छ, “म अनुशासनको कारबाहीमा परें । गल्ती मबाट पनि भयो । तर त्यो विषय सकिसक्यो ।”
क्रिकेट जीवनमा झेलेका यी आरोह–अवरोहले आफूलाई दह्रो बनाएको उनको अनुभव छ । एकपछि अर्को अवसर गुमे पनि आफूलाई सम्हाल्न र क्रिकेट करिअर जोगाइराख्न उनले साधना गरिरहेका छन् ।
सानोतिनो घटनाले असर पर्न छाडेको बताउँदै उनी भन्छन्, “पहिला धेरै रुन्थें । अब त बानी परिसक्यो । टोलीमा नपर्दा, नबोलाउँदा पहिला जस्तो मन भत्किंदैन ।”
यद्यपि अमितको पर्खाइ लामो भइसकेको छ । उनीसँगै खेलेका प्रायः खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाइसकेका छन् ।
उनीपछिका नयाँ खेलाडीहरूले समेत राष्ट्रिय टीमबाट नाम चम्काइसकेका छन् । उनी भने आफू कुनै न कुनै दिन राष्ट्रिय टोलीबाट खेल्ने विश्वास बचाउन अझै संघर्षरत छन् ।
अमित प्रारम्भिक ब्याट्सम्यान हुन् । कलैया क्रिकेट क्लबमा सिकेका उनी आक्रामक शैलीमा खेल्न रुचाउँछन् । दुई वर्षअघि नेपाल पुलिसमा आबद्ध भएपछि भने उनी तेस्रो नम्बरमा आउने गरेका छन् ।
उनका प्रशिक्षक मनोज कटुवाल भन्छन्, “अमित प्रारम्भिक ब्याट्सम्यान भए पनि तल्लो क्रममा पनि मज्जाले खेल्न सक्छन् । अहिले राष्ट्रिय टोलीले स्थायी प्रारम्भिक ब्याट्सम्यान खोजिरहेको बेला उनी राम्रो विकल्प हुनसक्छन् ।”
अहिले राष्ट्रिय टोलीमा भारतीय प्रशिक्षक उमेश पटवाल नियुक्त भएका छन् । उनी ब्याटिङ विशेषज्ञ पनि हुन् ।
यसैबेला भर्खरै सम्पन्न प्रधानमन्त्री कपमा शतक प्रहार गरेर अमितले आफू फर्ममै रहेको पुष्टि गरेका छन् । उनी भन्छन्, “एउटा खेलमा राम्रो खेलेर राष्ट्रिय टोलीमा पुग्नेहरू पनि छन् । म पनि सक्छु । तर धैर्यको परीक्षा चाहिं अझै कतिन्जेल हुने हो !”